तुइन जिन्दगी : भन्छन् - भीरको बाटोभन्दा जोखिमपूर्ण तुइनकै सहायता जाति
जाजरकोट : तत्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफ्नो पहिलो कार्यकालको दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै ओलीले गरेको पहिलो निर्णय थियो यो ।
आर्थिक वर्ष २०७२/०७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो तर तुइन भने अझैं विस्थापन भइसकेका छैनन् । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
पूर्वी जाजरकोटको नलगाड नगरपालिका १ को ठुलाबगर र वडा नं.८ मैदे मालुवातराबाट भेरी नदी तरेर रुकुम जान तुईनको सहारा लिनुपर्ने बाध्यता छ । त्यस्तै पश्चिम जाजरकोटको शिवालय गाँउपालिकाबाट छेडागाड (ठुलो खोलालाई गाड भनिन्छ ) तरेर छेडागाड नगरपालिकाको कार्कीगाँउ जान शिवालय गाँउपालिका १ सालतडा र शिवालय गाँउपालिका ९ बालुवामा तुइनको व्यवस्था छ । त्यही तुइनको साहाराबाट स्थानीय वारपार गर्छन्।
जाजरकोटको शिवालय गाँउपालिका १ का मनवीर पुन नदी तरेर पारीपट्टी जानु परे तुइनकै साहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै साहारा लिनु परेको उनको भनाइ छ ।
झोलुङ्गे पुलको लागि पटकपटक माग गरेपनि सुनुवाइ नहुँदा जोखिम मोलेरै तुनइबाट वारपार गर्नु परेको उनले गुनासो गरे । शिवालय गाँउपालिका १ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाँउ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयले वषौंदेखि तुइनको साहारा लिने गरेका छन् । तुइननहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो ।
वर्षातको समयमा ५ घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गर्थ्यौं छेडागाड नगरपालिका १२ कार्कीगाँउका चक्रु सिंहले भने, ‘चिन्डा, नाउ (डुङ्गा) लगायतका साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ वर्ष अघि तुइन बनेपछि जोखिम भएपनि केही सहज त भएको छ । तर महिला, बालबालिका र जेष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।’
त्यस्तै नलगाड १ ठुलाबगरकाका स्थानीय वर्षौदेखि तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । स्कुले बालबालिका, वृद्धवृद्धालगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ ।
ठुलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका एक सय घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भरमा वारपार गर्न वाध्य भएको छ भने शिक्षक र विद्यार्थीहरु पनि यसैगरी तुइनबाटै नदी वारपार गर्नुपर्ने बाध्यता स्थानीय अमर पुनले बताए ।
तुइन तरेरै जिन्दगी वित्न थालेको स्थानीयको गुनासो छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेड् घण्टा समय लाग्छ । त्यो पनि जोखिमपुर्ण भीरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यान समेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको नलगाड १ ठुलाबगरका वीरबहादुर पुनले बताए ।
प्रतिक्रिया दिनुहोस !