गर्विलो विगत, भविष्य असुरक्षित
तारा चापागाईं/काठमाडौं, सुन्दरकुमार थकाली/मुस्ताङ, वसन्त लिम्बू/ताप्लेजुङ
उपल्लो डोल्पाको साल्डाङस्थित सेल गुम्बामा एउटा अति बहुमूल्य मूर्ति थियो, ताराको। बुद्ध धर्ममा देवीशक्ति मानिने ताराको त्यो मूर्ति परापूर्वकालमा बोल्थ्यो भन्ने किंवदन्ती छ। हजार वर्षभन्दा पहिलाको कुरा हो, त्यो मूर्तिले एक दिन भनेछ, ‘मलाई सुत्न उज्यालो बत्ती पनि छैन, म के गरुँ ?’
किंवदन्तीअनुसार त्यही रात मूर्ति भित्तो छेडेर उडेछ। खोज्दै जाँदा केही माथि डाँडामा भेटिएछ। गाउँले सबै भएर उक्त बोल्ने तारासँग क्षमा मागेछन्। त्यस डाँडालाई अहिले पनि क्षमा दिएको ठाउँ भनिन्छ। मूर्तिले माफी दियो र फर्किन राजी भयो। र, त्यही गुम्बामा ल्याई बाँधेर सयौं वर्ष राखियो। पूजा गरियो।
३५ वर्षअघि त्यो बोल्ने तारा अचानक हरायो। बाँधेको ठाउँबाटै कसैले चोरेर लग्यो। ऐतिहासिक, पुरातात्त्विक एवं बहुमूल्य रत्न जोडिएको उक्त मूर्ति अझै फेला परेको छैन।
नेपालमा ५ हजार गुम्बा छन्। तीमध्ये २८ सय ६६ गुम्बा दर्ता गरिएका छन्। हजार वर्षभन्दा पुराना ४० वटा छन्। ५ वर्षदेखि हजार वर्षका ४ सय छन्।
‘चोर्ने मान्छे को थिए भनेर पुजारीले आशंका गरे पनि प्रहरीले तदारुकतासाथ खोजेन’, साल्डाङकै यात्छेर गुम्बाका संरक्षक रानाग रिम्पोचे (डोल्पो बुद्ध) भन्छन्, ‘खोज्ने अभियान अझै जारी छ।’ गुम्बा बुद्ध धर्मको आस्थाको केन्द्र हुन्। प्राचीन गुम्बा देशमा सयौंको संख्यामा छन्। तर, सुरक्षा र संरक्षणको अभावमा तिनमा रहेका बहुमूल्य सम्पदा हराउँदै, मासिँदै र चोरिँदै आएका छन्।
त्यसको अर्को उदाहरण हो यात्छेर गुम्बा। डोल्पाकै ठूलो र प्राचीनमध्येको यस गुम्बाबाट सन् २००५ मा २८ मूर्ति लुटिए। अत्यन्त विकट भएकाले सुरक्षाकर्मी उपलब्ध थिएनन्। संरक्षक रानाग रिम्पोचेले खोज्ने क्रम तीव्र बनाए। तिब्बततिरका सरकारी अधिकारीलाई खोजिदिन आग्रह गरे। अन्ततः दुई वर्षपछि तिब्बतमा ती मूर्ति फेला परे। सन् २००७ जुलाई २१ मा तिब्बत प्रशासनले नेपाल सरकारलाई ती मूर्ति हस्तान्तरण गर्यो।
विदेश पुर्याइएका मूर्तिलगायत अन्य बहुमूल्य वस्तु प्रमाण पुगेपछि फिर्ता भएका छन्। देशको विशिष्ट र मौलिक पहिचान बोकेका सम्पत्तिालाई संरक्षण गर्नु सरकारको दायित्व छ।
ती त भेटिए, नभेटिएका मूर्ति सयौं छन्। हराएका पत्तो नभएका वा सरकारी अभिलेखसम्म नआएका मूर्ति उत्तिकै धेरै हुन सक्ने उनको ठम्याइँ छ। खासगरी अति विकट डोल्पा, मनाङ, मुस्ताङ, मुगु, हुम्लाका गुम्बाहरूबाट मूर्ति हराइरहेका छन्। डोल्पो बुद्ध भन्छन्, ‘पुरातात्विक, ऐतिहासिक र दुर्लभ सम्पदा जोखाउन र हराएको खोज्न सरकाले ध्यान दिनुपर्ने हो, खासै दिएको छैन।’
