परीक्षामा देउवा सरकार
जसरी सत्ता प्राप्ति भए पनि काम गर्न कसैले रोक्दैन, यो एउटा अवसर हो खेर जान दिनु हुँदैन।
हिजो आज सरकार परिवर्तनको चर्चा सर्वत्र चलिरहेको छ। केही दिनपहिले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेपाली राजनीति फेरि चर्चामा आएको छ। यसलाई स्वाभाविक भनौं वा अस्वाभाविक ! अहिलेको समयमा सरकार परिवर्तन हुनु अकल्पनीय विषय नै मान्न सक्ने अवस्था थियो। दुई तिहाइ नजिकको बहुमत भएको पार्टी, त्यसमा पनि प्रारम्भमा सरकार बनाउँदा अर्को दललाई समेटेर दुई तिहाइ पुर्याएको ओली सरकार ढल्नु सामान्य कुरा पक्कै पनि होइन। त्यसकारण पनि यसलाई अकल्पनीय विषय भन्न सकिन्छ।
तत्कालीन नेकपाले सरकार बनाउँदै गर्दा स्वयं ओलीदेखि उनका दलका नेताहरूले दुनियाँको कुनै पनि शक्तिले हामीलाई विभाजन गर्न सक्दैन र नेतृत्व परिवर्तन गर्न सक्दैन, सरकार ढाल्नै सक्दैन भन्ने अभिव्यक्ति दिएका थिए। सरकार पाँच वर्षको शासन अवधि पूरा गर्न पाउँछ भन्नेमा लगभग सबै विश्वस्त थिए। उनीहरू त अर्को १०/२० वर्ष नै कम्युनिस्टको सरकार रहिरहन्छ भन्ने गर्दथे। तर, त्यसो भन्दै गर्दा प्रतिपक्षी दल कांग्रेससभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने मौका पाए। देउवाको भाग्य बलियो वा ओलीको कमजोर ? असम्भव कुरा सम्भव भएको छ। अवसरलाई सदुपयोग गर्न, मुलुक र जनताको हितमा काम गर्न नसक्ने कमजोर देखिए उनीहरू। शक्ति र कुर्सीको लोभले कम्युनिस्टलाई विभाजित बनायो।
साँच्चै भन्ने हो भने नेकपा जसरी विभाजित भएर पूर्ववत् एमाले र माओवादी केन्द्र बन्न पुग्यो, त्यो त अपेक्षित नै थियो। आज हो वा भोलि, उनीहरू विभाजित त हुनु नै थियो। त्यसलाई जनताले सामान्य र स्वाभाविक ठान्न पनि सक्लान्। नेकपा एमालेभित्रै विभाजन आउनु आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न एक पक्षले निर्णायक भूमिका खेल्नुलाई सामान्य मान्न सकिँदैन। यो त बाँदरका हातमा नरिवलजस्तै भएको छ। यसका विभिन्न कारण छन्। पहिलो कुरा त नेपालका नेताहरू विदेशी शक्तिको आडमा राजनीति गर्छन्। यसमा कसको भूमिका कति त समयले देखाउँला तर कुनै नेता अछूत छन् जस्तो लाग्दैन। विदेशी भूमिबाट विदेशी नेताहरूको सिद्धान्तमा राजनीतिक दल चलाउनु, राजनीतिक मार्गदर्शन अनुसरण गर्नु र विदेशीको पक्षपोषण गर्नु नै असफलताका कारण हुन सक्छन्।
