उपेन्द्र यादवकै कारण मन्त्रिपरिषद विस्तार हुन सकेन: विमल श्रीवास्तव
वीरगन्जः पूर्व श्रम तथा रोजगार मन्त्री विमल श्रीवास्तवले जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकै कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको आरोप लगाएका छन् । उपेन्द्रले आफूलाई उपप्रधानमन्त्री दिनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको उनको आरोप छ ।
यस्तै नेता श्रीवास्तवले यादवलाई 'मधेस बेचुवा' र 'बहुरुपीया'को संज्ञा दिएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लाण्टको बुधबार उद्घाटन कार्यक्रममा पूर्वमन्त्री श्रीवास्तवले यस्तो आरोप लगाएका हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा श्रीवास्तव तत्कालीन विजय गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वीरगन्ज महानगरको मेयरमा चुनाव लडेका थिए । मेयरमा पराजित भएपछि २०७४ मै भएको प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा श्रीवास्तवलाई उपेन्द्र यादवले महोत्तरी बर्दिवासको एक होटलमा बोलाएर आफनो पार्टीमा प्रवेश गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारमा जसपाका महन्थ ठाकुर सहभागी भएपछि उपेन्द्रलाई छाडेर ठाकुर समूहमा लागेका श्रीवास्तव श्रम तथा रोजगार मन्त्री बनेका थिए । हाल दल विभाजन भएपछि श्रीवास्तव ठाकुर नेतृत्वको लोसपामा लागेका छन् ।