बाढीले बगाएकी महिला मृत फेला
राजविराज : बाँसको तामा काटन जंगल जाँदा बाढीले बगाएकी महिलाको शव फेला परेको छ। सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–१ बस्ने जुरमी साहको छोरी २२ वर्षीया महाकुमारी साहको महुली खोलाले बगाएर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
महुली खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी साहलाई दुई सय मिटर पश्चिमतर्फ खोलाको दोभानमा मृत अवस्थामा फेला पारिएको डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
जंगलबाट बाँसको तामा काटेर साह र उनकी बहिनी १६ वर्षीया आशा सँगै घर फर्किरहेका बेला दिदीलाई खोलाले बगाएको आशाले बताइन् । महुली खोलामा आएको बाढीले बगाएको कुरा आशाले घर पुगेर आमा, बुवा तथा छरछिमेकलाई बताए पछि प्रहरी टोलीसहित गाउँलेहरु घटनास्थल पुगेका थिए ।
मृत अवस्थामा फेला परेको शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको छ । यसअघि असार २ गते बलान खोलामा आएको बाढीले बगाएर सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको थियो।