सप्तरीमा पोखरीमा डुबेर चार जनाको मृत्यु
![सप्तरीमा पोखरीमा डुबेर चार जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death-body-2_20210922112700_ntgKBd9Pnm.jpg)
राजविराज : सप्तरीमा दुई दिनको अवधिमा चार जनाको पोखरीमा डुबेर मृत्यु भएको छ। महदेवा गाउँपालिका–२ अकबरपुर बस्ने रामचरित्र मण्डलकी छोरी ५ वर्षीया शिवानी मण्डलको बुधबार पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। घरनजिकै रहेको थान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले बताए।
मंगलबार समेत सोही गाउँपालिकाको वडा नम्बर ४ परसाही टोलस्थित सार्वजनिक पोखरीमा अमृत सदाकी छोरी ३० वर्षीया लक्षनकुमारीको डुबेर मृत्यु भएको थियो। भाडा पखाल्न पोखरी गएकी छारे रोगबाट पीडित लक्षनकुमारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार नै खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा २ बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ सवा ५ बजेको समयमा खडग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा स्थानीय राजेशकुमार चौधरीकी ३ वर्षीया छोरी एलिजाकुमारी चौधरी डुबिरहेको अवस्थामा फेला परेकी थिइन्। घरभन्दा पश्चिम रहेको पोखरीमा डुबिरहेको अवस्थामा परिवारका सदस्यले देखेपछि निकालेर उपचारका लागि लहान लैजाने क्रममा बाटोमै बालिकाको मृत्यु भएको थियो।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया बस्ने भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा डुबेर मृत्यु भएको हो। घर नजिकैको नहरमा कपडा धुने क्रममा डुबेर उनको मृत्यु भएको स्थानीयवासीले बताए।
आर्थिक वर्ष ०७८/०७९ मा सप्तरीमा मात्र १३ जनाको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। जसअनुसार बालक ५, बालिका ४, पुरुष २ र महिला २ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)