अडियो हब क्लब हाउस

अडियो हब क्लब हाउस

केही घन्टा मात्रै पनि इन्टरनेटको पहुँचबाट बाहिर रहँदा खटपट हुन थाल्छ अचेल धेरैलाई। सामाजिक सञ्जालमा जोडिएर सूचना लिने र आफ्नो कुरा राख्नेलाई त इन्टरनेट बिनाको खाली समय पट्यारलाग्दो नै बन्छ। अब इन्टरनेट र सामाजिक सञ्जाल बिनाको समय सबैका लागि बिस्तारै खल्लो बन्दैछ। अझै युवा पुस्तामा सामाजिक सञ्जालको प्रयोग बढ्दो क्रममा रहेकाले यो समूहको छनोटले कुनै पनि सामाजिक सञ्जाललाई छोटो समयमै शिखरमा पु¥याएका धेरै उदाहरण छन्। यसमध्ये एक हो ‘क्लब हाउस’ एप।

अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सकिने क्लब हाउस एपको प्रयोगकर्ता छोटो समयमै ह्वातै बढे। सन् २०२० मार्चमा पहिलोपटक आईओएस भर्सनमा यो एप सार्वजनिक गरिएको थियो। अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले एप निर्माण गरेर सार्वजनिक गरेका थिए। आईओएस भर्सनमा मात्रै एप निर्माण गरेर सार्वजनिक गर्दा सुरुका समयमा प्रयोगकर्ताको संख्या बढ्न सकेन। प्रयोगकर्ता बढाउन त्यसपछि एन्ड्रोइड भर्सनमा पनि ल्याइयो। अहिले प्रयोगकर्ताको संख्यामा देखिएको वृद्धिलाई व्यवस्थापन तथा त्यसलाई धान्नसक्ने बनाउनका लागि इन्भाइट गरेर मात्र नयाँ प्रयोगकर्ता आउन सक्ने गरी एपको विकास गरेको छ।

क्लब हाउसको सार्वजनिक समयमै कमाई १० करोड अमेरिकी डलर थियो भने सन् २०२१ को अप्रिलसम्म चार अर्ब डलर पुगेको बताइन्छ। नेपालमा भर्खरै चर्चामा रहे पनि जर्मनी, जापान, स्लोभाकिया र टर्कीमा यसको बढी डाउनलोड भएको छ। जापानमा फेब्रुअरी सम्ममा चार लाख ४० हजार पटक डाउनलोड भएको सेन्सर टावर रिसर्चको तथ्यांकमा छ। टर्कीमा ३० लाखभन्दा बढी डाउनलोड भएको छ। गत फेब्रुअरीमा मात्रै यो एप आईओएसमा ९० लाख ६० हजार डाउनलोड भएको थियो। सेन्सर टावर रिसर्चको नयाँ प्रतिवेदनअनुसार अप्रिलमा भने ९ लाख मात्रै डाउनलोड भएको छ।

पछिल्लो समय यो एपमा नेपाली प्रयोगकर्ताको संख्या पनि उच्च छ। कोरोना महामारी नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले यसको प्रयोगलाई अझै बढाएको मानिन्छ। विभिन्न विषयमा आआफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्ने भएकाले फरक समूहका फरक–फरक ‘रूप’ र छलफल यहाँ भेटिन्छ। आफूलाई मन लागेको समसामयिक विषय छानेर सुन्ने र छलफलमा समेत सहभागी भएर मनोरञ्जन एवं ज्ञान लिन सकिने भएकाले कुनै पनि उमेर समूहका लागि यो एप उपयोगी बनेको देखिन्छ।
आवाजको प्रयोगका लागि मात्रै निर्माण गरिएको क्लब हाउसमा फोटो वा भिडियोको नाममा प्रोफाइल तस्वीर मात्रै हुन्छ। यस एपले संवाद तथा अन्तक्रियामा आवाजलाई मात्र सपोर्ट गर्ने हुँदा सुन्दै अन्य काम गर्ने वा समय बिताउनेका लागि सहज पनि छ। यो सेवाले पनि यो एप प्रयोगकर्ताको संख्या थपेको मानिन्छ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएपछि घरमै थुनिएर बस्न बाध्य भएको समयमा ‘लन्च’ भएको क्लब हाउस एपले समय कटाउन सहज बनाएकाले एप डाउनलोडमा पनि यसले फड्को मारेको छ। सन् २०२० को डिसेम्बरसम्ममा ६ लाख प्रयोगकर्ता पुगेको क्लब हाउसको २०२१ सम्ममा साप्ताहिक प्रयोगकर्ता नै २० लाखभन्दा धेरै रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पल डेभिसनको दाबी छ। एक्लोपनको साथीको रूपमा समेत आफूलाई परिचित गराउन सफल बनेको क्लब हाउसको मुख्य विषेशता भनेकै भर्चुअल रुम हो।

तीन फरक रुममा विकास गरेको यसले प्रयोगकर्ताको छनोटलाई पनि विभाजन गरेको छ। यसमा ओपन रुम, सोसियल रुम र क्लोज्ड रुमको प्रयोग गर्न सकिन्छ। जो कोही प्रयोगकर्ता जसको रुममा पनि प्रवेश गरेर आयोजकले सेटिङ परिवर्तन नगरेसम्म उसका संवाद सुन्नका लागि ओपन रूपको प्रयोग गर्न सकिन्छ। यही रुमबाट विश्वभरका मानिसको अन्तक्र्रिया र संवादहरू सजिलै सुन्न सके पनि छलफलमा प्रवेश गर्न भने यो रूपमा आयोजकको अनुमति चाहिन्छ।

सोसियल रुममा कडाई अलि बढी छ। यहाँ आयोजक वा वक्तालाई फलो गरेका प्रयोगकर्ताले मात्र प्रवेश गर्न र सुन्न पाउँछन्। समसामयिक विषयमा अन्तरक्रिया, संवाद चलाइरहेका आयोजकले मात्रै त्यसमा प्रवेश गराएर फलो गरेकालाई स्पिकर बनाउन सक्छन्। यो रूपमा निश्चित प्रयोगकर्ता मात्रै सहभागी हुन्छन्। ओपन, सोसियल रुमभन्दा क्लोज्ड रुम फरक छ। यहाँ वक्ताले इन्भाइट गरेका प्रयोगकर्ता मात्रै जोडिन्छन्। आयोजकले रुमलाई आफूअनुकूल चलायमान बनाउने भएकाले श्रोतालाई वक्ता बनाउने, म्युट/अनम्युट गर्ने र वक्तालाई निकाल्नेसम्मको अधिकार आयोजकलाई हुन्छ। यो रुम आफूलाई मन नपरेमा वा त्यो रुमबाट बाहिर निस्कन चाहेमा श्रोता वा वक्ताले ‘लिभ क्वाइट्ली’ भन्ने बटन क्लिक गरेर बाहिरिन सक्ने व्यवस्था क्लब हाउसले गरेको छ।

प्रयोगकर्ताको बढ्दो सहभागिताकै कारण क्लब हाउले विभिन्न सेवा पनि एपमा थप्दै गएको छ। आफूलाई मन नपरेको श्रोतालाई ब्लक गर्ने र प्रोफाइलको बायो प्रयोग गरेर आफ्नो बारेमा अरूलाई जानकारी दिन सकिने सुविधा पनि यसले थपेको छ। पछिल्लो समय क्लब हाउसमा बायोको प्रयोग गरेर पैसा कमाउनेहरू पनि थपिँदैछन्। नेपालमा यसको प्रयोग कम भए पनि अन्य मुलुकमा बायोमा राम्रो कन्टेन्ट र विभिन्न क्यास एपको लिंक राखेर आम्दानी गर्ने प्रयोगकर्ता पनि छन्। एपलाई अडियो छलफलका रूपमा मात्रै नभई ‘विसलिस्ट’ राखेर यसको प्रयोगकर्तालाई आफ्नो प्रडक्ट वा सेवा बेच्नेको संख्या पनि बढ्दै छ। आफ्नो सामानको प्रचार गर्न लिंक राख्दा निश्चित ग्राहकलाई छनोट गर्नेसम्मको सुविधा क्लब हाउसले दिएको छ। यसको सही सदुपयोग गरे प्रयोगकर्ताले राम्रो आम्दानी समेत गर्न सक्ने निर्माणकर्ताको भनाइ छ। पैसा तिर्नुपर्ने रुम र सब्सिक्रिप्सनको अप्सनसमेत यसमा हुँदा भर्चुअल क्लास रुमदेखि सेमिनार जस्ता कार्यक्रम रकम लिएर आयोजना गर्न सकिन्छ। यस्तो कार्यक्रम एक्सक्लुसिभ बनाएर क्लब हाउसमा मात्रै सुन्न पाइने गरी राख्न सके यसको महत्त्व अझै बढ्छ। यसमा भएको आम्दानीलाई पे–पल र स्कवारजस्ता कम्पनीबाट भुक्तानी गर्न सकिन्छ।

संवादका माध्यमहरूको रूपमा जुम, गुगल मिटहरू पनि लोकप्रिय थिए। तर, यसलाई अब क्लब हाउसले उछिनेको छ। समाजिक सञ्जालको लोकप्रियता जति बढी हुन्छ, सुरक्षा मापदण्डका कुरा पनि उतिकै महत्त्वपूर्ण हुन्छ। क्लब हाउस लोकप्रिय भए पनि उसले सुरक्षाको मादण्ड अपनाएको पाइँदैन। घृणा फैलाउने, आपत्तिजनक अभिव्यक्ति राख्ने, परिवारमा बसेर सुन्नसमेत नमिल्ने रुम निर्माण सहजै गर्नेजस्ता दुरूपयोग बढेको छ।  –एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.