सयौं वर्ष पुराना थुप्रै गुम्बा भएकोले डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँबाट धेरै मूर्ति हराएको उनको भनाइ छ। सुरक्षा व्यवस्था अभावमा मूर्ति चोरी निरन्तर भइरहेको छ। कोभिड अघिसम्म सिजनमा हजारौं विदेशी पर्यटकका आकर्षणका केन्द्र थिए त्यस्ता गुम्बा। कोभिडसँगै पर्यटन मात्र थला परेको छैन, गुम्बाहरूको अवस्था पनि दयनीय बन्दै गएको छ।

उपल्लो डोल्पाको यात्छेर गुम्बा। डोल्पाकै ठूलो र प्राचीनमध्येको यस गुम्बाबाट सन् २००५ मा २८ मूर्ति लुटिए। दुई वर्षपछि तिब्बतमा बरामद भए। र, फिर्ता ल्याइयो। यसले सुरक्षा, संरक्षण र सम्भार चाहिरहेको छ। तस्बिर सौजन्य : रानाग रिम्पोचे
गुम्बा विकास समितिका अनुसार नेपालमा ५ हजार गुम्बा छन्। तीमध्ये २८ सय ६६ गुम्बा दर्ता गरिएका छन्। समितिका अध्यक्ष फुपूचेम्बे शेर्पाका अनुसार हजार वर्षभन्दा पुराना ४० वटा छन्। ५ वर्षदेखि हजार वर्षका ४ सय छन्। बाँकी सय वर्षदेखि ५ सय वर्षभित्रका छन्। शेर्पाका अनुसार चोरी भएका मूर्तिका विषयमा समितिमा कुनै जानकारी आएको छैन।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको मराङ, चराङ, घमी, घिलिङ र सुर्खाङमा सदियौं पुराना गुम्बा छन्। लुरी गुम्बा, घर गुम्बा र चराङ गुम्बा मुख्य हुन्।
विदेशबाट ६३ मूर्ति फर्काइए
नेपालबाट चोरी निकासी भएर अन्य मुलुकमा लगिएका केही सम्पदा फिर्ता आएको पुरातत्त्वविभागका सूचना अधिकारी डा. सुरेशसुरस श्रेष्ठले जानकारी दिए। नेपालका संस्कृति, पुरातात्त्विक महत्त्वका सम्पदाहरू संरक्षण ऐन बनेसँगै संरक्षणमा बढी चासो देखिएको उनले बताए। ‘चोरी मात्र नभई तीन प्रकारले सम्पदा अन्य मुलुक पुगेका छन्’, उनी भन्छन्, ‘उपहारका रूपमा, बेचिएर र चोरिएर।’
विदेश पुर्याइएका मूर्तिलगायत अन्य बहुमूल्य वस्तु प्रमाण पुगेपछि फिर्ता भएका छन्। देशको विशिष्ट र मौलिक पहिचान बोकेका सम्पत्तिलाई संरक्षण गर्नु सरकारको दायित्व रहेको उनको भनाइ छ। ‘२०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन बनेपछि कानुनको आधारमा संरक्षण भएको छ। ऐन बन्नुअघि नजिकका सम्पदाको संरक्षण समुदायले नै गर्ने गर्थे’, उनी भन्छन्।
गुम्बामा पुरातात्तिवक महत्तव बोकेका सामग्री र दस्तावेज छन्। यहाँ बौद्घ धर्मसम्बन्धी पाँच हजारभन्दा बढी धर्मग्रन्थ छन्। जसमा केही सुनका अक्षरले लेखिएका ग्रन्थहरू छन्।
श्रेष्ठका अनुसार सन् १९५० अघि नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए कुनै तथ्यांक छैन। तर विश्वका विभिन्न प्रख्यात संग्रहालयमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिहरूले नेपालबाट हजारौं संख्यामा महत्त्वपूर्ण कलाकृतिहरू बाहिरिएको पुष्टि हुन्छ।

मुस्ताङको लोमान्थाङमा मर्मत भइरहेका गुम्बा ।
पुरातत्त्वविभागका अनुसार सन् १९५० मै नेपालमा भएको परिवर्तनका कारण संस्कृति सम्पदाको महत्त्वको बारेमा जागरण र जनचेतना सुरु भयो। त्यससँगै परिवेशमा वरपरका संस्कृति सम्पदाको संरक्षण गर्न थालिएको छ।
