खेलकुद महाकुम्भमा नेपाल

खेलकुद महाकुम्भमा नेपाल

विश्व खेलकुदको महाकुम्भ मानिने ग्रीष्मकालीन ओलम्पिकको ३२औं संस्करण शुक्रबारदेखि जापानको राजधानी टोकियोमा सुरु भएको छ। अघिल्लो वर्ष नै तय भएको टोकियो ओलम्पिक विश्वभर फैलिएको कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो। उद्घाटन समारोहमा विश्वका दुई सय सात देशका ११ हजारभन्दा बढी खेलाडी सहभागी भएका थिए।


गौरिका र एलेक्जेन्डरले बोके झण्डा
टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा जलपरी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए। नेपाल ओलम्पिक कमिटीले असार अन्तिममा नेपालको झण्डा गौरिका र एलेक्जेन्डर शाहले बोक्ने जानकारी दिएको थियो। गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। उनले सन् २०१६ को रियो ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन्। गौरिकाले नेपालमा आयोजना भएको १३औं सागमा पनि नेपालको झण्डा बोकेकी थिइन्। १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन काँस्य गरी नौ पदक जितेकी थिइन्।

पौडीमा गौरिकाबाट आशा
पौडीमा गौरिका सिंह र एलेक्जेन्डर शाहले नेपालको प्रतिनिधित्व गर्दै छन्। दुवै खेलाडी अनिवार्य कोटामा ओलम्पिकमा सहभागी भएका हुन्। गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेकजेन्डरले पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन्। अघिल्लो संस्करणमा ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी गौरिकाबाट ओलम्पिकमा उत्कृष्ट प्रर्दशनको आशा गरिएको छ।

एथलेटिक्समा सरस्वतीको चुनौती
एथलेटिक्सको ट्रयाकमा सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छिन्। उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। उनले अनिवार्य कोटाअन्तर्गत ओलम्पिक खेल्न लागेकी हुन्। नेपालले गोपीचन्द्र पार्कीको नाम टोकियो ओलम्पिकमा सिफारिस गरे पनि उनको स्थानमा सरस्वतीले खेल्न लागेकी हुन्।

जुडोमा सोनिया सपना
नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्। बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्द्वी इरिना पाएकी हुन्। इरिना जुडोको ४८ केजीमुनिको तौल समूहमा विश्व वरीयताको नवौं स्थानमा छिन्।

महिला ४८ केजीमुनिको तौल समूहमा सोनियाले रुसी खेलाडीसँग शनिबार खेल्ने छिन्। सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै टोकियो ओलम्पिकमा छनोट भएकी हुन्। १९ वर्षीया सोनियाले दुई वर्षअघि नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा काँस्य पदक जितेकी थिइन्। सोनिया विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी पनि हुन्। सन् २०१९ मा मोरक्कोमा भएको वल्र्ड जुनियर च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेकी थिइन्। त्यसअघि कुनै पनि नेपाली खेलाडीले विश्वस्तरीय प्रतियोगितामा पहिलो खेल जित्न सकेका थिएनन्।

सुटिङमा कल्पनाको निसाना
सुटिङकी कल्पना परियार नेपालबाट टोकियो ओलम्पिक खेल्ने भाग्यमानी खेलाडी हुन्। उनले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन्। उनले वाइल्ड कार्ड पाएर टोकियो ओलम्पिकको टिकट काटेकी हुन्। दोहामा भएको ओलम्पिक क्वालिफायरमा सहभागी कल्पनाले ६१४.९ अंक जोडेकी थिइन्। उक्त प्रतियोगितामा सुस्मिताले ६०५ अंक जोडेकी थिइन्। त्यही आधारमा उनले टोकियो ओलम्पिकको वाइल्ड कार्ड पाएकी हुन्। नेपालले साढे पाँच दशकदेखि ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ। अहिलेसम्म नेपालबाट ९६ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेका छन्। सन् १९६४ मा जापानमै भएको ओलम्पिकदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको हो। नेपालले अहिलेसम्म १४ वटा संस्करणमा सहभागिता जनाइसकेको छ। टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। अनिवार्य कोटामा पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छन्। वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। टोकियो ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले १२ खेलाडीको नाम वाइल्ड कार्डका लागि सिफारिस गरेको थियो। 

बैकुण्ठ चार ओलम्पिकमा दौडिए
नेपालबाट ओलम्पिकमा सर्वाधिक सहभागिता जनाउने खेलाडी म्याराथन धावक बैकुण्ठ मानन्धर हुन्। उनले लगातार चार पटक ओलम्पिकमा सहभागिता जनाएका थिए। उनले १९७६ मोन्ट्रेएल ओलम्पिकदेखि सन् १९८८ को सोल ओलम्पिकसम्म प्रतिस्पर्धा गरेका थिए। सन् १९७६ मा उनी ओलम्पिकमा सहभागी हुने एक्लो नेपाली खेलाडी थिए। यसैगरी बक्सिङका उमेश मास्के एथलेटिक्स खेलाडी हरिबहादुर रोकाय र पौडीका प्रसिद्धजंग शाह तथा गौरिका सिंहले दुई पटक ओलम्पिकमा सहभागिता जनाएका छन्। 

उमेश मास्केले सन् १९८० को मस्को र १९८४ को लस एन्जल्स ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। यसैगरी बक्सिङकै दलबहादुर रानामगरले सन् १९८४ को लस एन्जल्स र सन् १९८८ को सोल ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। यसैगरी हरिबहादुर रोकायले सन् १९८८ को सोल ओलम्पिकमा र सन् १९९२ को बार्सिलोना ओलम्पिकमा म्याराथनमा दौडिएका थिए। प्रसिद्धले सन् २००८ को बेइजिङ ओलम्पिक र २०१२ को लन्डन ओलम्पिकमा सहभागिता जनाएका थिए। टोकियो ओलम्पिकमा सहभागी गौरिका सिंहको पनि यो लगातार दोस्रो ओलम्पिक हो। यसअघि उनले ब्राजिलमा सन् २०१६ मा भएको रियो ओलम्पिकमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला उनी रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएकी थिइन्।

सन् १९६४ को १८औं संस्करणको टोकियो ओलम्पिकमा नेपालका भूपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापाले म्याराथनमा दौडिएका थिए। यस्तै नामसिंह थापा, भीमबहादुर थापा, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले बक्सिङमा प्रतिस्पर्धा गरेका थिए। सन् १९६८ को मेक्सिको ओलम्पिकमा भने नेपालले सहभागिता जनाएन। त्यसपछिका संस्करणमा भने निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ। नेपालबाट सन् १९८८ को सोल ओलम्पिकमा सबैभन्दा बढी १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.