कोसी नदीको बहाव यस वर्षकै उच्च, स्थानीयहरु त्रसित

कोसी नदीको बहाव यस वर्षकै उच्च, स्थानीयहरु त्रसित

राजविराजः चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।

केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरु त्रसित बनेका हुन् । कोसीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तिब्र कटान थालेको छ । कटान तिब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सजक रहन अनुरोध गरेका छन् ।

उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको बताए ।

भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोसी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोसी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तिब्र सम्भावना रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहलाई सतर्क रहन र तयारी अवस्थामा रहन सूचना जारी गरेको छ । सूचनामा आगामी ३ दिनसम्म ठूला तथा साना सहायक नदीहरुको तल्लो तटीय होचा तथा डुबान क्षेत्रका बासिन्दाहरुको जिउधनको सुरक्षाका लागि तत्काल आवश्यक तयारी गर्न र आवश्यक सतर्कता तथा समन्वय गर्न अनुरोध गरिएको छ ।

नेपालको सबैभन्दा ठूलो नदी कोसीका सहायक नदीहरू अरूण, तमोर, सुनकोसी, भोटेकोसी, लिखु, तामाकोसी, इन्द्रावती हुन्। पहाडी क्षेत्र र पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले उक्त सहायक नदीहरुको जलस्तर बढ्नाले कोसीको वहान अझै बढ्नसक्ने अनुमान गरिएको छ । साँझ ६ बजे गरिएको मापनमा २ लाख ७० हजार ३०० क्युसेक प्रतिसेकेण्ड बहाव भए पनि उतारचढाव भइरहने कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ । जसका कारणसमेत कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ । जलस्तर कमी नभएकाले तटबन्धहरुमा दवाव बढ्दै गएको छ ।

हिमालयबाट उत्पत्ति भएका सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्छन् । सुनसरीको लौकही र सप्तरीको भारदहको बीचमा बनेको कोसी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्छन् । भारतको बिहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्ने नदीले वर्षायाममा बाढी आउँदा सप्तरी, सुनसरी, उदयपुर हुँदै भारतको बिहारलाई डुबानमा पार्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.