अपांगता भएकालाई सहयोग
नुवाकोट : फरक क्षमता भएकाहरूलाई नुवाकोटको तारकेश्वर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। फरक क्षमता भएका व्यक्तिहरूलाई गापाले पहिचान गरेर नगद रुपैयाँ सहयोग गरेको हो।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रमअन्तर्गत अपांगता भएका व्यक्तिहरूलाई नगद रुपैयाँ सहयोग गरेको गापा अध्यक्ष रमेश वस्तीले जानकारी दिए। तारकेश्वर–२, ३ र ४ का पूर्ण रूपमा फरक क्षमता भएका ३७ जनालाई कार्यक्रमबीच ४५ सय रुपैयाँका दरले नगद रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए।
बाँकी रहेका वडाका अपांगता भएका व्यक्तिहरूलाई पनि तारकेश्वर–५ को गोस्र्याङ् स्वास्थ्यचौकीको प्रांगणबाट सहयोग वितरण गर्ने कार्यक्रम रहेको उपाध्यक्ष तारादेवी रिमालको भनाइ छ। तारकेश्वर गाउँपालिकाभित्रका पूर्ण रूपमा अशक्त भएका, हिँड्डुल गर्न सहारा लिनुपर्ने र रातो कार्ड प्राप्त गरेका ६१ जना अपांगता भएका व्यक्तिहरूलाई वितरण गरिने कार्यक्रम रहेको उपाध्यक्ष रिमालले जानकारी दिइन्।
यसअघि, महिलाहरूकोे आयआर्जनमा वृद्धि गराई उनीहरूलाई लघु उद्यमी बनाउने उद्देश्यले विभिन्न तालिमहरू सञ्चालन गरी प्रविधि हस्तान्तरण गरिसकेको छ। यसैगरी, युवा पुस्तालाई समेटेर लोप हुँदै गएको दलित समुदायको पञ्चैबाजालाई संरक्षण र संवद्र्धन गर्नका लागि तालिम दिई प्रविधिहरू हस्तान्तरण गरेको छ।
यस्तै, गाउँपालिकाको विभिन्न वडाहरूमा महिलाहरूकोे आयआर्जनमा वृद्धि गराई आफैंमा निर्भर बनाउने उद्देश्यले उद्यमी महिलाहरूलाई बाख्रापालन तालिमका साथै बाख्रा वितरण र दलित समुदायलाई आधुनिक आरन तालिम र प्रविधि वितरण कार्यक्रमहरू भइसकेको छ। यसैगरी, यसअघि नै तारकेश्वर गाउँपालिकाले उपाध्यक्षसँग छात्रवृत्ति कार्यक्रममार्फत विनियोजन गरेको रकम वितरण गरिसकेको छ।
गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा १ देखि १२ कक्षासम्म अध्ययन अतिविपन्न, टुहुरा र असहाय विद्यार्थीलाई रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम थापाले जनाए।