बाढीले तिलाठी कोइलाडीको दलित बस्ती डुबानमा
राजविराजः अविरल वर्षाले जीता नदीको बाँध भत्किँदा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनको दलित बस्तीमा बाढी पसेको छ । जीतासँगै विभिन्न नदी, खोलाहरूमा पानीको बहाव बढेर तटीय बस्तीहरूमा घरहरू डुबानमा परेर जोखिम बढेको छ ।
कोइलाडी बर्साइनको राम टोल, खंग टोल र सरदार टोलमा बाढी पसेर १ सय ५० घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाले जनाएको छ । सप्तकोशी नदी लगायत जिल्लाको खाँडो, महुली, बलान, खडक, त्रियुगालगायत नदी–खोलामा पनि पानीको सतह बढेसँगै जोखिम बढेको छ ।
सोमबार रातभर परेको पानीका कारण आएको बाढीले जीता नदीमा बाँध भत्किँदा सयौं विघामा लगाइएको धानबाली समेत डुबानमा परेको छ । कोइलाडी बर्साइनस्थित दलित बस्तीमा बाढी पसेपछि प्रहरी, जनप्रतिनिधि, कर्मचारी र समाजसेवीहरु सहयोगका लागि डुबानमा परेको बस्ती पुगेका छन् । घरमा पानी पसेर खाना पकाउन समस्या भएको र खानेपानीको ट्यूबेल डुबानमा पर्दा स्वच्छ खानेपानीको समस्या भएको विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।
झाका अनुसार दलित बस्तीमा करिब चार फिटसम्म पानी जमेको छ । स्थानीय छ जनाको फुसको घर भत्किएको र दर्जनौँ फुसको घर भत्किने जोखिम बढेको उनले बताए । बाढी प्रभावितहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालित भएको छ ।
जीता र खाँडो खोलाले तिलाठी–कोइलाडी गाउँपालिकालाई प्रभावित बनाउँदै आएको छ । लगातारको वर्षाको पानी निकास नभएर तथा बाँध भत्किएर गाउँहरु डुबानमा पर्ने गरेका छन् । सामान्य वर्षामा समेत हिंडडुल गर्न नसकिने जिल्लाको मुख्य सडक खण्डलगायत ग्रामीण भेग र राजविराजको सडक, बाटो हिँड्न कष्टकर भएको छ । वर्षेनी सडक, बाटोमा करौडौं रकम खर्च हुँदै आए पनि बाटोहरु झन हिलाम्ये भएर हिँड्नै नसकिने अवस्थामा पुगेको राजविराजका कलिम खानले बताए । नदी, खोलामा बाढी आई तटीय र होचा क्षेत्र डुबानमा परेको छ ।