अझै खुलेन हवाई संग्रहालय

अझै खुलेन हवाई संग्रहालय

काठमाडौं : वाइडबडीलाई नै संग्रहालय बनाइएको सिनामंगलस्थित एभियसन म्युजियम (हवाई संग्रहालय) संसारकै पहिलो हो। तर, कोभिडको दोस्रो लहर सुरुसँगै करिब पाँच महिनादेखि यो संग्रहालय बन्द छ। 

संग्रहालय बन्द भए पनि नियमित खर्चका कारण मासिक करिब आठ लाख रुपैयाँ घाटा व्यहोरिरहेको छ। लकडाउन खुकुलो भएसँगै सबै क्षेत्र खुले पनि हवाई संग्रहालय बन्द छ। संग्रहालय खुलाउने सरकारको पहल नभएको सञ्चालक वेद उप्रेती बताउँछन्। 

पहिलो लकडाउनमा भाडामा करिब ५० प्रतिशतको छुट पाए पनि यो लकडाउनमा भने छुट पाउन नसकिएको उनको भनाइ छ। मासिक भाडा, ब्याज, कर्मचारी खर्च, बत्ती–पानीको बिल सबै गरेर करिब आठ लाखको नोक्सानी व्यहोर्दै आएको सञ्चालक बताउँछन्। लकडाउन पछिको पाँच महिनाको अवधिमा ४० लाखको हाराहारीमा संग्रहालयले घाटा व्यहोरेको छ। 

सन् २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्स ३३०–३०० सिरिजकोे जहाज दुर्घटना भएको थियो। उड्न अयोग्य भएर दुई वर्ष विमानस्थलमा थन्किएको जहाजलाई डँडेलधुराका विमान चालक वेद उप्रेतीले ट्रस्ट खोली करिब दुई करोडमा खरिद गरेका थिए। प्राधिकरणसँगको सहकार्यमा जहाज खरिद गरी संग्रहालयमा परिणत गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। सहकार्य गरिएको भए पनि प्राधिकरणको लगानी भने यसमा छैन। प्राधिकरणले सिनामंगलमा आफ्नो स्वामित्वमा रहेको आठ हजार वर्गमिटर जग्गा १० वर्षका लागि भाडामा दिएको छ। तर अहिले करिब १० रोपनी जग्गा मात्र लिएको संग्रहालयले जनाएको छ। 

कोभिड अघि संग्रहालयमा आउने नेपाली नागरिकका लागि करिब २ सय ५०, विद्यार्थीका लागि १ सय २५ र विदेशीका लागि करिब पाँच सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालयको सिफारिसमा माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीका लागि टिकट शुल्क छुट थियो। टर्किस एयरलाइन्सको उक्त जहाज करिब आठ महिना मात्रै आकाशमा उडेको थियो। दुर्भाग्यवश काठमाडौं विमानस्थलमा दुर्घटना भएको उक्त जहाज किन्ने भाग्य उप्रेतीले पाएका थिए। टर्किसले यसलाई पूरै ड्यामेज गर्ने योजना बनाएको थियो। जहाज मर्मत गर्दा अर्बौं लाग्ने, समय पनि धेरै लाग्ने जस्ता कारणले एयरलाइन्सले सस्तो मूल्यमा जहाज बिक्री गरेको थियो। टर्किसले उक्त जहाजको बिमाबापतको रकम पनि असुल गरिसकेकाले सस्तोमा नै बेचेको थियो। एयरलाइन्सले टेन्डर भने आह्वान गरेको थिएन।

उक्त संग्रहालयमा संसारमा राइट ब्रदर्सले १९०३ विमानको आविष्कारपछिको इतिहास पाउन सकिन्छ। एयरफोर्सको इतिहास, प्रथम तथा द्वितीय विश्वयुद्धमा प्रयोग भएका एयरक्राफ्टका जानकारी तथा डकुमेन्ट्री, कमर्सियल एयरलाइन्सको विकास र मोडलका बारेमा संग्रहालयमा जानकारी पाउन सकिन्छ। नेपालको आकाशमा उडेका जहाजका मोडेल पनि राखिएको छ। उक्त जहाजभित्र सात वटा हल छन्। एभियसनको बारेमा जान्नका लागि विश्व हवाईको विकासको सम्पूर्ण जानकारी पाउन सकिन्छ। 

पर्यटकीय दृष्टिकोणले पनि प्राथमिकतामा पर्नुपर्ने यो संग्रहालय कोभिडको मारसँगै सरकारको पनि उपेक्षामा परेको छ। दोस्रो लहरको सुरुदेखि बन्द भए पनि प्राधिकरणलाई नियमित तवरले भाडा बुझाउँदै आइरहेको छ। यो पटक छुट दिन प्राधिकरणले वास्ता नगरेको उप्रेती बताउँछन्। छुटलगायतका सुविधाबारेमा संग्रहालयबाट जानकारी नआएको प्राधिकरणका प्रवक्ता क्षेत्रीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.