नुवाकोट कल्याणपुरका बस्ती पहिराको जोखिममा
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरका बस्ती पहिराको जोखिममा परेको छ। स्थानीयवासीले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
विदुर नगरपालिका १३ रानिश्वारास्थित बस्ती जोखिममा परेको स्थानीयको गुनासो छ। बर्खामा परेको पानीको भेलले बस्ती जोखिममा पर्नुका साथै निर्माण गरिएको सडकका ट्रयाकहरु धुजा हुनुको साथै चिराचिरा परेको जनाइएको छ।
मध्यपहाडी लोकमार्गको देउडी–देवीघाटखण्ड अन्तर्गत रानीश्वारामा बर्खा लागेपछि नयाँ ट्रयाक खोल्न सुरु गरेको थियो। बर्खायाममा मेसिन लगाएर ट्रयाक खोल्दा बस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत भासिएको स्थानीय बताउँछन्।
सार्वजनिक वनक्षेत्र पहिरोको जोखिममा परेको स्थानीयहरु बताउँछन्। बर्खायाममा मध्यपहाडी लोकमार्गको नयाँ ट्रयाक विस्तारको क्रममा समस्या आएको स्थानीयको गुनासो रहेको छ।
स्थानीयले पहिरोको जोखिमलाई न्युनीकरण गर्न र उच्च जोखिम घरहरूको सुरक्षित व्यवस्था गर्न विदुर–१३ नं. वडा कार्यालय तथा सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराएका छन्। सडकमार्गको सडक निर्माणको र बर्खाको कारण माथिल्लो रानिश्वारा र तल्लो रानिश्वाराका तीन घर उच्च जोखिम रहेको स्थानीय श्रीकृष्ण ठकुरीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोट विदुरमा यही साउन १२ गते जिल्ला अधिकारी जीवनप्रसाद दुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद व्यवस्थापन समितिले मनसुनजन्य विपद प्रभावितका लागि निजी आवास निर्माण, विपद् उद्धारका लागि तयारी र विपद प्रतिकार्य योजना कार्यन्वयन गर्न निर्णय गरेको थियो। बर्खा लागेसँगै नुवाकोटका अधिकांश पहाडी भेगमा पहिराको चपेटा बढेको छ।