यसरी पक्राउ परेका थिए नक्कली नोट छाप्‍ने गिरोह

यसरी पक्राउ परेका थिए नक्कली नोट छाप्‍ने गिरोह

वीरगन्जः प्रहरीले बारा र रौतहटबाट नक्कली नेपाली नोट छाप्ने र त्यसको कारोबार गर्ने गिरोहलाई नै पक्राउ गरेको छ ।

नेपाल प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) को टोलीले बाराको निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको हो ।

एसटिएफको टोलीले शनिबार बाराको निजगढ ८ स्थित होटल तारा इनमा छापा मारेर त्यहाबाट ३ जनालाई र रौतहटको गुजरा नगरपालिका ३ बलुवाबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका ५ का ३६ वर्षीय विशेश्वर प्रसाद चौधरी, कलैया उपमहानगरपालिका ९ का २४ वर्षीय सागर शुक्ला, बिश्रामपुर गाउँपालिका ५ का २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।

यस्तै रौतहटको गुजरा नगरपालिका ३ बलुवा टोलका २४ वर्षीय सुनिल कुमार राम र सोही ठाउँका ३६ वर्षीय रवीन्द्र कुमार चौधरी पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट एसटिएफको टोलीले नेपाली एक हजारको नक्कली नोट २५ थान, एक हजारकै सक्कली नोट ३९ थान र नक्कली नोट छाप्न तयारी अवस्थामा राखिएको नेपाली एक हजारको नोट आकारकै ९ हजार ३ सय पिस कागजको ९३ वटा गड्डी बरामद गरेको छ ।

प्रहरी श्रोतका अनुसार, पक्राउ परेकाहरुले नेपाली एक हजार दरको नक्कली नोट, सक्कली नोट जस्तै दुरुस्त छापेर आधा मुल्यमा अन्य कारोबारीलाई बिक्री गर्दैआएका थिए ।

एसटिएफको टोलीले पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा. १४. च ९३८२ नम्बरको स्कार्पियो गाडी तथा नेपाली नम्बर प्लेटका २ वटा र भारतीय नम्बर प्लेटका एक वटा गरी ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

एटिएफ टोलीले शनिबार दिनभर अप्रेशन गरेर पक्राउ गरेका पाँचै जनालाई, शनिबार रातभर होटल तारा इनमै राखिएको थियो । आइतबार बिहान मात्र उनीहरुलाई बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो ।

नक्कली नोट सहित पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट आइतबार पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

कसरी पक्राउ पर्‍यो नक्कली नोटको गरोह ?

निजगढको होटल तारा इनमा कोठा भाठामा लिएर एक गिरोहले केही दिनदेखि नक्कली नोटको कारोबार गरिरहेको गोप्य सूचना प्रहरी प्रधान कार्यालयलाई प्राप्त भएको थियो ।

त्यही सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयले काठमाडौँबाट एसटिएफको एक टोली शनिबार निजगढमा पठाएको थियो । शनिबार बिहान ९ बजे तिर काठमाडौँबाट सिधै निजगढ आइपुगेको एसटिएफ टोलीले बारा जिल्लाको प्रहरीलाई समेत खबर नगरी निजगढ ८ स्थित होटेल इनमा प्रवेश गरेर अप्रेशन सुरु गरेको थियो ।

होटलको २ वटा कोठा बुक गरेर बसेको अवस्थामा प्रहरीले बाराका विशेश्वर, सागर र राजुलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरुले नै दिएको बयानका आधारमा एसटिएफको टोलीले शनिबार दिउँसो नै रौतहटको गुजरा नगरपालिका २ मा पुगेर सुनिल र रवीन्द्रलाई पनि नियन्त्रणमा लिएको थियो ।

शनिबार बिहान ९ बजे होटल तारा इनमा पसेर अप्रेशन सुरु गरेको एसटिएफको टोली, पक्राउ परेका पाँचै जनालाई होटल भित्रै बाराको प्रहरीलाई जिम्मा लगाएर बेलुकी ७ बजे तिर मात्रै होटलबाट निस्किएर काठमाडौँ फर्किएको थियो ।

नक्कली नोटको गिरोह 'जग्गा कारोबारी'

होटल तारा इनका सन्चालकका अनुसार, पक्राउ परेका मध्येका तीन जना विगत तीन वर्षदेखि होटलको नियमित ग्राहक थिए । उनीहरुले आफूहरुलाई जग्गाको कारोबारी भनेर परिचय होटल सन्चालकलाई दिएका थिए । होटल सन्चालकका अनुसार, पछिल्लो पटक उनीहरुले होटलको दुई वटा कोठा बुक गरेर बसेका बेला शनिबार प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

काम गर्ने एसटिएफ, तर जस लिने बाराका एसपी

पाँचै जनालाई एसटिएफको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको भए पनि बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले भने आफ्नो मातहतको इलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेको झुठो दावी गरेका छन् ।

आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक शाहीले विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले शनिबार दिउँसो २ बजे होटल तारा इनमा खानतलाशी गरेर गिरोहमा संलग्नहरुलाई पक्राउ गरेको दावी गरेका छन् ।

जब कि बाराको प्रहरीलाई खबर नै नगरी काठमाडौँबाट एसटिएफको टोली सिधै निजगढ आएर शनिबार बिहान ९ बजे नै होटलमा पसेर अप्रेशन सुरु गरेको थियो ।

त्यो देखेर स्थानीय प्रत्यक्षदर्शीले खबर गरेपछि त्यसको २ घण्टापछि मात्रै इलाका प्रहरी कार्यालय निजगढको टोली तारा इन होटलमा पुगेको थियो । सुरुमा एसटिएफको टोलीले इप्रकाका प्रहरीलाई समेत होटलमा प्रवेश गर्न दिएको थिएन ।

तर बाराका प्रहरी उपरीक्षक शाहीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भने एसटिएफको नाम कहीँ पनि उल्लेख नै गरेका छैनन् । यसले एसटिएफले गरेको कामको जस शाहीले लिन खोजेको पुष्टि हुन्छ ।

शनिबार एसटिएफले होटल तारा इनमा पसेर दिनभर अप्रेशन गरिरहेकै बेला सन्चारकर्मीले यसबारे जानकारी लिन प्रहरी उपरीक्षक शाहीलाई फोन गरेर शाही आफैँले अप्रेशन बारेमा आफू अनविज्ञ रहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.