अस्पतालबाट बिचौलिया पक्राउ

अस्पतालबाट बिचौलिया पक्राउ

विराटनगर : विराटनगरका ठूला अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई झुक्याएर निजी क्लिनिक एवं फार्मेसी (औषधि पसल) लैजाने धन्दामा संलग्नहरु पक्राउ परेको हो । 

विराटनगरको नोबेल शिक्षण र कोसी अस्पताल आसपासबाट मंगलबार राति १० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनकाअनुसार विराटनगरको नोबेल शिक्षण अस्पताल नजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका-७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर-१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर-४ का १९ वर्षीय सुजित यादव र विराटनगर-५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर-५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर-५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर-३ का १८ वर्षीय अमित यादवलाई पक्राउ गरिएको छ । 

त्यस्तै कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी-६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी-३ का ४२ वर्षीय मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा-२ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनकाअनुसार बिरामी भएर अस्पताल पुगेकाहरुलाई त्यहाँ जान नदिइकन निजी क्लिनिक र फार्मेसीतिर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकामध्ये कतिपयको आफ्नै फार्मेसी छ । कतिपय फार्मेसीका कामदार हुन् । केहीले भने उपचार गराउन जाने बिरामीलाई कमिसनको लोभमा अस्पताल छिर्नै नदिइकन बीचैमा विभिन्न आश्वासन देखाएर आफ्नो सम्पर्कमा रहेका फार्मेसी एवं निजी क्लिनिकतिर लैजाने गरेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । बाटैमा बिरामीलाई फकाईफुल्याई गरेर आफू अनुकूलका फार्मेसीमा लग्दै महँगो मूल्य लिएर औषधि किनाउने धन्दामा पक्राउ परेकाहरुको संलग्नता पाइएको उनले बताए । 

त्यसरी बिरामी लैजाँदा उनीहरुले कमिसन पाउने गरेको पनि प्रहरीले जनाएको छ । ‘बिरामीलाई यो अस्पतालमा राम्रा डाक्टर छैनन्भन्दै निजी क्लिनिकतिर लैजाने गरेको पाइयो। अस्पतालकै फार्मेसीमा सस्तोमा औषधि किन्न नदिइकन आफ्नैतिर तान्ने गर्दा रहेछन्,’ एसपी जिसीले भने, ‘विराटनगरका ठूला अस्पताल छेउछाउमा यस्ता विकृति धेरै भेटियो । सर्वसाधारणको स्वास्थ्य एवं ज्यानमाथि खेलवाड भइरहेको पाइएपछि बिचौलियालाई धमाधम पक्राउ गर्न थालिएको छ ।’ 

उनले यस्तो गलत धन्दा नियन्त्रणमा लिन स्वास्थ्य संस्था केन्द्रित विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए । उनकाअनुसार बिचौलियाले कोरोना महामारीको त्रास देखाउँदै बिरामीलाई अस्पताल जान नदिने गरेको पनि पाइयो । यसरी बिचौलियाबाट ठगिएकाहरुलाई प्रहरीको सम्पर्कमा आउन एसपी जिसीले आग्रह गरेका छन्।

बिचौलियाले अस्पतालमा डाक्टर राम्रा छैनन् तथा अस्पतालबाटै कोरोना फैलिइरहेको भन्दै झुक्याएर बिरामीलाई आफूतिर आकर्षित गरेर ठगी गर्ने गरेको पाइएको बताए । 

पक्राउ परेको गिरोहले बिरामीलाई ‘सेटिङ’का क्लिनिक र निजी फार्मेसीतिर लगेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । 

यसैबीच पक्राउ परेकाहरुलाई तत्काल छाड्नुपर्ने माग राख्दै एउटा समूह जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको थियो । ‘सेटिङ’मा बिरामी ल्याउने गरी निजी क्लिनिक एवं फार्मेसी सञ्चालन गरेर बसेकाहरुले छाड्न दबाब दिए पनि त्यसलाई वास्ता नगरिकन प्रहरीले कारबाही अघि बढाएको हो । 

फार्मेसी सञ्चालक शम्भु मेहताले औषधि पसलमा काम गरिरहेकालाई प्रहरीले बिना कारण पक्राउ गरेको दाबी गरे । ‘किन पक्राउ गरिएको होभन्ने कुनै जानकारी दिइएको छैन,’ उनले भने, ‘बुझ्न खोज्दा प्रहरीले भन्नै मान्दैन ।’ 

प्रहरीले एक साताअघि विराटनगरबाट दुई जना बिचौलियालाई पनि पक्राउ गरेको थियो । न्युरो अस्पताल अगाडिको ज्ञानु फार्मेसीमा काम गर्दै आएका विराटनगर-८ का १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्दकुमार साहलाई प्रहरीले पक्रेको हो । उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई आफ्नो फार्मेसीतिर लगेर औषधि किन्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ । 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.