नेपालले आफ्नो घर भत्काएर अरुको बनाउन खोजे : मुख्यमन्त्री शाक्य
नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदभन्दा पार्टी ठूलो रहेको बताएकी छन्। उनले राजनीतिमा पदभन्दा ठूलो पार्टी भएकाले पार्टीबाटै जनताको सेवा गर्न सकिने बताइन्।
नुवाकोटमा बुधबार आयोजित एमाले कार्यकर्ता भेलाको उद्घाटन गर्दै एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्यले आफू सदैव पार्टी एकताको पक्षमा रहेको दाबी गरिन्। उनले अगाडि भनिन्–‘पार्टी फुट होएन, जुट्नु पर्ने अहिलेको आवश्यकता हो, यसर्थ पार्टी नै फुटाएर अरुलाई सरकार बनाउने सहयोग गर्न सकिएन।’
उनले असन्तुष्टिहरुलाई कमजोरीको रुपमा लिएर एमाले टुक्राउनेहरुलाई इतिहासले जवाफ दिने समेत बताइन्। उनले अबको निर्वाचनमा फुटेर जानेहरुले आफ्नो हैसियत देख्ने धारणा राखिन्। पार्टीभित्र केही बेमेलहरु भएपनि पार्टी फुटको विपक्षमा आफू रहेको शाक्यको ठहर छ। उनले भनिन्, ‘माधव कमरेडलाई पहिले सहयोग गरियो। तर, उहाँको नियत आफ्नो घर भत्काएर अरुको घर बनाउने देखियो, यसको मुल्यांकन नेपाली जनताले गरेरै छाड्ने छन्। ‘
नेपाललाई आफूले सदैव पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फुटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन्। शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीको रुपमा अघि बढाउनुपर्ने बताए। बागमती प्रदेश सरकार जनताको पक्षमा एमालेले गरेको निर्णय अनुसार नै अगाडि बढ्ने उनको दाबी छ।
शाक्यले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकोले आगामी दिनमा एमालेको संगठन अझै बलियो हुने बताइन्। मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिदै गरेकोले सबै नेता कार्यकर्ताहरुले जिम्वेवार ढंगले सक्रिय हुन पनि निर्देशन दिइन्।
एमाले नेता तथा कार्यक्रममा बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पार्टी फुटाएर जानेहरुले इतिहासमै नगरेको भुल गरेको बताए। जनताको विकासका लागि स्थायी शान्ति तथा सम्वृद्धिको योजनाका साथ प्रदेश सरकार अगाडि वढेको उनले बताए।