एमाले राजनीतिमा निकै बलियो शक्ति हो। पार्टीको नाम नै बदलेर पूर्ण प्रजातन्त्रवादी समाजवादमा आधारित राजनीतिक शक्ति बनाएर ओली अगाडि बढे भने इतिहासले सम्झनलायक नेता बन्न सक्लान्। उनले हिँड्ने बाटो र कार्यकर्तालाई देखाउने बाटो पनि स्वाभाविक होला। अन्यथा जसरी कम्युनिस्ट पार्टीको सरकार अहिले ढल्यो। अब यो मुलुकमा सत्ताको सेयर खाएर बस्नेबाहेक यसरी बहुमतको सरकार चलाउन कम्युनिस्ट पार्टीलाई निकै गाह्रो पर्ने देखिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा प्रत्यक्षतर्फ २३ सिट मात्र जितेर प्रमुख प्रतिपक्षको स्थान पाउनु त ठूलै कुरा थियो। त्योभन्दा पनि दुई तिहाइ नजिकको सरकार ढलेर सत्ता उनको हातमा आउनुलाई भने सामान्य मान्न सकिँदैन।
देउवाका अगाडि विभिन्न चुनौती देखिन्छन्। यो कांग्रेसको एकल बहुमतको सरकार होइन। त्यसैले पनि गठबन्धनमा रहेका दलका माग र चाहना पूरा गर्नुपर्ने अवस्था आउँछ।
कांग्रेस पार्टीको हिसाबले हेर्ने हो भने यसलाई भाग्य भनौं वा दुर्भाग्य, अब मुलुकले प्रधानमन्त्रीको हैसियतले देउवाले कस्तो सेवा गर्छन् त्यसले आगामी चुनावमा कांग्रेसको स्थान सुनिश्चित गर्नेछ। कांग्रेसका लागि यो अवसर पनि हो र जोखिम पनि। यदि अहिले जनताको हकहितमा काम गर्न सकेन भने भोलिका दिनमा कांग्रेसको स्थान झनै खस्किन सक्छ। उसले कम्तीमा सामान्य काम गर्नैपर्छ। कांग्रेस प्रजातान्त्रिक लोकतान्त्रिक शक्ति हो। संसदीय मूल्यमान्यतामा आधारित, लोकतन्त्रप्रति पूर्ण बफादार तथा नेपाली राजनीतिकै केन्द्र हो। यो कतैबाट आयातीत सिद्धान्त होइन। यो जनताको माग र अपेक्षाअनुसार बनेको राजनीतिक शक्ति हो। जसले नेपाली जनताको हित र सम्मान गर्छ। यस्तो अवस्थामा मुलुकलाई सुशासन र शान्ति दिन्छु, मुलुकको आकांक्षा पूरा गर्छु, संविधानको सबल कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्छु, शासन पद्धतिको सही सञ्चालन र सबैले अपनत्व स्विकार्ने गरी मुलुक सञ्चालन गरेर देखाउँछु भनेर दृढ अपेक्षाका साथ अगाडि बढ्नुपर्छ।
प्रधानमन्त्री देउवाका यी सबै जिम्मेवारी पनि हुन्। उनले जिम्मेवारी निभाउन सक्छन् वा सक्दैनन् हेर्न बाँकी छ। लामो अनुभव भएकै कारण पनि त्यसरी सञ्चालन गर्न सके भने कांग्रेसप्रतिको मोह र आकांक्षा बढेर जानेछ। वास्तवमा केपी ओलीले अघिल्लो पुसमा विघटन गरेको सदन, त्यसै समय घोषणा भएको निर्वाचन मितिमा चुनावमा गएको भए अहिलेको राजनीतिक सरगर्मी भिन्दै हुन्थ्यो होला। ५/५ पटक प्रधानमन्त्री भइसक्दा पनि शेरबहादुर देउवाले निर्वाचित बहुमतको सरकारबाट प्रधानमन्त्री हुन कहिल्यै पाएनन्। त्यो अवसर प्राप्त हुन सकेन। प्रारम्भदेखि नै कहिले अदालतको फैसला त कहिले सर्त सम्झौतामा प्रधानमन्त्री हुन पुगे। यसलाई दुर्भाग्य पूर्ण भनौं वा नियति। देउवाको जीवनमा जसरी नेतृत्व प्राप्ति भइरहेको छ त्यो अन्य विगतका प्रधानमन्त्रीहरूको भन्दा भिन्न रहन गयो। जुन नरहनु पथ्र्यो।
