कोरोना टार्ने कि सार्ने ?

कोरोना टार्ने कि सार्ने ?

इटहरी/ विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्‍यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए। 

दूरी पालना गर्न आह्वान गर्ने उपमहानगरपालिका र त्यसको पालना गर्नुपर्ने नगरवासी दुवैको हेलचेक्र्याइँको उदाहरण खोप केन्द्रमा देखियो। ‘नगरपालिका एकातिर सामाजिक दूरी कायम गर्नु भन्दै माइकिङ गर्छ, अर्कोतिर यसरी मान्छे भेला पारेर खोप लगाउँछ’, इटहरीको कस्तुरी स्कुलमा शिक्षण गर्दै आएकी गीता सुवेदीले भनिन्, ‘कोरोना भाग्ने त हो कि होइन, उल्टो सर्‍यो कि भन्ने चिन्ता भयो।’

पेलेरै अघि जान सक्नेहरू भित्रभित्रै छिरेर चाँडै खोप लगाएर फर्किएको उनले सुनाइन्। ‘मभन्दा पछि हुनेहरूको पालो आएपछि मैले पनि बल गरेरै अघि बढेर लगाएँ। नत्र त अझै पालो आउँदैनथ्यो’, उनले भनिन्।

इटहरी–८ की ५५ वर्षीय चम्पादेवी खड्कालाई पनि खोप लगाउने व्यवस्थापन चित्त बुझेन। इटहरी चोक बोलाएर उपमहानगरपालिकाले नगरवासीलाई भीडमा हुलेको आरोप लगाइन्। भनिन्, ‘खोपले कोरोना रोक्छ कि रोक्दैन थाहा छैन। तर, यस्तो भीडमा त उल्टै कोरोना बोकेर गइन्छ जस्तो छ।’

अघिल्लो दिन इटहरी अस्पतालमा खोप लगाइएकोमा मंगलबार इटहरी चोकको जनता माविमा व्यवस्था गरिएको थियो। त्यसबाहेक इटहरीका अन्य ७ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको थियो। खोप लगाउन बिहान ७ बजेदेखि नै स्थानीयवासी लाम लागेका थिए। कम्तीमा ५ घण्टा लाइन लाग्नु परेको उनीहरूले बताए।

श्रीमतीलाई लिएर खोप केन्द्रमा १० बजे नै आएका इटहरी–१० का लालबहादुर राई लामो लाम देखेपछि फर्किए। दिउँसो २ बजे फेरि पुगेका उनी भन्दै थिए, ‘अझै उस्तै भीड रहेछ। आज बूढीलाई नल्याएको भए पनि हुने रहेछ।’

उनले खोप वडामै लगाउने भन्ने हल्ला चले पनि इटहरी चोकमा केन्द्रित गरेको बताए। ‘हामी बूढाबूढी मान्छे कहाँदेखि हिँडेर आउनुपर्छ ? लाइनमा ५–६ घण्टा उभिनुपर्छ,’ उनले भने, ‘बरु आलोपालो गरेको भए वा वडामै व्यवस्था गरेको भए सजिलो हुन्थ्यो।’ 
उपमहानगरपालिकाले आफैंले गरेको सूचनाविपरीत भीड गराएको स्थानीयको गुनासो छ। ‘आफू वडा बन्द गरेर लुक्ने अनि नगरवासीलाई भीड हुने गरी बोलाउने ?’, इटहरी ४ का पदम कार्कीले भने, ‘सामाजिक दूरी कायम गर्न भन्नेले कम्तिमा खोपको व्यवस्थापन सहज गरेको भए हुन्थ्यो।’

खोप तथा स्वास्थ्यकर्मी व्यवस्थापन गरिरहेको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले व्यवस्थापन फितलो हुँदा समस्या आएको बताए। ८ ठाउँमा खोप लगाउने गरी व्यवस्थापन गरिए पनि खोप केन्द्रलाई व्यवस्थित गर्न नसक्दा समस्या देखिएको धमलाको भनाइ छ।
‘नागरिकहरू आफैं पनि सचेत हुनुपर्ने हो’, उनले भने, ‘तर त्यो सचेतता देखिएन, अबदेखि खोप लगाउँदा व्यवस्थापनलाई समेत ध्यानदिएर सञ्चालन गर्नुपर्ने देखियो।’ उनले वडापिच्छे खोप लगाउने काम चाहिँ खोपको भण्डारणदेखि ढुवानीसम्मका जटिलताले गर्दा गाह्रो भएको बताए।

