स्वास्थ्य बिमा ७३६ तहमा
काठमाडौं : स्वास्थ्य बिमामा नागरिकको पहुँच बढ्दै गएको छ। साढे ५ वर्षमा स्वास्थ्य बिमा बोर्डले ७५ जिल्लाका ७ सय ३६ स्थानीय तहमा पहुँच विस्तार गरेको छ। सरकारले सञ्चालन गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत काठमाडौं, ललितपुरबाहेक देशभर सञ्चालन भइरहेको छ।
सरकारले बीमीतलाई देशभरका ४ सय २८ वटा सेवा प्रदायक अस्पतालबाट सेवा दिइरहेको छ। चालु आर्थिक वर्षमा ललितपुरका ३ स्थानीयतहमा सुरु गर्न थालेको बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले जानकारी दिए। उनका अनुसार कार्यक्रम विस्तारका लागि दर्ता सहयोगी छनोट तथा स्थानीय जनप्रतिनिधिलाई अभिमुखिकरण कार्य सम्पन्न भइसकेको छ।

बिमाको पहुँच बिस्तार गरेसँगै हालसम्म (असोज १० गतेसम्म) साढे ४५ लाख ५२ हजार ९११ जना नागरिक सहभागी भएका छन्। यो ७५ जिल्लाको कुल जनसंख्या २ करोड ६४ लाख ९५ हजारको १७.८३ प्रतिशत हो।
यो संख्या १३ लाख ८८ हजार ५३५ बिमित परिवारको हो। बोर्डले गरिबीको परिचयपत्र प्राप्त २६ जिल्लाका अति गरिब ४ लाख ७६ हजार ३५२ जना नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गरेको जानकारी दिएको छ।
हालसम्म सबैभन्दा बढी स्वास्थ्य बिमा गर्नेमा प्रदेश १ अगाडी छ। सो प्रदेशमा १५ लाख ३ हजार १०५ जनाले बिमा गरेको छन्। सो क्षेत्रको जनसंख्याको ३३.१४ प्रतिशत हो। सो क्षेत्रमा ४५ लाख ३५ हजार ९ सय ४३ जनसंख्या छ।
बिमाको शुल्क र पाउने सुविधा
यसमा योगदान रकम एउटै परिवारको ५ जनासम्मको प्रतिवर्ष ३ हजार ५ सय रुपैंया प्रिमियममा बिमाको सुविधा दिएको छ। परिवारका ५ जनाभन्दा बढीको गर्नुपरेमा थप प्रति सदस्य ७ सय तिर्नुपर्ने व्यवस्था छ। यसबाट वार्षिक १ लाख रुपैंयाँसम्मको औषधि तथा उपचार खर्च सुविधा पाइन्छ।
परिवारको ५ जना भन्दा बढीलाई प्रति सदस्य २० हजारका दरले बढीमा दुई लाखको कभरेज हुन्छ। तर यसबाहेक ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सरकारले नै बिमा गरिदिन्छ । छुट्टै एक लाखको उपचार खर्च व्यहोरिने नीतिगत व्यवस्था छ। स्वास्थ्य बिमा नियमावली २०७५ले ज्येष्ठ नागरिकका लागि सरकारले नै बिमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक एक लाख बराबरको स्वास्थ बिमाको व्यवस्था गरेको हो।
बीमा कार्यक्रममा आवद्ध हुँदा केही क्षेत्रका नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ। यसअन्तर्गत अति गरिबको परिचयपत्र प्राप्त परिवारको योगदान रकमको सतप्रतिशत छुट दिइएको छ।
यस्तै अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट छ। महिला स्वास्थ्य स्वयमसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट छ। बोर्डका अनुसार बिमितले अस्पतालबाट १ हजार १ सय ३३ प्रकारका औषधि प्राप्त गर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !