खोलाले बाँध कटान गर्दा रातभर सुत्दैनन् स्थानीय
मलंगवा : सर्लाहीको विभिन्न स्थानमा लखनदेही खोलाले बाँध कटान गर्न थालेपछि खोला आसपासका बासिन्दाहरु त्रसित बनेका छन् । तीन दिनदेखि खोलाले बाँध काट्न गर्न थालेपछि चक्रघट्टा गाउँपालिका वडा नं. १ शिवनगरका स्थानीयबासीहरु त्रसित बनेका छन् । त्यसैगरी कौडेना गाउँपालिकाको सक्रौल र शिवनगरमा पनि खोलाले कटान शुरु गरेको छ । मलंगवा नगरपालिकाको खुटौना छेउमा सबभन्दा बढी कटान गरेको छ ।
पानीको बहाब अहिले कम भएकोले कटान विस्तार भइरहेको छ । समयमा नै बाँधको मर्मत सम्भार गरिएन भने जोखिम बढ्ने सम्भावना रहेको सुरक्षा निकायले जनाएको छ । स्थानीयबासीले बाँध छेउमा रहेको आ-आफ्नो जमिनको रुख बाढीले बगाउँछ भनेर काट्न थालेपछि झन बाँध कमजोर हुन थालेको छ।
गाउँ भन्दा उत्तरपट्टी खोलाले कटान गर्न थालेको चक्रघट्टा १ शिवनगरका रजनिश कुमार रायले बताए । आठ वर्ष अगाढी बनाइएको बाँध खोलाले कटान गर्न थालेको छ । कटान भइरहेको स्थानमा गत वर्ष जनताको तटबन्ध हरिपुरले बाँसको पिलिङ्ग लगाइएको थियो । स्थानीयबासीले पिलिङ्ग उखेलेर लग्दा कटान हुन थालेको रायले बताए । ‘बाँसको पिलिङ्ग रहेको स्थानमा कटान भइरहेको छैन्’, रायले भने, ‘स्थानीयबासीले बाँस चोरेर लाँदा समस्या भएको हो ।’ आधाभन्दा बढी बाँध कटान भइसकेको छ ।
कटानलाई अहिले नै रोकेन भने भोलीका दिनमा बस्तीले बगाउने खतरा रहेको रायले बताए । करिब ५० मिटरमा कटान भइरहेको छ । कटान भइरहेकै स्थानमा आफ्नो दुई बिगहाको पोखरी छ । बाँध फुट्यो भने पोखरी बगरमा परिणत हुन्छ । सयौं बिगहा जमिन बगरमा परिणत हुन्छ । मानवीय क्षति हुने पनि खतरा बढ्दो छ ।
बाँध भत्कियो भने चक्रघट्टा गाउँपालिकाको शिवनगर, पडरिया, चक्रघट्टा बजार र सुन्दरपुरमा बढी क्षति हुने वडाध्यक्ष रामनाथ भारतीले बताएका छन् । कविलासी गाउँपालिकाको बीरनगरा र मदनपुरमा बाढीले क्षति पुर्याउँछ । सबभन्दा बढी जोखिम शिवनगरलाई छ । पुरै बस्ती नै खोला किनारमा छ । स्थानीयबासी त्रासमा छन् । रातिको समयमा कोही पनि राम्ररी सुत्न सकेको छैन् । कुन बेला बाढीले बाँध भत्काएर गाउँ बगाउँछ ठेगान छैन् । वडाको बजेटले मर्मत गर्न सम्भव छैन् । सहयोगका सम्बन्धित ठाउँमा गुहार लगाएको वडाध्यक्ष भारतीले बताएका छन् ।
बाँध कटानको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले मर्मत सम्भारका लागि आवश्यक समन्वय गर्न लागि सकेका छन् । प्रजिअ महतोले चक्रघट्टादेखि भारतीय सीमा नजिक पर्ने भाडसर सम्मको निरीक्षण समेत गरेका छन् । बाँध कटान रोक्नका लागि जलस्रोत तथा सिचाई विभाग, जनताको तटबन्ध, स्थानिय प्रमुख तथा सुरक्षाकर्मीसंगको समन्वय भइरहेको प्रजिअ महतोले बताएका छन् ।
विभागले केन्द्रबाट चाडैं सहयोग गर्ने जनाएको प्रजिअले बताए । जनताको तटबन्धले मर्मत सम्भारका लागि आवश्यक समाग्री उपलब्ध गराउने जनाएको छ । पालिका प्रमुखहरुले पनि मर्मत सम्भारका लागि आवश्यक पर्ने उपकरण र मजदुरी खर्च तिर्ने जनाएको प्रजिअले महताले बताए । सुरक्षाकर्मीले पनि मानविय सहयोग गर्ने प्रजिअले बताए । बाँध छेउमा रहेको रुख बिरुवाहरु नकाट्नका लागि पनि प्रजिअ महतोले निर्देशन दिएका छन् । कसैले रुख बिरुवा काट्छ भने त्सस्ता व्यक्तिलाई कारबाही गरिने प्रजिअ महतोले बताए ।
पुरानो बाँध कमजोर भएकाले मर्मत सम्भारका लागि गत वर्षदेखि नै पहल गरेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले बताएका छन् । केन्द्र र प्रदेशबाट सहयोग नहुदाँ तारजाली लगाउन नसकेको अध्यक्ष रायको आरोप रहेको छ । ‘पालिकाबाट एक करोड बजेट छुट्याएको थियौं’, रायले भने, ‘जनताको तटबन्धले बजेट नहाले पछि काम हुन सकेन् ।’ जेसिबी लगाएर खोलाको बहाब परिवर्तन गरी मर्मतको काम गर्नुपर्छ । तत्काल बाँसको पिलिङ्ग गरी बोरा हालेर मर्मत गर्नुपर्छ । पानीको बहाब कम भएपछि तारजाली लगाएर बाँधलाई मजबुत बनाउनु पर्ने आवश्यक्ता रहेको अध्यक्ष यादवले बताए । गाउँपालिकाबाट जेजति सहयोग गर्नुपर्छ त्यो गर्नका लागि आफु तयार रहेको अध्यक्ष यादवले बताए ।
बाँध मर्मत गर्नका लागि आफुसंग आपत कालिन बजेट नभएको जनताको तटबन्ध हरिपुरका कार्यालय प्रमुख रविन्द्र शर्माले बताए । हामीले अहिले प्राबिधिक, बोरा र जियो ब्याग सहयोग गर्न सक्छौं । ज्याला मजदुरी र अन्य समाग्री स्थानिय तहले दिनु पर्छ ।
निरीक्षण गर्न पुगेका जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले जति सक्दो चाडों बाँधको मर्मत सम्भार गरिनु पर्ने बताएका छन् । समयमै कटान रोकिएन भने आधा दर्जन गाउँमा क्षति हुने चौधरीले बताए । सबभन्दा बढी कटान चक्रघट्टाको शिवनगर र मलंगवा नगरपालिकाको खुटौनामा भइरहेको छ ।
पानी पर्ने सम्भावना अहिले पनि उतिकै छ । जोडले बाढी आयो पनि अहिले बाँकी रहेको बाँध एक घण्टा पनि टिक्न सक्दैन् । साउन र भदौमा झन ठूलो पानी पर्छ । अहिले पानी पर्ने समय हो । समयमै मर्मत गरिएन भने जुनसुकै बेला पनि खतरा हुन सक्छ । अरु खोलाभन्दा लखनदेहीमा पानीको बहाब तेज हुन्छ । ठूलो बाढी आयो भने नियन्त्रण गर्न समस्या हुन्छ ।