जसरी सत्ता प्राप्ति भए पनि काम गर्न कसैले रोक्दैन। यो एउटा अवसर हो यसलाई खेर जान दिनु हुँदैन। आफ्नो शासन सञ्चालन शैली र जनतालाई दिने नतिजाले आफूलाई सच्याएर एउटा असल शासकको रूपमा आफूलाई स्थापित गर्नुपर्छ। तर, अहिले देउवाका अगाडि विभिन्न चुनौती भने देखिन्छन्। यो कांग्रेसको एकल बहुमतको सरकार होइन। त्यसैले पनि गठबन्धनमा रहेका दलका माग र चाहना पूरा गर्नुपर्ने अवस्था आउँछ। यहाँ कांग्रेसले चाहेर मात्र निर्णय लिन सक्दैन। अन्य दललाई पनि मिलाउनुपर्ने देखिन्छ। यो एउटा ठूलो चुनौती हो। देउवा प्रधानमन्त्री भएको केही दिनमै संवैधानिक नियुक्तिहरू परिवर्तन गर्ने हल्ला चलेका छन्। उत्तेजनामा आएर कांग्रेस नेतृत्वको सरकारले त्यो फैसला गर्नु हुँदैन। अहिले संवैधानिक नियुक्तिमा रहेका कर्मचारीहरूलाई पूर्ण समय काम गर्न दिनुपर्छ। उनीहरू काम गर्न सक्दैनन् भने राजीनामा दिन सक्छन् तर सरकारले निकाल्नुु भने हुँदैन।
कांग्रेसको सरकार आउनेबित्तिकै मोहम्मद अफताब आलमको चर्चा पनि चुलिन थालेको छ। उनका बारेमा खबरहरू आइरहेका छन्। यदि देउवा सरकारले आलमलाई छुटाउन कुनै पनि भूमिका खेल्यो भने त्यो नेपाली कांग्रेसका लागि राम्रो हुने छैन। अहिले नेपाली जनताले सरकारका हरेक कामलाई नियालिरहेको अवस्था छ। यस्तो अवस्थामा कांग्रेसले गैरसंवैधानिक काम गर्छ भने यसअघिको ओली सरकार र देउवामा के नै भिन्नता रहन्छ र ? त्यसैले पनि यसतर्फ ध्यान दिनुपर्छ। साथै देउवा सरकारका लागि अहिले निकै महŒवपूर्ण र कठिन मानिएको एउटा विषय एमसीसी सम्झौता पनि हो। कांग्रेसको सरकार आएपछि एमसीसी पारित हुने हल्ला चल्न थालेको छ। यसलाई ओली सरकारले पनि पारित गराउन कोसिस गरेको थियो तर सकेन। अब एमसीसीलाई देउवाको पालामा पारित गराउन जोडबल गरिनेछ।
अमेरिका जस्तो शक्ति राष्ट्रको दबाबलाई देउवाले झेल्न सक्छन् वा सक्दैनन् भन्ने पनि अबको प्रश्न हो। यदि एमसीसी पास भयो भने त्यसले कांग्रेसको साख ह्वात्तै घटाउने देखिन्छ। त्यसैले पनि देउवाले त्यसतर्फ ध्यान दिनुपर्छ। कसरी हुन्छ एमसीसीलाई पछाडि धकेल्न कोसिस गर्नुपर्छ। अन्यथा नतिजा निकै भयानक हुन सक्छ। त्यसैले महासंकटको समयमा आएको सरकारलाई आर्थिक समृद्धिदेखि यस्ता थुप्रै चुनौती आइपरेका छन्। ती चुनौतीहरूलाई अवसरको रूपमा प्रयोग गरेर कांग्रेस अगाडि बढ्यो भने देश र जनताको मन पक्कै पनि जित्ने छ। चुनावसम्म सरकार टिक्यो भने जनताको हकहितमा काम गर्न सक्नेछ। देउवा सरकारको पालामा देशले आर्थिक समृद्धि देख्न पाउलान् नपाउलान् त्यो भने हेर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस !