पुजारीहरू जब भट्टी छिरे
![पुजारीहरू जब भट्टी छिरे](https://annapurnapost.prixacdn.net/media/albums/Chhinnamasta-Temple-2_20210804020310_c0RTDMrJHQ.jpg)
राजविराज : प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक (टाउको) आइतबार राति चोरी भयो। जुन ६ दशकअघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मन्दिरमा चढाएका हुन्। ५ सय ग्राम चाँदीको मस्तकको नाकमा सुनको टीका र नथिया छ। भारतको न्यौर पुगेका पीठाधिश महाकान्त ठाकुरलाई उनका छोरा दीपकले फोनबाट यही महत्वपूर्ण सामान चोरी भएको जानकारी गराए।
त्यसको खबर पाएर सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी राजेन्द्रप्रसाद धमला, सशस्त्रका एसपी राजु श्रेष्ठ घटनास्थल पुगे। मस्तक भारत पुर्याउन सक्ने आंकलन गर्दै सीमा क्षेत्र सिल गरियो। व्यापक रूपमा प्रहरी परिचालन भए। स्थानीयदेखि जनप्रतिनिधि हुँदै प्रहरी, प्रशासनका अधिकारी तनावमा परे।
तर, सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले ठूली आमालाई कोठामा लगेर देवीको मस्तक देखाए। घरपरिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे। वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादवलाई दिए।
चोरी भएको १२ घण्टाभित्र भगवतीको मस्तकसहित आरोपित राजेश घरमै फेला परे। सुत्ने कोठामै रहेको पूजा गर्ने स्थानबाट मस्तक प्रहरीले बरामद गर्यो। राजेश गाउँमै मन्दिर स्थापना गर्न भगवतीको मस्तक ल्याएको भनी बरबराइरहेका थिए। प्रहरीले घटना भएकै राति आठ पुजारीलाई नियन्त्रणमा लिएको थियो। १२–१५ घण्टासम्म सोधपुछ गरेर छाडियो।
पीठाधिश महाकान्तलगायत मूल पुजारी उमेश ठाकुर छोराको मृत्युका कारण एक सातादेखि आशौच बारिरहेका छन्। त्यस दिनको ड्युटीमा रहेका पुजारी सुनीलकुमार मिश्र आइतबार साँझ पर्नासाथ मन्दिरको ढोका नलगाई होटलतिर छिरे। मन्दिरको मुख्यद्वारमै रहेको होटलमा उनले घरेलु मदिरा पिए। अर्का पुजारी गौरीशंकर ठाकुरले पनि मदिरा पिए। पुजारी श्रवणकुमार ठाकुरले कोरेक्स सेवन गरेको जनाइएको छ।
मन्दिरसँगै टाँसिएर एक दर्जन मदिरा पसल छन्। ऐतिहासिक महत्वको मन्दिरनजिक दर्जनौं संख्यामा जथाभावी मदिरा व्यवसाय सञ्चालन गर्न दिइएको छ। मन्दिर दर्शन गर्न आउने बहानामा कतिपय भक्तसमेत झुम्मिँदै झगडा गरिरहेका भेटिन्छन्। पुजारीहरूले त नियमित रूपमा मदिरा सेवन गर्ने गरेको छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्र यादवले बताए। मदिरा ऐन र नियमावलीविपरीत मन्दिरको सौन्दर्य बिगार्ने गरी खुलेका मदिरा, माछा, मासु पसल बन्द गर्न प्रयास गरे पनि नसकिएको यादवको भनाइ छ।
मदिरा पिउने हतारोले पुजारीहरू त्यस साँझ मन्दिरको ढोका खुलै राखेर होटल गएको पाइएको छ। साँझ ७ बजे मन्दिर प्रवेश गरेका राजेशले भगवतीको मस्तक सहजै निकालेर लगेको अनुसन्धानबाट खुलेको छ। पीठाधिश महाकान्तका अनुसार सीसीटिभी क्यामेरा भने दुई महिनादेखि बिग्रिएको छ।
राजेश मानसिक रोगी भएकैले सहजै मस्तक फेला परेको उनका छिमेकी श्यामसुन्दर मण्डलले बताए। दाजु रामबाबुका अनुसार राजेश मलेसियाबाट तीन वर्षअघि आएपछि नै मानसिक रूपमा अस्वस्थ्य बनेका हुन्। सुरुमा भारतको दरभंगा र हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ।
राजेश मानसिक रोगी भएको रामबाबुको दाबी वडाध्यक्ष जिवछले स्वीकार गरे। राजेशले यसअघि पनि गाउँकै रामजानकी मन्दिरबाट मूर्ति चोरेर घर ल्याएको स्मरण जिवछले गरे।
सहजै मस्तक फेला परेको भनेर घटनालाई गम्भीरतापूर्वक नलिए ठूलो दुर्घटना हुन सक्ने वडाध्यक्ष यादवको भनाइ छ। ऐतिहासिक पुरातात्विक महत्वको मन्दिरको सुरक्षाप्रति जिम्मेवारी र दायित्व निश्चित हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)