विपन्न बालबालिकालाई ८० लाखको छात्रावास भवन
वीरगन्जः वीरगन्जमा जनजाति कल्याण आश्रमले सञ्चालन गरेको आमाको माया छात्रावासको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।
जनजाति समुदायका गरिब तथा अति विपन्न परिवारका बालबालिकाको आवासीय सहितको शिक्षाका लागि वीरगन्ज महानगरपालिका १० बजरङग टोलमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरिएको हो ।
२४ धुर जग्गामा दाताहरुको सहयोगमा ८० लाख रुपैयाँको लागतमा छात्रावास भवन निर्माण गरिएएको हो । छात्रावासको नवनिर्मित भवनको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक सोमायाजुलु र दाता परिवारका सदस्य मुरलीधर रुगंटाले गरेका हुन् ।
उक्त छात्रावासमा मुलुकका विभिन्न दुर्गम क्षेत्रबाट आएका गरिब तथा विपन्न परिवारका २२ जना बालबालिकाहरुले आश्रय लिएका छन् ।
ती बालबालिकाहरु दाताहरुको सहयोगमा वीरगन्जका विभिन्न विद्यालयमा निशुल्क अध्ययन गरिरहेका छन् । छात्रावासमा उनीहरुको गासबास पनि निशुल्क उपलब्ध छ ।
छात्रावास भवनको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले नेपालको संस्कृति संकटमा पर्न थालेको भन्दै जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास मार्फत गरिब तथा अति विपन्न परिवारका बालबालिकालाई गास, बास र शिक्षाको लागि पुर्याउँदै आएको योगदान सराहानीय रहेको पनि बताए ।
जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले जनजाति कल्याण आश्रमले जनजाति समुदायमध्ये केही प्रभावित जनजातिहरुलाई मूल प्रभावमा ल्याउने काम गरिरहेको बताए ।
दुई दशकअघि वीरगन्जबाट सुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाडा रहेका सयौँ बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दैआएको बताए ।
आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायतको सहभागिता थियो ।