ब्याज बढ्यो, निक्षेप बढेन
काठमाडौं : लगानीयोग्यपुँजी अभाव भएपछि असोज १ गतेदेखि बैंकले ब्याजदर ह्वात्तै बढाए । कर्जा प्रवाहका लागि स्रोत जुटाउन गरेको यस्तो रणनीतिले पनि निक्षेप संकलनमा भने झिनो सुधार भएको छ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले पहिलो साता ८ अर्ब रुपैयाँले निक्षेप संकलन बढाएर ४१ खर्ब ८० अर्ब रुपैयाँ पुर्याएका छन्। जबकि भदौमा तुलनात्मक रूपमा कम ब्याज हँुदा अन्तिम साता ३१ अर्बरुपैयाँले वृद्धि भएको थियो। यसरी बढ्दा ४१ ऋर्ब७१ करोड पुगेको थियो। बैंकले स्रोतको जोहो गर्न धमाधम सार्वजनिक सूचना जारी गर्दै निक्षेपको ब्याजदर दोहोरो अंकसम्म पुर्याएका थिए।
सनराइज बैंकले सबैभन्दा आकर्षक ब्याज अर्थात् १०.०७ प्रतिशतसम्मको वार्षिक व्यक्तिगत मुद्दतीको ब्याजदर घोषणा गरेको थियो। यस्तो ब्याजदर सबैभन्दा कम अर्थात्७.२५ प्रतिशत कृषि विकास बैंकले दिएको छ। यसबाहेकका बैंकले साढे ९ प्रतिशतसम्म दिएका छन्। यद्यपि, समग्र बैंकको व्यक्तिगत वार्षिक मुद्दती निक्षेपको औसत ब्याजदर ८.४२ प्रतिशत छ। गत भदौमा औसत ७.२९ प्रतिशत थियो।
बैंकले बढी ब्याज दिए पनि अपेक्षाअनुसार निक्षेप जम्मा हुन नसकेको गुनासो गर्छन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल आयात अत्यधिक रूपमा बढेकाले निक्षेप संकलन अपेक्षा गरेअनुसार बढ्न नसकेको बताउँछन्। यद्यपि निक्षेपको प्रमुख स्रोतको रूपमा रहेको रेमिट्यान्स (विप्रेषण) विगतका वर्षजस्तो नबढेकाले पनि संकलनमा झिनो सुधार भएको उनको तर्क छ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल विगतका वर्षझैं आम सर्वसाधारणले दसैंको किनमेल गर्दा पनि केहीअसर पर्न गएको अनुमान गर्छन्। ‘दसैं नजिकिँदै गर्दा रेमिट्यान्स बढ्नुपर्ने तर यसपटक कम आएको देखिन्छ। अलिअलि आए पनि आयातमै कर्जा बढी गएको छ। अझै समय छ रेमिट्यान्स बढ्ला,’ उनले अन्नपूर्णसँग भने।
पछिल्लो समय बैंकहरूले कर्जा लगानी सातामै ३१ अर्ब रुपैयाँसम्म बढाउदा कुल ३९ खर्ब ३ अर्ब पुगेको छ।
भदौ ३१ गतेसम्म २८ अर्बले कर्जा बढ्दा ३८ खर्ब ७२ अर्बमा सीमित थियो। बैंकसँग कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कसिलो छ। यस्तो अनुपात अधिकांशको करिब ९० प्रतिशतको हाराहारीमा रहेको उनले बताए। राष्ट्र बैंकको तथ्यांकअनुसार असोज १० गतेसम्म सीडी रेसियो औसत ८८.२५ प्रतिशत छ। बैंकरका अनुसार कर्जा प्रवाह गर्ने क्षमता साँघुरो भए पनि माग भने आइरहेको छ। अधिकांश लगानी आयातित वस्तुमा छ। कर्जाको माग भएबमोजिम निक्षेप संकलनमा भने बैंकहरूको वृद्धि कम छ। चाडपर्वका कारण पनि निक्षेपभन्दा कर्जा वृद्धि बढी भएको हो। पछिल्लो समय निक्षेपको ब्याजदर बढेपछि अब नयाँ कर्जाको ब्याजदर पनि सोही अनुपातमा बढ्नेछ। तर पुराना ऋणीको ब्याजदर भने परिवर्तन हुँदैन।
यस्ता ऋणीको बैंकले प्रत्येक त्रैमासको वित्तीय प्रतिवेदनअनुसार निर्धारण गरेको आधारदरमा रहेर कर्जाको ब्याजदर बढाउने गर्दछन्।