सेयर बजारमा चलखेल

सेयर बजारमा चलखेल

अस्थिर बजारले सेयरको मूल्यप्रति लगानीकर्ता विश्वस्त नरहेको स्पष्ट संकेत गरेको छ।


कोरोनाको सुरुआती समयतिर बन्द रहेको नेप्सेले ११८८.१५ बिन्दुबाट ३१९८.६० को उचाइ प्राप्त गर्‍यो। १४ महिनामा १६९.२ प्रतिशतको लाभ, निक्षेपमा घट्दो ब्याज, वैकल्पिक लगानी अवसर अभाव तथा अनलाइन सेयर किनबेच, भुक्तानी र राफसाफ प्रविधिमा भएको केही विकास भयो। यसले ठूलो संख्यामा नवप्रवेशी सेयर बजारप्रति आकर्षित हुँदा सेयर बजारले बिन्दुगत र कारोबार रकममा ऐतिहासिक उचाइ चुम्यो। यद्यपि यो उचाइ लामो समय रहन भने सकेन। नेप्से २६१५.४० बिन्दुसम्म तल झर्‍यो। साथै दैनिकजसो नेप्सेमा उग्र उतारचढाव पनि देखिन थालेको छ।

अस्थिर बजारले सेयरको मूल्यप्रति लगानीकर्ता विश्वस्त नरहेको स्पष्ट संकेत गरको छ। अनेकौं चलखेल गरी सेयरको माग तथा आपूर्तिमा प्रभाव पार्ने र मूल्यमा कृत्रिम घटबढ गराउने काम हुन्छ। जुन विश्वका सबै सेयर बजारमा हुने गरेको छ। यसै सन्दर्भमा नेपालमा नहुने सम्भावना कमै छ। धितोपत्रसम्बन्धी अन्तर्राष्ट्रिय आयोगले चलखेलको समयमा पहिचान गरी चलखेलकर्तालाई कानुनी कारबाहीको दायरामा ल्याउने सम्बन्धमा मार्गदर्शन जारी गरेको छ। 

नेपालको धितोपत्रसम्बन्धी ऐनमा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था छ। यद्यपि, चलखेल पहिचान गरी चलखेलकर्तालाई कारबाही गरेको इतिहास हामी सामु छैन।

चलखेलकर्तासँग ठूलो संख्यामा सेयर रहुन्जेल डम्पिङ र पम्पिङको प्रक्रिया चलिरहन्छ। चलखेलकर्तासँग सेयर सकिएपछि पम्प हुन छोड्छ। मूल्यका साथै सेयर कारोबार संख्या विस्तारै घट्न थाल्छ।

कर्नरिङ, पम्पिङ र डम्पिङ चलखेलका मुख्य तीन चरण हुन्। कर्नरिङका लागि आपूर्ति कम भएका र बजारमा थोरै मात्रामा कारोबार हुने सेयर छानिन्छ। कर्नरिङको सबैभन्दा प्रचलित उपाय बजारबाट मूल्य नबढ्ने गरी लामो समय लगाएर ठूलो मात्रामा सेयर खरिद गर्ने हो। धितोपत्रमा सूचीकृत नभएको कम्पनीको सेयर ठूलो मात्रामा खरिद गरी सो कम्पनीलाई सूचीकृत कम्पनीसँग मर्ज गराएर पनि ठूलो मात्रामा सेयर जम्मा गर्न सकिन्छ। कम्पनी स्थापना गर्ने सञ्चालकहरूसँग ठूलो मात्रामा सेयर हुने भएकाले कतिपय अवस्थामा सञ्चालक आफैं चलखेलकर्ता पनि हुन सक्छन्। माथि मूल्य पुगेपछि मात्र बेच्ने भित्री सर्तसहित अन्य लगानीकर्ताको प्रयोग वा बढेको मूल्यको नाफा बाँडफाँट गर्ने कर्नरिङ अर्को अप्रत्यक्ष उपाय हो।