सन् २००० देखि सांस्कृतिक सम्पदाहरूको चोरी निकासी क्रमशः कम हँुदै गयो। यस अवधिमा चोरी भएका महत्त्वपूर्ण सम्पदाहरू सुरक्षा निकायद्वारा बरामद गरी पुरातत्त्वविभागमा पठाएको विभागले जानकारी दिएको छ।
विभागका क्युरियो जाँचपासकी शाखाअधिकृत सरिता सुवेदीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको विकासले नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका धेरै सम्पदा फिर्ता भएका छन्। बेलायतबाट १९, अस्ट्रियाबाट १, अमेरिकाबाट १४, तिब्बतबाट २८, जर्मनीबाट १ गरी ६३ मूर्ति फिर्ता भएका छन्। फिर्ता भएकामध्ये बढी मात्रामा बौद्ध मूर्ति रहेको सुवेदीले जानकारी दिइन्।

उपल्लो डोल्पाका विभिन्न स्थानमा जीर्ण बनेका गुम्बाका स–साना संरचना ।
संरक्षणमा वास्तै छैन
गुम्बा र तिनका बहुमूल्य सम्पदा सुरक्षा एवं संरक्षणमा राज्यको ध्यान नपुगेको रनाग रिम्पोचे बताउँछन्। ‘स्थानीय तहले न्यून बजेट छुट्ट्याएको हुन्छ। ५ लाख रकम जिल्लामा लिन जान ५ दिन लाग्छ। प्रक्रिया पुर्याएर रकम लिन एकमहिना बस्नुपर्छ’, उनी भन्छन्। रिम्पोचेका अनुसार गुम्बामा सुरक्षा व्यवस्था कमजोर छ जसका कारण ऐतिहासिक बहुमूल्य पुरातात्त्विक सम्पदा हराउँदै गइरहेका छन्। ‘एकातिर ऐतिहासिक मूर्ति बहुमूल्य चिजहरू हराउँदै गएका छन् भने अर्कोतर्फ टाठाबाठाहरूले गुम्बाको जग्गाहरू कब्जा गर्दै गइरहेका छन्’, उनी भन्छन्, ‘गुम्बाहरूको संरक्षण र मर्मतमासरकारले चासो दिन नसक्दा पुरातात्त्विक सम्पदा नास हुने अवस्थामा छन्।’
गृहमन्त्रीलाई ध्यानाकर्षण
धार्मिक, सांस्कृतिक सम्पदा र पुरातात्त्विक वस्तु हराउँदै जानु निकै चिन्ताको विषय भएको भन्दै डोल्पा संघर्ष समितिले गृहमन्त्रीलाई ध्यानाकर्षण पनि गराइसकेको छ। राज्यको धरोहरको रूपमा रहेका यस्ता सम्पदाको उचित संरक्षण, मूल्यांकन गर्ने राज्यको दायित्व रहेको उनीहरूको भनाइ छ।
अर्कातिर मूर्ति चोरीमा संलग्नलाई कारबाही नहुने गरेको संरक्षणकर्ताको आरोप छ। मूर्तिको उमेर कम देखाएर मिलेमतोमा कम सजाय गराउने वा सफाइ दिने गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
प्रहरीको भनाइ भने फरक छ। ‘मूर्ति चोरीका घटनामा पुरातात्त्विक ऐनको प्रावधानअनुसार कारबाही हुने गरेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले भने, ‘पुरातात्त्विक नभएका मूर्ति वा अन्य सामग्रीहरू मूल्यका आधारमा पनि बिक्री भएका छन्। ती ठगीमा पर्छन्, मूर्तिको प्रकृतिअनुसार हुन्छ।’

प्रहरीका अनुसार सोलुखुम्बु, चितवन, मकवानपुर, दोलखा, जुम्ला, डोल्पा, काठमाडौं, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट हिन्दु, बौद्ध धर्मका मूर्तिलगायत बहुमूल्य सामग्री चोरी भएका छन्।
