नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालन
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालनमा आएको छ । दैनिक १ सय ४ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लाण्ट बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
बुधबार पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवको स्थानीय पूर्वाधार विकास साझेदारी क्रार्यक्रमबाट उपलब्ध गराइएको रकमबाट वीरगन्ज महानगरपालिका कार्यालयले अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गरेको हो ।
श्रीवास्तवको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत १ करोड ५० लाख रुपैया र महानगरपालिकाको १२ लाख रुपैयाँ गरी कुल १ करोड ६२ लाख रुपैयाँको लागतमा अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गरिएको हो।
बुधबार सांसद श्रीवास्तवले उद्घाटन गरेसँगै अक्सिजन प्लाण्ट सञ्चालनमा आएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानले बताए । उक्त प्लाण्टबाट दैनिक १ सय ४ सिलिण्डर अक्सिजन उत्पादन हुने उनले जानकारी दिए ।
अस्पताले अक्सिजन उत्पादन गर्न थालेपछि बिरामीको उपचारमा अब पहिलेको जस्तो समस्या नहुने अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए । अस्पतालका कोभिड संयोजक समेत रहेका डाक्टर सिंहले भने ,‘पहिलो लहरभन्दा पनि दोश्रो लहरमा अक्सिजन समयमै अस्पतालमा आपुर्ति नहुँदा कैयौं बिरामीले ज्यान गुमाउनु परेको थियो, तर अब अक्सिजनको अभावमा कोहि पनि बिरामीले ज्यान गुमाउनु पर्दैन ।'
सिंहका अनुसार, कोभिड संक्रमणको दोश्रो लहरमा संक्रमण उच्च भएकाले बिरामीको चाप अत्याधिक थियो । बाहिरबाट अक्सिजन मगाउनु पर्ने बाध्यता थियो । समयमै अक्सिजन आपुर्ति हुन नसक्दा र अक्सिजन नआइपुग्दा कतिपयले ज्यान पनि गुमाउनु परेको थियो । तर अब अस्पताल आफैले प्लाण्ट निर्माण गरी सञ्चालनमा ल्याएकाले समस्या नहुने उनले बताए ।
उनले अक्सिजन प्लाण्टले अस्पतालाई आवश्यक पर्ने परिमाणको अक्सिजन उत्पादन गर्ने बताए । अक्सिजन प्लाण्ट सञ्चालनमा आएपछि अस्पतालको आर्थिक भार पनि घटेको निमित्त मेसु डाक्टर प्रधानले बताए । उनले भने ,‘दोश्रो लहरका बेला अक्सिजन खरिदमा मात्रै अस्पतालको १ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो , तर अब आफनै प्लाण्ट सञ्चालनमा आएपछि अक्सिजन खरिदमा लाग्ने अस्पतालको रकम बच्छ ।
बिरामीको बेडसम्म अक्सिजन पाइपलाइन जडान
नारायणी अस्पतालमै विभिन्न दाताहरुको सहयोगमा अक्सिजन पाइपलाइन पनि जडान गरिएको छ । व्यापारिक घरानाहरुले उपलब्ध गराएको ७० लाख रुपैयाँभन्दा बढीको लागतमा अस्पतालका सबै वार्डमा अक्सिजन पाइपलाइन जडान गरिएको हो।
बिरामी राख्ने शैयासम्म नै पाइपलाइन जडान भएपछि नारायणी अस्पतालमा अब बिरामीको उपचारका क्रममा अक्सिजन दिनुपर्ने भए अक्सिजन सिलिण्डर बोक्नु पर्ने झण्झट पनि हटेको छ ।
त्रिवेणी ग्रुपले २३ लाख रुपैयाँको लागतमा बाल सघन चिकित्सा कक्षमा, क्याल ग्रुपले २० लाख रुपैयाँको लागतमा मेडिकल वार्डमा ,नेपाल फर्मास्युटिकल्स कम्पनीले १७ लाख रुपैयाँको लागतमा सर्जिकल वार्डमा पाइपलाइन जडान गरेको हो ।
यस्तै सूर्य नेपाल टोबाकोको १३ लाख रुपैयाँको सहयोग र अस्पतालको आफनै रकमले आकस्मिक कक्ष र एचडीयू वार्डमा पनि पाइपलाइन जडान गकरिएको निमित्त मेसु डाक्टर प्रधानले बताए ।