सम्पत्तिले सन्तान नै पराइ

सम्पत्तिले सन्तान नै पराइ

काठमाडौं : मानिसले जीवनभर दुःखसुख गरेर आफ्ना सन्तान हुर्काउँछन्। तर, बुढेसकाल लागेपछि तिनै छोराछोरीले अंशको लोभमा आमाबाबुलाई पराइ बनाइदिन्छन्। अंशबण्डा गरेर सम्पत्ति हस्तान्तरण गरेपछि ज्येष्ठ नागरिकको बिचल्ली हुने गरेको छ।  

जीवनभर खेती किसानी गरेर छोरालाई डाक्टर बनाए पनि बुढेसकालमा सडकको बास भएको पशुपति विकास क्षेत्रमा भेटिएका एक ज्येष्ठ पुरुषले गुनासो गरे। छोराहरूलाई आफूले दुःख गरेर हुर्काएको, तर  जागिर खाए थालेपछि आफूलाई नै हेला गरेर  पशुपति क्षेत्रमा आउन बाध्य बनाएको  सिन्धुलीका एक ज्येष्ठ नागरिकले बताए। सम्पत्ति बाडेपछि छोराछोरा हेला गर्नेदेखि घरबाट निकालेर असहाय बनाउने प्रवृत्ति समाजमा बढेको छ। समाजमा व्यक्तिवादी विचारधारा हाबी हुँदै गएको र पँुजीवादी अर्थव्यवस्थाले बढावा पाएकाले पनि समाजमा यस्ता प्रवृत्ति बढ्दै गएको समाजशास्त्री सम्राट शर्माले बताए। 

पश्चिमा देशमा बुढाबूढी भएपछि त्यसको जिम्मेवारी सबै सरकारले लिने हुँदा छोराछोरीलाई अपनत्व पनि नहुने गरेको पाइन्छ। पूर्वीय चिन्तन र परम्परालाई अँगाल्दै हुर्किएकाहरूले समूहमा बस्नुपर्छ भन्ने सोच हुने र आमाबाबु, आफन्तलगायतका सम्बन्धमा धेरै अप्नत्व हुन्छ। तर, पनि हिजोआज ग्लोबलाइजेसनले गर्दा समाजमा पुनर्गठन हुने चरणमा यस्ता समस्या देखा पर्ने गरेका उनले बताए।

मानवशास्त्री डा.डम्बर चेम्जोङले राज्य नीति कानुन र पितृसतात्मक सोचको उपजका कारण नै ज्येष्ठ नागरिकको समस्या समाजमा विद्यमान रहेको जनाए। ज्ञान, सोच, सामाजिक, ऐतिहासिक तथा विगतको जनजीवनको विषय पुस्तान्तरण हुनुपर्नेमा सम्पत्ति हस्तान्तरण हुने प्रवृत्ति नै गलत भएको उनको विश्लेषण छ। 

छोराछोरी बराबर भने पनि सम्पत्ति छोरालाई मात्रै हस्तान्तरण गर्ने परम्परा सयौं वर्षदेखि चल्दै आएको उनले औंल्याए। ‘सरकारी नीति पनि पनि सम्पत्तिमै केन्द्रित हुँदै आएको छ,’ उनले भने। 
हिजोका दिनमा पनि धेरैले घर छोडेर आमाबाबुलाई तीर्थ लैजाने प्रचलन थियो भने आज आमाबाबुलाई वृद्धाश्रम पुर्‍याइने प्रवृत्ति बढेको उनले बताए। 

ज्येष्ठ नागरिकको नाममा भएको सम्पत्ति हड्प्ने प्रयत्न गरे कानुनले त्यसलाई दण्डनीय अपराधका रूपमा लिएको अधिवक्ता चिरन्जिवी खतिवडाले बताए। ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्वन्धमा तत्काल व्यवस्था गर्न वाञ्छनीय भएको उल्लेख गरेको छ। 

ज्येष्ठ नागरिकलाई  आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुने पनि ऐनमा जनाइएको छ। त्यसैगरी ज्येष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ऐनमा उल्लेख गरिएको छ। ऐनमा कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु नहुने बताइएको छ। 

‘प्रत्येक छोराछोरीले आमाबाबुलाई एकासगोलमा बसेको वा कानुनबमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आर्थिक तथा समाजिक हैसियतअनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्नेछ’, मुलुकी देवानी संहितामा भनिएको छ।

यही ऐनमा अपुतालीसम्बन्धी व्यवस्था पनि छ। जसले नजिकबाट ज्येष्ठ नागरिकको स्याहार सम्भार हेरचाह गर्छ उसले नै अपुताली हक पाउँछ। मालपोत, भूमिसुधार कार्यालयमा ज्येष्ठ नागरिकले सम्पत्तिको हक हस्ताक्षरण गर्दा क्रस चेक गर्नुपर्छ। यावत् कानुन व्यवस्था हुँदा हुँदै पनि कार्यान्वयनमा समस्या हुँदा ज्येष्ठ नागरिकले दुःख पाइरहेका अवस्था छ। 
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव निराजन घिमिरेले  राजीखुसीले सम्पत्ति हस्तान्तरण गरेपछि  समस्या परेको भन्दै उजुरी आउने गरेको बताए। ‘स्वइच्छाले दिएको विषय हुन्छ, सम्पत्ति पाएपछि आफनै सन्तान छोडिने गरेका छन्,’ उनले भने । 

ज्येष्ठ नागरिकसम्बन्धी कानुन व्यवस्थाकै कारण वृद्धावृद्धा समस्यामा पर्दै आएकाले सम्पत्ति हस्तान्तरणको कानुनी व्यवस्थामा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। उपसचिव घिमिरेले आफैं यस विषयमा अध्ययन गरेर मन्त्रालयलाई सुझाव पनि दिएका छन्। छोराछोरालाई सम्पत्ति हस्तान्तरण गर्दा एक भाग भने आफूले राख्न पाउने व्यवस्था गर्नुपर्ने उनको सुझावमा छ। उनले ज्येष्ठ नागरिक विषयमा प्राथमिकता पनि नपर्ने 
गरेको बताए।

उनले ज्येष्ठ नागरिकको संरक्षण, सम्मान र अनुभव अन्तर पुस्ता हस्तान्तरण विषयलाई  हुनुपर्ने बताए। मन्त्रीको संयोजकत्मक केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति छ तर त्यो पनि सक्रिय हुन सकेको छैन। यो समितिलाई सक्रिय बनाएर प्रदेश, जिल्ला, स्थानीय तहस्तरमा संरचना विस्तार गर्न सकेमा ज्येष्ठ नागरिक क्षेत्र धेरै काम हुनेछ।  बिमाको अनिवार्य र निःशुल्क व्यवस्था गरेमा ज्येष्ठ नागरिकको संरक्षण हुन्छ। बिमा अनिवार्य गर्नुपर्छ। सामाजिक सुरक्षा भत्ता न्यून रहेकाले स्वास्थ्य समस्या हुँदा उपचारमा बिमाले सहयोग गर्नेछ। 

हवाई यातायातमा छुट दिँदैनन् 
यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशतको छुटको व्यवस्था छ। तर, हवाई यातायातमा यो छुट उनीहरूले पाउँदैनन्। मन्त्रालय सूचना अधिकारीसमेत रहेका घिमिरेले सार्वजनिक यातायात र हवाई सेवा सबै छुट दिने व्यवस्था राज्यको भएको बताए। उनी आफैंले समेत हवाई सेवा छुट नपाएको गुनासो गरे। कार्यान्वयनमा सरकार जिम्मेवार हुन नसकेको उनी स्वीकार गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.