गुम्बैगुम्बाको थलो मुस्ताङ
बौद्ध धर्मको प्रभुत्व रहेको हिमाली जिल्ला मुस्ताङ गुम्बैगुम्बाले भरिएको छ। मुस्ताङका ५ वटै स्थानीय तहका प्रत्येक वडामा गुम्बा छन्। मुस्ताङमा अवस्थित आधाजसो गुम्बाहरू सदियौं वर्ष पुराना ऐतिहासिक छन् भने कतिपय गुम्बा समय क्रमसँगै क्रमशः स्थापना भएका हुन्। उत्तरी छिमेकी देश चीनसँग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा तिब्बती कला/संस्कृतिको प्रभाव बढी छ। मुस्ताङका अधिकांश मानिसले बौद्ध धर्ममा आस्था राख्ने गर्छन्। उपल्लो मुस्ताङमा तिब्बती भाषा, कला संस्कृति र रहनसहन मिल्दोजुल्दो छ।

उपल्लो डोल्पाको यात्छेर गुम्बा संरक्षक रानाग रिम्पोचे पुजा गर्दै ।
उपल्लो मुस्ताङको दुई स्थानीय तहमा बिष्ट, गुरुङ र लोहा समुदायका मानिसको बसोबास छ। मध्यमुस्ताङको वारागुङ मुक्ति क्षेत्रमा अधिकांश गुरुङ समुदायको बस्ती छ भने आंशिक दलित समुदाय बस्छन्। तल्लो मुस्ताङको घरपझोङ र थासाङमा थकाली, गुरुङ र दलित समुदायको मिश्रित बसोबास छ। झन्डै १३ हजार जनसंख्या रहेको हिमाली जिल्ला मुस्ताङमा यहाँका ९० प्रतिशत स्थानीयले बौद्ध धर्म मान्ने गरेका छन्। मुस्ताङका गुम्बामध्ये सबैभन्दा पहिलो र पुरानो गुम्बा हो, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—१ मराङको “घर’ गुम्बा। यस गुम्बालाई लोघेकर गुम्बाको रूपमा पनि परिचित छ। यो गुम्बा ८औं सेन्चुरीमा निर्माण भएको हो। तिब्बतमा राजा ठिस्रोङ धेचेनले राज्य गर्थे। त्यस समय राजा धेचेनले धार्मिक गुम्बाहरू निर्माण गर्ने क्रममा विभिन्न व्यवधान उत्पन्न भएको पाइन्छ।
तिब्बतमा गुम्बा निर्माणमा विभिन्न अवरोध सिर्जना भएपछि गुरु रिम्पोर्छे (पद्यसम्भव) तिब्बत पुगेका थिए। गुम्बा निर्माणमा अवरोध पुर्याउनेलाई लखेट्दै लखेट्दै तिब्बतमा मुस्ताङ ल्याए। मुस्ताङ लखेटिएकाहरूलाई फेरि तल्लो मुस्ताङबाट माथि–माथि धपाए। यसरी धार्मिक कार्यमा व्यवधान पुर्याउनेलाई त्यस समय राक्षस भन्ने गरिन्थ्यो। पद्यसम्भवले मुस्ताङको मराङमा राक्षसको बध गरेको हुनाले पद्यसम्भवले त्यहाँ धार्मिक गुम्बा स्थापना गरेको भन्ने भनाइ छ। मुस्ताङको मराङमा गुम्बा स्थापना भएपछि जिल्लाको अन्य स्थानमा पनि गुम्बा स्थापना कार्य सुरु भएको थियो। हिमाली जिल्ला मुस्ताङमा झन्डै तीन दर्जन बढी गुम्बा छन्। जसमध्ये नाम चलेका गुम्बाहरू भने एक चौथाइ मात्र छ।
विभिन्न स्रोतले दिएको जानकारी अनुसार उपल्लो मुस्ताङको लोमान्थाङमा ७ वटा, लोघेकर दामोदरकुण्डमा ६ वटा, वारागुङ मुक्ति क्षेत्रमा ७ वटा, घरपझोङमा ७ वटा र थासाङमा ५ वटा गुम्बा छन्। लोमान्थाङ—५ मा झ्याम्पा गुम्बा, थुक्छेन गुम्बा र छोदे गुम्बा छ। लोमान्थाङको छोसेरमा निफुक गुम्बा र गर्फु गूम्बा छ भने नाम्ग्यालमा नाम्ग्याल गुम्बा छ। लोमान्थाङ गापामा छोजुङ गुम्बा छ। छोजुङ गुम्बा बेवारिसे अवस्थामा रहेको लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले जानकारी दिए। उनले सो गुम्बामा लामाहरू बाह्रै महिना नबस्ने बताए।

