सेता वस्त्रधारी र म !
के आयो छायो विश्वमा कोरोना सबमा त्राही त्राही
मानिसजनलाई एक्लो बनायो आफन्त भए पराई।
न आवाज छ विस्फोटको न आयो दबाइ ओखती
घाँटी खस खस बढ्यो जिउ दुख्यो मन दुखेर दुखेन त्यो
डर छायो जीवनमा रसायो आँखा आँसु सुकेर सुकेन त्यो।
घरमा थिए साना केटाकेटी थिए वृद्ध बाबा आमा साथ
रातको दुई प्रहर बिताउन गाह्रो भयो बित्दैन किन रात।
कहिले बायाँ कोल्टे फेर्छु कहिले दायाँ जिउमा उस्तै ताप
पोलिरहेथ्यो मन भत्भती छामेर बढ्दैछ जिउको राप।
भालेको डाँकमा उठेर निस्किएँ नजिकैको असपताल
सहेर सहिनसक्नु थियो मेरो मन यो भएर बेहाल।
समाचार पढिरहन्थें रेडियो सुनिरहन्थें बेड छैन रे उपचार
प्राणबायु अक्सिजनको असपतालमा छ अरे हाहाकार।
पीसीआर परीक्षण गरेर फर्किएँ घर जसै छुट्टिएँ आफ्नैबाट
उकुसमुकुस तन–मनमा आउँथ्यो जसै छाउँथ्यो जब रात।
सिरानीमा राखेको मोबाइलमा घण्टी बज्यो जब मेसेजको
हेरें मोबाइलामा आँखा लगाएँ जिउ पसिनै पसिना भो।
कोरोना पोजेटिभ देखिएछ सुनाएँ घरपरिवार सदस्य सबलाई
विकल्प थिएन असपतालको बाटो समाएँ जानु’थ्यो उतै मलाई।
सेता वस्त्रधारी धरतीका भगवानहरू लागे वरिपरि मेरो उपचारमा
जीवन वरदान पाउन मागिरहेको थिएँ उनैसँग आँखाको इसारामा।
स्वास फेर्न गाह्रो हुँदै थियो कहिले रोकिन्थ्यो हेर्दै थिएँ डराइडराइ
सेता वस्त्रधारी भगवान् थिए नजिक जसमा थिएनन् कोही पराई।
परिवारका सदस्यहरूमा न छोरा थिए साथ न छोरी थिए कतै
ऐ¥याका रोदनहरूका आवाज गुञ्जिरहेको थियो त्यहाँ जताततै।
आवाज थिएन तर देख्दै थिएँ केही दृष्टि धमिलै भए पनि
आस मरिसकेको थिएन मनमा मर्ने र बाँच्ने दोधारमा रहे पनि।
खोज्दै थिए यी आँखा वरिपरि कोही आफन्त कोही नाता
लाग्दै थियो कोही लिन आइरहेछ उठाउँदै छ यो धर्तीबाट।
आए दौडँदै जसै सेता वस्त्रधारी भगवान्हरू घेरेर मलाई राखे
लिन आएका यमदुतहरू हारे सबै जसै छाडेर मलाई भागे।
होस आयो जब आँखा खुल्यो जसै थिए डाक्टर र नर्स वरिपरि
मुस्कान छरिरहेका थिए आपसमा उनीहरू हाँसेर मलाई हेरी।
मुढोसरी विस्तारामा लडेको तनको मनमा थियो त एउटै भर
सेता वस्त्रधारीले यमदूतलाई जितेर बचाए फर्केर आएँ म घर।
नजिकबाट मृत्युलाई देखेर फर्किएँ म आखिर जिउँदै मरेर त्यो
धर्तीका भगवान् सेता वस्त्रधारीको सकिँदैन बयान गरेर त्यो।
प्रतिक्रिया दिनुहोस !