कांग्रेस काठमाडौंको नगर अधिवेशन असोज १६ मा
काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते शनिबार हुने भएको हो।
काठमाडौंका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए।
'थप गरिएका मतदाता नामावलीको नाम वडामा नपुगेको र पुगेका नामावलीमा विवाद भएको कारण दक्षिणकाली नगरपालिका–२ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वडा अधिवेशन पुनःगराउनुपर्ने भएकाले कार्यतालिका एक हप्ताका लागि सारेका हौँ', प्रमुख निर्वाचन अधिकृत आचार्यले भने। दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन्।