छोजुङ गुम्बा सदियौं वर्ष पुरानो रहेकाले जीर्ण हुँदै जान थालेको उनको भनाइ छ। सो गुम्बा मर्मतका लागि पालिकाले केही रकम बजेट दिएको थियो। लोमान्थाङको झ्याम्पा र थुक्छेन गुम्बामा छोदे गुम्बाका लामाहरूले रेखदेख र पूजापाठ गर्ने गरेको लामा घ्याचो गुरुङको भनाइ छ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको मराङ, चराङ, घमी, घिलिङ र सुर्खाङ लगायतका स्थानमा सदियौं पुराना गुम्बा छन्। जसमध्ये लुरी गुम्बा, घर गुम्बा र चराङ गुम्बा मुख्य हुन्। यस्तै, वारागुङ मुक्ति क्षेत्रको कागबेनी, मुक्तिनाथ, तिरी र छुसाङमा गुम्बा छन्। मुक्तिनाथ परिसरभित्र चर्चित ज्वालामाई गुम्बा छ। यो गुम्बा २०७२ सालको महाभूकम्पले क्षति पुर्याएको थियो। पुरातत्त्वविभागले सो गुम्बा पुनर्निर्माण गरिरहेको जनाएको छ। मुस्ताङको घरपझोङमा ५ वटै वडामा गुम्बा छन्। जोमसोम, ठिनी, ढुम्बा, स्याङ, मार्फा र छैरोमा गुम्बा छन्। जसमध्ये जोमसोम गुम्बा केही वर्षअघि मात्र स्थापना भएको थियो भने अन्य गुम्बा सदियौं वर्ष पुराना गुम्बा हुन्। यस्तै, मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत टुकुचे, सौरु, कोवाङ, नाकुङ र ताक्लुङमा सदियौं वर्ष पुराना गुम्बा छन्।

पछिल्लो समय थासाङको लेते र घाँसामा समेत नयाँ गुम्बा निर्माण भएका छन्। मुस्ताङमा अधिकांश सामुदायिक गुम्बा छन् भने केहीले निजी गुम्बासमेत निर्माण गरेको थासाङका स्थानीय सोजन हिराचनले जानकारी दिए। यस्तै, मुस्ताङ झिना मसिना दर्जनौं गुम्बा छन् जुन चर्चामा छैनन्। मुस्ताङमा ढुंगा र माटोले निर्माण भएका सदियौं वर्ष पुराना गुम्बाहरू वर्षाका कारण जीर्ण हुँदै गइरहेको हिराचन बताउँछन्। उनले मुस्ताङका प्राचीन गुम्बाहरूलाई सरकारले बेवास्ता गरेको बताए। तर मुस्ताङका केही गुम्बाहरूको पुननिर्माण तथा स्तरोन्नति विदेशी संघसंस्थाहरूको सहयोगमा गरिएको छ।
मुस्ताङका अधिकांश गाउँहरूमा गुम्बा स्थापना भए पनि गुम्बामा पूजापाठ गर्ने लामाहरूको अभाव छ। केही वर्षअघि मुस्ताङमा घरको माइलो छोरालाई लामा गुम्बामा र माहिली छोरीलाई आनी गुम्बामा चढाउने चलन थियो। पछिल्लो समय मुस्ताङमा यो प्रचलन बिस्तारै हट्दै गएको देखिन्छ। पछिल्लो समय घरको स्वइच्छ्याले मात्र छोरीछोरीलाई गुम्बा राख्ने गरिएको छ। मुस्ताङका गुम्बामा बहुमूल्य मूर्तिहरू हुने भए पनि पछिल्लो समय सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपूर्ण छ। पछिल्लो समय सडक सञ्जालमा जोडिएसँगै मुस्ताङमा विभिन्न प्रकारका मानिसको आउजाउ हुने भएकाले मुस्ताङका गुम्बाहरू असुरक्षित बन्दै गएका हुन्। विगतको इतिहासमा मुस्ताङका केही गुम्बा तथा व्यक्तिका घरमा राखिएका बुद्धका मूर्ति तथा अन्य बहुमूल्य खजाना हराउने गरेको स्थानीयवासी बताउँछन्।

