चोरी भएको छिन्नमस्ताको मुकुटसहित युवक पक्राउ
राजविराज : नेपालकै प्रसिद्ध शक्तिपिठमध्येको छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित सोमबार एक युवक पक्राउ परेका छन्। चोरी भएको ७ सय ५० ग्रामको चाँदीको मुकुट, सुनको टिका र नथियासहित सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पिठाधिश महन्थ ठाकुरका अनुसार आइतबार राति करिब ७ बजे सरसफाइका लागि मन्दिरका पुजारीहरू पोखरीमा पानी लिन गएको बेला मुकुट चोरी भएको थियो। चोरी गरेर मुकुट घर लगेका मण्डलले बिहान आफैंले भगवतीको मुकुट ल्याएको र गाउँमा मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिंडेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जयप्रकाश यादवले बताए। चाँदीको मुकुट, सुनको टिका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। एसपी धमलाका अनुसार चोरीको मुकुटसहित पक्राउ परेका मण्डलको मानसिक स्वास्थ्य ठिक नरहेको जस्तो व्यवहार गरिरहेका छन्।
चोरीको घटना बाहिरिए पछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेका थिए। चोरीको अनुसन्धानका लागि राति नै सीमा नाकालाई सिल गरी ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको थियो। मन्दिरमा जडान गरिएको सिसिटिभीको तार काटिएको र मन्दिरको संरक्षणमा लापरवाही भएको भन्दै मन्दिरमा राति नै भेला भएका गाउँलेहरूले चर्को विरोध गरेका छन्।
सप्तरीको राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका–३ स्थित ठूलो पोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता भगवतीको मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित छ। यहाँ विशेषगरी दशैंको घटस्थापनादेखि भक्तजनहरूको भीड लाग्ने गर्छ। छिन्नमस्ताको दर्शनका लागि भारतसहित देशैभरीका भक्तजनहरू पुग्ने गर्छन्।
भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ। सखडेश्वरीको मस्तक अर्थात शिर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेका हुन्।
ऐतिहासिक पक्ष
प्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए।
आफ्ना भाइ–भारदारको दबाबका कारण छोरा कुमार हरिसिंह देवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन तत्कालीन राजा शक्रसिंह सप्तरीको सखडा क्षेत्र गएको किम्वदन्ती छ। त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो। राजा शक्रसिंहलाई भगवतीले सपनामा तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौ। ती मूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ भनिन्।
देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ। सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीको वेवसाइटमा उल्लेख छ।
त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो।
एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त गरेका थिए। मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याक्दिएको भनाइ छ।
मुसलमानी आक्रमणपछि सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ। मन्दिरको पूर्वपटी घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ। यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन्।
मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करीब एक सय ३० वर्ष अघि सखडाको भगवती मन्दिर भग्नाशेष अवस्थामा थियो। जसलाई स्थानीय बासिन्दा च्याखुरी नानी प्याकुरेलले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेकी थिइन। सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा फेरि भत्किन पुग्यो। त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामिण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए।
वि.स.२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवन साथै तीन कोठे धर्मशाला बनाइयो। त्यसपछि वि.सं. २०४४ सालमा तत्कालीन राजा विरेन्द्र विरविक्रम शाह भगवतीको दर्शनार्थ जाँदा पाँच लाख रुपैयाँ चन्दा दिए। सो रकमबाट तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए।
मन्दिर
मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ। उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ। मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ। ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ।
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेंडा, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको पिठाधिश महाकान्त ठाकुर बताउँछन्। प्रत्येक दिन बली चढ्ने मन्दिरमा बडा दसैँमा सयौं बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ। मनोकामना पूरा भएकाहरूले पञ्चबलि समेत गर्छन्। यहाँ वर्षेनी ३० हजार भन्दा बढी बलि दिने गरेको विश्वास गरिन्छ।
पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ। पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ। यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको जनविश्वास र आस्था रहेको छ।