राजमार्ग सञ्चालन हुन हप्ता दिन लाग्ने
परासी : पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको पक्की पुल मर्मत नहुँदा हप्ता दिनदेखि अवरुद्ध भएको राजमार्ग सुचारू हुन सकेको छैन। पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने उक्त पुलको पिलरलाई भदौ ११ को बाढीले क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध भएको हो।
पिलरमा भएको क्षतिले पुल पुरै लच्किएको छ। सडक अवरुद्ध भएपछि पूर्व र पश्चिम जाने सवारीसाधन परासी–भैरहवा हुँदै आवतजावत गरेका छन्। पुल तत्काल मर्मत गर्ने अवस्था नरहेकोले सडक सुचारूका लागि बेलिब्रिज राख्ने काम सुरू गरिएको सडक डिभिजन बुटवलका प्रमुख इन्जिनियर जयलाल मरासिनीले जानकारी दिए। काम भइ रहेकाले सडक सुचारू हुन अझ हप्ता दिन लाग्ने उनले जानकारी दिए।