ब्राउन सुगर बरामद
![ब्राउन सुगर बरामद](https://annapurnapost.prixacdn.net/media/albums/brown-sugar_20210901104733_jAipGJvHUj.jpg)
राजविराज : सप्तरीको हनुमान नगरबाट ठूलो परिमाणमा प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । घरमै भण्डारण गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले तीन किसिमका ब्राउन सुगर बरामद गरेको हो ।
हनुमाननगर कंकालिनी नगरपालिका-८ का धिरेन भनिने धिरेन्द्रकुमार यादवको घर कोठाबाट १२२.३६ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादवको घर खानतलासी गर्दा खैरो ब्राउन सुगर ४६.६४ ग्राम, सेतो ब्राउन सुगर ५०.६६ ग्राम र कालो ब्राउन सुगर २५.०६ ग्राम बरामद भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यादव र हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने शम्भु कविरथसमेत भएको लागुऔषध मुद्दाको अनुसन्धान तथा कारवाही सुनसरी प्रहरीले गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार इलाका प्रहरी कार्यालय लौकही सुनसरीको पत्र जाहेरीले यादवको घर सप्तरी प्रहरीले खानतलासी गरेको हो ।
इलाका प्रहरी कार्यालय लौकहीका टोलिले सुनसरी जिल्ला कोशी गाँउपालिका-८ भण्टाबारीबाट ब्राउन सुगरसहित ४० बर्षीय शम्भुलाई जेठ २७ गते पक्राउ गरेको थियो। शम्भुवाट ९.५४० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।
यसअघि सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-७ का २७ वर्षीय भरत शर्मा र उनका भाई १९ वर्षीय निरज शर्मालाई गत कात्तिक १ गते ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाका अनुसार भारतबाट ल्याइने लागु औषध उदयपुर र धरानलगायतका ठाउँमा जाने गरेको छ । तर जति लागु पदार्थको कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति र चेकजाँच गर्ने किटको अभाव रहेको उनले बताए ।
नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने नाकाहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा र काँकडभिट्टा प्रमुख हुन् । सेवनकर्ता वृद्धि भएसँगै सप्तरी, सुनसरीमा पनि लागु पदार्थ कारोबारी सक्रिय हुन थालेको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)