बाहुन र दलितको जमरा एकैस्थानमा (फोटोफिचर)
काठमाडौं : नेपाली समाजमा अहिले पनि छुवाछुत प्रथा कायमै छ । तर, नुवाकोटको वेलकोटगढीले आफूलाई छुवाछुतमुक्त गाउँको रुपमा परिचय थपिरहेको छ । ग्रामीण समाजमा जातीय छुवाछुत र भेदभाव हुने गरेपनि वेलकोटगढी भने धार्मिक सहिष्णुताको नमूना गाउँ बन्दै गएको हो।
उँचो तथा निचो जात नभनी सबै मिलेर एकै स्थानमा गरेको धार्मिक कार्यको सबैतिर चर्च हुने गरेको छ। नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यसवर्ष पनि वडादसैंको अवसरमा ब्राम्हण र दलित समुदायकाले एकैस्थानमा जमरा राखेका छन्।
नेपाल एकीकरणपछि नुवाकोटवाटै सुरुवात गरेका पृथ्वीनारायण शाहको पालादेखि वेलकोटगढीस्थित निरञ्जला भगवतीको मन्दिरमा सामूहिक जमरा राख्ने परम्परालाई यसपटक वेलकोट र आसपासका दुई सय ५० घरधुरीका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको स्थानीय निरन्जना भगवती मन्दिरका मुल पुरोहित नरनाथ पौडेलले अन्नपूर्णलाई बताए ।
पन्चेबाजा, नराबाजासहित पाँचजना पुरोहितको टोलीले सामूहिक रुपमा जमरा राख्ने कार्य पूरा गरेका हुन्। सदियौंदेखिको दलित र ब्राम्हण समुदायबीच पानी नचल्ने परम्परा तोड्दै यसवर्ष पनि नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. १० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन बिहीबार सामूहिक जमरा राखेका हुन्। परम्परालाई स्थानीय ब्राम्हण, क्षेत्री, नेवार, मगर, घर्ति, जनजाती तथा दलित समुदायका मिजार, विक, दमाई, नेपालीका परिवारले निरन्तरता दिएका हुन् ।
३० वर्षदेखि मुल पुरोहितको रुपमा रहेका पौडेलका अनुसार सो मन्दिरमा दुईसय ४२ वर्ष भन्दा लामो समयदेखि सामूहिक रुपमा जमरा राखिँदै आएको हो । विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको निरन्जना भगवतीको मन्दिरमा सामूहिक जमरा राख्न तथा पूजा सञ्चालन गर्नका लागि वेलकोटगढी नपाले यस वर्ष दुई लाख रुपैयाँ उपलब्ध गराएको छ।
नपाले वडादसैंका लागि निरन्जनामा पूजाका लागि २०७७ सालमा दुई लाख, २०७६ मा दुई लाख, २०७५ मा एकलाख ४० हजार र २०७४ मा एकलाख २० हजार रुपैयाँ उपलब्ध गराएको थियो।
सामूहिकरुपमा जमरा राख्ने कार्यले स्थानीय समुदायबीच नमूनाको अभियान भइरहेको वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताए । उनका अनुसार स्थानीयवासीको योजनाअनुसार नै वेलकोटगढी र निरन्जना भगवतीको मन्दिर पुर्ननिर्माणको कार्य सुरु गरिने छ।
वेलकोटगढी ऐतिहासिकस्थल र धार्मिक पर्यटनको केन्द्रसमेत भएका कारण सोही स्थानको नामबाट वेलकोटगढी नपाको नामांकरण भएको मेयर राजेन्द्ररमण खनालले बताए । निरन्जना मन्दिरको संरक्षणका लागि विशेष गुरुयोजना तयार पारिएको उनले समेत उनले जानकारी दिए।
घटस्थापनादेखि मन्दिरमा सामूहिकरुपमा राखिएको जमराले गाउँमा छुवाछुतको प्रथाविरुद्ध नमुनायुक्त सन्देश दिएको निरन्जना भगवती मन्दिर तथा गढी संरक्षण समितिका अध्यक्ष कालिबहादुर तिवारीले बताए।
मन्दिरमा रहेको कोटघरमा वेलकोटको पाण्डेगाउँ, सुन्दरबजार, वेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका अधिकांश घरमा बढादसैंका अवसरमा घरघरमा जमरा राखिँदैन।
‘हामीले विगतका वर्षहरुमा प्रसादको रुपमा मात्र केही जमरा लैजाने गर्दथ्यौं, सामूहिक जमरा राखेका अर्का स्थानीय हरिशरण कँडेल भन्छन्,' विगतका वर्षहरुबाट हामीले पनि जमरा राख्ने परम्परालाई निरन्तरता दिन थाल्यौं।'
सामूहिक रुपमा जमरा राखेका भीम नेपालीले आधुनिक जमाना र परम्पराको निरन्तरता नै आफ्नो गाउँको विशेषता भएको बताए । रसुवाको कालिकास्थान, धुन्चेलगायतका स्थानमा पनि सामूहिकरुपमा जमरा राखिएका छन्।