नुवाकोटमा पहिरोमा परेर एकजनाको मृत्यु, रसुवामा चारजना बेपत्ता
नुवाकोट : अविरल वर्षासँगै माथिबाट आएको पहिरोले पुरिएर नुवाकोटको कालधारमा एक जनाको ज्यान गएको छ। रसुवामा घर पुरिंदा चार जना बेपत्ता हुनुका साथै एक जना गम्भीर घाइते भएका छन्।
पहिरो पन्छाउने क्रममा पुनः अर्को पहिरो आएर पुरिंदा नुवाकोटको दक्षिणी भेगमा रहेको बेलकोटगढी नगरपालिका वडा नं. ५ कालधाराका ४० वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। उनका अनुसार बिहीबार बिहान सवा तीन बजे घर पछाडि करेसामा खसेको पहिरो पन्छाउने क्रममा पुनः अर्को पहिरो आएर पुरिंदा उनको ज्यान गएको हो।
लामिछानेको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ। बर्खाको समयमा सतर्क रहन नुवाकोट प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ।
उता, नुवाकोटको छिमेकी रसुवामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा एकै घरका चार जना बेपत्ता रहेका छन्। पहिराले घर पुरिंदा घरमुली श्यामकुमार तामाङ गम्भीर घाइते भएका छन्। रातीको समयमा पानीसहित आएको पहिराले नौकुण्ड गाउँपालिका वडा नं. ५ कोलडाँडामा घर पुरिंदा तामाङ घाइते भएपछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पठाइएको रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले जानकारी दिइन्। पहिराले घर पुरिंदा तामाङकी श्रीमतीसहित छोराछोरीसमेत गरी चार जना पहिरामै बेपत्ता रहेको थापाको भनाइ छ।
दुर्गम स्थानमा गएको पहिरोमा पुरिएकाहरुको स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले खोजी कार्य जारी राखेको छ। यसैबीच, अविरल वर्षाका कारण आएको पहिराले नुवाकोटमा सडकमार्ग अवरुद्ध भएको छ।
पहिराले त्रिशूली–छहरे–टोखा मार्गको बीचमा रहेको गुरुङगाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। यातायात सुचारु गर्नका लागि पहिरो पन्छाउने कार्य भइरहेको प्रजिअ जीवनप्रसाद दुलालले जानकारी दिए।