पिपल्स भोलन्टियर घोषणा गर्दै माधव नेपालले भने: पार्टी जीवन रेल यात्रा जस्तै हो

पिपल्स भोलन्टियर घोषणा गर्दै माधव नेपालले भने: पार्टी जीवन रेल यात्रा जस्तै हो

भक्तपुर: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युवा संघ नेपाल अन्तर्गत एक हजार एक सदस्यीय पिपल्स भोलेन्टियर घोषणा गरेको छ ।

३४ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार एक कार्यक्रममा नेता नेपालले पिपल्स भोलेन्टियर घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा नेता नेपालले युवाहरुलाई देश र जनताको लागि आफूलाई समर्पित गर्न आह्वान गरे ।

पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधान मान्दा पार्टी अहिलेको अवस्थामा आइपुगेको उनको आरोप थियो । उनले भने, ‘पार्टीमा नेताहरु आउँछन्, जान्छन् तर सही बिचारले थुप्रै नेता जन्माइरहेको हुन्छ ।’

नेता नेपालले पार्टीले निरन्तर गुडिरहने रेलसँग तुलना गर्दै युवाहरुलाई निराश हुनुपर्ने कुनै अवस्था नभएको बताए । ‘पार्टी जीवन रेलको यात्रा जस्तै हो । रेलमा कोही चढिरहेका हुन्छन् र कोही ओर्लिरहेका हुन्छन्’, उनले थपे, ‘चढ्ने जति चढिरहेका हुन्छन् । ओर्लिनेहरु ओर्लिरहेका हुन्छन् तर रेल अगाडि बढिरहन्छ । हामी यही भावनामा अघि बढ्नुपर्छ । निराश हुनुपर्ने कुनै आवश्यकता छैन ।’

नेता नेपालले अहंकारको घोडाबाट खस्दा पनि बादशाहलाई वास्तविकताको ज्ञान नभएको भन्दै आफ्नै अध्यक्ष केपी शर्मा ओलीतर्फ व्यंग्य गरे ।

अहंकारको घोडा चढ्ने मान्छेलाई कसैले मन नपराउने उनको भनाइ थियो । ‘अहंकारको घोडा चढ्ने मान्छेलाई कसैले मन पराउँदैन’, नेता नेपालले भने, ‘जब अहंकारको घोडा चढेको बादशाहलाई घोडाबाट ओर्लनुपर्ने अवस्था आउँछ तबमात्रै उसलाई वास्तविकताको ज्ञान हुन्छ ।’


‘देशको सार्वभौमिकता र स्वाभीमानको रक्षामा जुट्नुहोस्’, उनले भने, ‘गणतन्त्र र लोकतन्त्रको रक्षा हुने काममा जुट्नुहोस् ।’

उनले युवाहरुले आफूलाई जनताको साथबाट कहिल्यै नटुटाउनसमेत आग्रह गरे । ‘जनता नै इतिहासका निर्माता हुन् । त्यसैले युवाहरु जनताको प्यारो बन्नुपर्छ’, नेता नेपालले भने, ‘जनताको दुःख र पीडामा साथ दिनुहोस् । जनताको सुखमा रमाउनुहोस् । जनताको साथ लियो भने पार्टी लोकप्रिय भइन्छ तर जनताको साथ कटियो भने त्यो पार्टीको कुनै अर्थ रहँदैन ।’

कार्यक्रममा युवा इन्चार्ज एवं एमाले स्थायी समिति सदस्य रघुजी पन्तले हिजो गिरिजाप्रसाद कोइरालाको पुतला जलाएर हिँडेका आफूहरु २०६२/६३ को आन्दोलनमा उनै गिरिजाप्रसाद कोइरालालाई नेता मान्नुपर्ने अवस्था आएको स्मरण गर्दै अहिले माधवकुमार नेपालको पुतला जलाउने एमालेकै नेता कार्यकर्ताहरु भोलि उनै माधवकुमार नेपाललाई नेता मान्नुपर्ने दिन आउने दावी गरे ।

त्यसैले बोल्दा र कुनै कार्यक्रम गर्दा भोलिको लागि ठाउँ राखेरमात्रै गर्न उनले केपी ओली समूहका युवा नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेता पन्तले गणतन्त्र, लोकतन्त्र, संसद र संविधान जोगाउन आफूहरुले सल्लाह गरेरै शेरबहादुर देउवालाई समर्थन गरेको स्पष्ट पार्दै यसको दोष माधवकुमार नेपाल एक्लैलाई मात्रै दिन नमिल्ने बताए ।

‘हामी सबैको सल्लाहमा शेरबहादुर देउवालाई समर्थन गरिएको हो’, उनले भने, ‘त्यसैले यसमा माधवकुमार नेपालमात्रै एक्लै दोषी हुनुहुन्न । हामी कार्यदलमा बसेकाहरु उम्किन पाउँदैनौं ।’

शिव श्रेष्ठको संयोजकत्वमा पिपल्स भोलेन्टियर घोषणा

कार्यक्रममा एमालेका वरिष्ठ नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा एकहजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरे । नेता नेपालद्वारा घोषित पिपल्स भोलेन्टियरको सचिवमा मनोज खत्री रहेका छन् । त्यस्तै यसलाई युवा संघ नेपालको तर्फबाट नेतृत्व गर्न सन्दीप राईलाई  इन्चार्ज तोकिएको छ ।

केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि माधवकुमार नेपाल समूहले पनि पिपल्स भोलेन्टियर व्यँताएको हो । यो समूहले यसअघि नै अखिल फोर्स गठन गरिसकिएको छ ।

तर ओली समूहको युथ फोर्सले जस्तै पिपल्स भोलेन्टियरले अराजक, आपराधिक र अनुशासनहीन काम नगर्ने माधवकुमार नेपाल समूहको युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीले बताए ।

उनले पिपल्स भोलेन्टियर सचेत युवाहरुको संगठन भएकाले यो अन्याय, अत्याचार, भ्रष्टाचार, विभेदविरुद्ध आँधीसरह खटिने दावी गरे ।

पिपल्स भोलेन्टियर गठन गर्ने चर्चासँगै बालुवा र ढुंगा खानी कब्जा गरी बसेका तथा अड्डाअदालतमा फाइल बोकी हिँड्ने विचौलियाहरुको मुटु काम्न थालेको अध्यक्ष शाहीको जिकिर थियो ।

उनले पिपल्स भोलेन्टिर उत्पादनमूलक कार्यमा समेत लागेर नमुना संगठन बन्ने बताए । अध्यक्ष शाहीले युवा संघ गठन भएका सम्पूर्ण तहमा पिपल्स भोलेन्टियरको छुट्टै संरचना बन्ने जानकारी दिए ।

उक्त कार्यक्रमअघि पिपल्स भोलेन्टियरमा आवद्ध युवाहरुले मोटरसाइकल ¥याली गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकस्थित कार्यक्रमस्थल थापा पार्टी प्यालेससम्म स्कर्टिङ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.