मोरङको विराटनगरस्थित वीरेन्द्रसभा गृहमा हालै खोप लगाउन आएका स्थानीयको भीड। यस्तै भीडभाडबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ। तस्बिर : जितेन्द्रनारायण ठाकुर

प्रदेश १ को राजधानी विराटनगरमा खोप लगाउन जाँदा नै संक्रमणको त्रास बढेको छ। संघीय सरकारले पठाएको खोप लगाउने केन्द्रमा कुनै स्वास्थ्य मापदण्डको पालना नहुँदा संक्रमणको त्रास बढेको हो ।
संघीय सरकारले मोरङ जिल्लालाई ७० हजार डोज खोप पठाएको छ। स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार पहिलो चरणका छुटेका स्वास्थ्यकर्मी, कानुन व्यवसायीलगायत अग्रपंक्तिमा खटिने कर्मचारीलाई सोमबार विराटनगरमा दुईवटा केन्द्र तोकेर खोप लगाइएको थियो। 
सरकारले ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने भने पनि वडा कार्यालयमा अव्यवस्थित रूपमा खोप लगाउने गरेको पाइएको हो। बिहानैदेखि भीडभाडपूर्ण तरिकाले स्थानीयले लाममा बसेर खोप लगाए। 

खोप लगाउने स्थानको फितलो व्यवस्थापनाले खोप लगाउन आउने व्यक्तिलाई नै संक्रमित हुने अवस्था रहेको विराटनगरका–९ का रमेश कुटवालले बताए। बिहान ११ बजेदेखि लाम लागेका ६० वर्षीय कटुवालले भने, ‘बल्ल २ बजे खोप लगाउन पाएँ।’
विद्यार्थी पनि खोप लगाउने लाइनमा थिए। तर, विद्यार्थीले नपाउने भनेपछि नोबेल शिक्षण अस्पतालबाट आएका उनीहरू गेटमा पुगेर निरास हुँदै फर्किए। ‘दिनभर पानी र घाम नभनिकन लाइन बसियो,’ रेश्मी शर्माले भनिन्, ‘नपाउने भनेपछि गेटमा पुगेर फर्किनुपर्‍यो।’ 

खोप लगाउने हुललाई व्यवस्थित नगरिँदा कोरोनाको संक्रमण बढ्ने खतरा रहेको स्वास्थ्य कार्यालयका प्रमुख मेहताले बताए। ‘तेस्रो चरणको संक्रमण फैलने जोखिम छ’, मेहताले भने, ‘त्यस्तो बेला भीडभाडपूर्ण र अव्यवस्थित तरिकाले खोप लगाउनु ठीक होइन।’ मेहताले भौतिक दूरी र मास्क प्रयोगलाई जोड दिइएको भए पनि स्थानीय तहको बेवास्थाका कारण त्यो सम्भव गर्न निक्कै मुस्किल परेको सुनाए। 

‘सरकारले खोप दिने उमेर समूह नै तोकेको छ। तर, पनि आफ्नो किसिमले खोप स्थानीय तहले लगाउन थालेका छन्। यो सरासर गलत हो,’ उनले भने। खोप लगाउने स्थानमा कुनै मापदण्ड तोकिएको छैन। मोरङमा यो पटक ७० हजारलाई लगाउने योजना रहेको प्रमुख मेहताले बताए।

अचाक्ली र व्यवस्थित भीडका कारण कोरोनाको जोखिम बढेको विराटनगरका आमोद कामतको भनाइ छ। ‘खोप लगाउन आउनेबीच नै लछारपछार चलिरहेको हुन्छ। स्थानीय तहको व्यवस्थापन साह्रै फितलो रहयो,’ उनले भने, ‘यो भीडको परिणाम केही दिनमै देखिन्छजस्तो लाग्छ। आगामी दिनमा खोप कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ। नभए संक्रमणले झन् भयावह अवस्था बनाउन सक्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.