४६३ वर्षे दिकी छ्योलिङ
दिकी छ्योलिङ गुम्बा ताप्लेजुङको ओलाङचुङगोलामा छ। समुद्री सतहबाट करिब ३१ सय मिटरको उचाईमा अवस्थित यो गुम्बा ४६३ वर्ष पुरानो मानिन्छ। दिकी छ्योलिङ जिल्लाको मात्र नभई नेपालकै बहुचर्चित र ऐतिहासिक गुम्बा हो। गुम्बामा भएका पुस्तक र स्थानीय लामाहरूको भनाइलाई आधार मान्दा यसलाई ४६३ वर्ष पुरानो भन्न सकिने ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन वालुङ बताउँछन्। गुम्बाको निर्माण भुटानबाट आएका भिक्षु ह्योसा दोर्जे लामाले गरेका हुन् भन्ने किम्वदन्ती छ।
‘गुम्बामा रहेका पुस्तक र कागजपत्रहरू हेर्दा नेपालका सबेै गुम्बाभन्दा पुरानो भन्ने अनुमान लगाउन सकिन्छ’, वडाध्यक्ष वालुङ भन्छन्, ‘गुम्बामा धेरै पुराना दस्तावेजहरू छन्, ती दस्तावेजलाई पढ्नसक्ने मान्छे कोही पनि छैन।’ पुराना दस्तावेज अध्ययनका लागि आगामी कार्तिक महिनामा आयोजना हुने फुटुक पर्वको बेला विषेश रिम्पोछेलाई निमन्त्रणा गरेर उनलाई अध्ययन गर्न लगाउने योजना रहेको उनले सुनाए। यहाँ राजा सुरेन्द्र वीरविक्रमले दिएको लालमोहर लगायतका पुरातात्विक दस्तावेजहरू सुरक्षित रहेको वालुङ बताउँछन्। गुम्बा निर्माण हुनुपूर्व नै त्यहाँ बस्ती बसेको बताइन्छ। ‘पहिले यो गुम्बा बस्तीभन्दा पाँच किलोमिटर माथि रहेछ, त्यहाँ जाँदा अहिले पनि भग्नावशेष भेटिन्छ’, वडाध्यक्ष छेतेन थप्छन्, ‘पछि लामा गुरुले ध्यान गर्ने क्रममा यहीँ निर्माण गर्नु भन्ने ज्ञान पाएपछि बस्तीकै छेउमा निर्माण गरिएको रहेछ।’

गुम्बामा पुरातात्त्विक महत्त्वबोकेका सामग्री र दस्तावेज छन्। यहाँ बौद्ध धर्मसम्बन्धी पाँच हजारभन्दा बढी धर्मग्रन्थ छन्। जसमा केही सुनका अक्षरले लेखिएका ग्रन्थहरू समेत भएको स्थानीय बताउँछन्। तीन तले यो गुम्बा १२९ फिट लामो, ३६ फिट चौडा र ४० फिट अग्लो छ। यसको दोस्रो र तेस्रो तलामा बौद्धधर्म र शास्त्रका दुर्लभ पुस्तकहरू राखिएका छन्। अन्य भागहरूमा बुद्धका नौवटा ठुला, साना मूर्तिहरू र गुम्बाका निर्माताको मूर्ति एवं बौद्ध शास्त्रीय वाद्यवादन यन्त्र र धर्मचक्रहरू छन्। यो गुम्बाभित्र अटुट रूपमा बलिरहने स्वर्णयुगीन बत्ती छ। जसलाई स्थानीय भाषामा ग्यू स्यू भनिन्छ।

त्यस ठाउँमा पहिले गुम्बा निर्माणको अगुवाई गर्ने भिक्षु लामाले बालेको बत्ती नै हो त्यो। यो उतिबेलादेखि नै बलिरहेकोे छ। गुम्बाको अर्को आश्चर्य भनेको भित्र सजाएर राखिएको सेतो च्याउ हो। स्थानीयका अनुसार ‘अवलोकेश्वर’ (प्रमुख लामा गुरु चेरेसेको नेपाली नाम) को अवतारका रूपमा यो सेतो रङको च्याउ राखिएको हो। जसलाई स्थानीय भाषामा चेरेसी भनिन्छ। यस सेतो च्याउमा प्राकृतिक रूपमै ‘ॐ मनि पद्मे हुँ’ लेखिएको छ। यो पवित्र बौद्ध मन्त्र च्याउ उत्पत्ति हुँदा नै लेखिएको किंवदन्ती छ। गुम्बामा तपस्या गर्ने शिष्यहरूले दाउरा खोज्न जाँदा फेला पारेको यो च्याउ टिपेर गुरुलाई दिएका थिए। गुरुले पुनः त्यही ठाउँमा फिर्ता गरेपछि गाउँलेहरूले पछि धुमधामका साथ ल्याएर गुम्बामा राखेको किंदन्ती छ।
गुम्बामा वर्षमा दुईपटक विषेश पूजाआजा गर्ने चलन छ। कात्तिक र फागुन महिनामा विषेश पूजा हुन्छ। त्यसबेला नेपालका विभिन्न जिल्ला तथा तिब्बतबाट समेत भेला भएर पुजा गर्ने चलन छ। सो पूजामा भाकल गर्ने र भाकल पूरा हुने जनविश्वास छ। ‘पूजा हुने समयमा नेपालका विभिन्न स्थान, तिब्बत र ओलाङ्चुङगोलामा जन्मेका अमेरिका लगायतका विभिन्न देशमा बस्दै आएकाहरूको पनि उपस्थिति हुन्छ’, स्थानीय तेञ्जिङ वालुङ भन्छन्, ‘त्यसबेला विषेशगरी सन्तान नहुने दम्पती, घरमा स्वास्थ्य समस्या भएका परिवार, पशुपालनमा समस्या भएकाले भाकल गर्ने चलन छ।’
गुम्बाकै कारण स्थानीयमा भोकमरी नलाग्ने, महामारीजन्य समस्याले नभेट्ने, पहिरो नजाने लगायतका विश्वास स्थानीयवासीले गर्छन्। गुम्बा परिसरमा लगाइएको करिब डेढ मिटर अग्लो सुख्खा गाह्रो ९० सालको भूकम्पले पनि नभत्काएको बताइन्छ। गुम्बामा रहेका सयौं वर्ष पुराना केही बहुमुल्य सामग्री हराएका छन्। वडाध्यक्ष छेतेन वालुङका अनुसार गुम्बाभित्र रहेका मूर्तिसहित सामग्री हराएको भए पनि के कति हराए भन्ने यकिन छैन। गुम्बाका सामग्री चोरी हुन थालेपछि सरकारी तवरबाट अन्य विशेष महत्त्वको सामग्रीलाई सुरक्षा दिने भन्दै उठाएर लगेको तर अहिलेसम्म फिर्ता नभएको स्थानीयवासी बताउँछन्।
पहिलो पटक २०२७ सालमा र पछि अर्को पटक सरकारी कर्मचारीले यहाँका केही सामान हेलिकोप्टरमार्फत काठमाडौंको स्वयम्भूपछिको भागमा सुरक्षित राख्ने भन्दै लगेको बताइएको छ। ती सामग्री स्वयम्भू क्षेत्रमा पनि नभेटिएको र गुम्बालाई समेत फिर्ता नदिएको स्थानीयको गुनासो छ।
गुम्बामा बर्षमा एक पटक फुटुक पर्व मनाइन्छ। यो पर्व गोलावासीले मनाउने पर्वभन्दा पृथक छ। सुरुका वर्षहरूमा १५ दिनसम्म निरन्तर रूपमा मनाइने यो पर्व लामाहरूको अभावका कारण अचेल आठ दिनमा सीमित बनेको छ। फुटुक धार्मिक विधिविधान, नाचगान र मनोरञ्जनले भरिपूर्ण पर्व हो।
गुम्बा संरक्षण र प्रर्वद्वनमा सरकारी स्तरबाट समेत चासो बढ्न थालेको छ। जीर्ण बन्दै गएको पुरानो गुम्बाको पुनः निर्माणका लागि पुरातत्त्वविभागबाट समेत काम भइरहेको वडाध्यक्ष छेतेनको भनाइ छ। आर्थिक वर्ष २०७७/०७८ मा ४० लाख रुपैयाँको काम भएको छ। भने यस आर्थिक वर्षका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
तस्बिरहरू : रानाग रिन्पोचे/सुन्दरकुमार थकाली/वसन्त लिम्बू
प्रतिक्रिया दिनुहोस !