सेयरको ठूलो हिस्सा आफूसँग भएपछि मूल्य बढ्दा पनि थोरै मात्रामा सेयर आपूर्ति हुने अवस्था रहे पछिमात्र पम्पिङ अर्थात् सेयर मूल्यमा सकारात्मक सर्किट लगाउने चरण सुरु हुन्छ। पम्पिङका लागि अनुकूल समयको खोजी गरिन्छ। कम्पनी राम्रो भएको वा बासलात तथा नाफा नोक्सानीमा राम्रो सुधार भएको खबर विभिन्न सञ्चारमाध्यमबाट पे्रषित गरी लगानीकर्तामा बजार हल्ला पुर्‍याइन्छ। त्यसपश्चात् माथि–माथिको मूल्यमा सेयर खरिद गर्न सुरु गरिन्छ। धेरै कारोबार देखाउन आफ्नै समूहबीच पनि ठूलो मात्रामा कारोबार गरिन्छ। समाचार, मूल्य र कारोबार संख्या देखेपछि थप लगानीकर्ताहरू उक्त सेयरमा आकर्षित हुन थाल्छन्।

खरिद गर्ने ग्राहकलाई माथिको मूल्यमा भिडाउने तर खरिद नगर्ने उद्देश्य राखिन्छ। ठूलो खरिद आदेशका भर्‍याङ बनाएर राखिदिने, बजार बन्द हुने समयमा माथिल्लो मूल्यमा खरिद गर्ने, मूल्य बढ्छ भन्ने जस्ता हल्ला फिजाइन्छ। जसबाट आपूर्ति कम गराई थोरै संख्या खरिदमै सकारात्मक सर्किट लगाउनेलगायतका उपायमार्फत मूल्यलाई धेरै माथि लगिन्छ। आफूले चाहेको मूल्यमा लामो समय कारोबार हुन थालेपछि आफूसँग रहेको सेयर बेच्ने अथवा डम्पिङको चरण सुरु हुन्छ।

ठूलो मात्रामा सेयर बेच्दा बजार मूल्य तल जान सक्ने हुँदा बजारले थाहा नपाउने गरी समय लगाएर बेच्नुपर्ने हुन्छ। बेच्दै जाँदा मूल्य तल झरे फेरि पम्पिङको चरण सुरु हुन्छ। चलखेलकर्तासँग ठूलो संख्यामा सेयर रहुन्जेल डम्पिङ र पम्पिङको प्रक्रिया चलिरहन्छ। चलखेलकर्तासँग सेयर सकिएपछि पम्प हुन छोड्छ। मूल्यका साथै सेयर कारोबार संख्या विस्तारै घट्न थाल्छ। मूल्य घट्दै जाँदा बल्ल लगानीकर्ताले प्रतिफलको तुलनामा बढी मूल्यमा लगानी गरेको पत्तो पाउँछन्। यति 

बेलासम्म चलखेलकर्ताले आफ्नो साथमा रहेका सबै सेयर उच्च मूल्यमा अरूलाई भिडाइ मोटो रकमको साथमा लिई बाहिर निस्किसकेका हुन्छन्।

चलखेल गरिएका सेयरको मूल्यमा अत्यधिक उतारचढाव हुन्छ। सेयर बजारमा चलखेल गरिएको सेयरको संख्या उलेख्य भएको अवस्थामा समग्र सेयर बजार नै अस्थिर हुन्छ। बजार अस्थिर रहँदा ठूला लगानीकर्ताले बजार घट्दा खरिद गर्दै औसत लागत घटाउन सक्छन्। बजार बढ्दा समग्रमा नाफामा रहन्छन् तर साना लगानीकर्ताले बजार घट्दा थप खरिद गरी औसत लागत घटाउन सक्दैनन्। यसो हुँदा अस्थिर बजारमा साना लगानीकर्ताले समग्रमा गुमाउने अवस्था रहन्छ। यस्तो अवस्था 

लामो समय रहन जाँदा दीर्घकालमा समग्र सेयर बजार नै धराशायी हुने सम्भावना रहन्छ। सेयरको मूल्य प्राकृतिक मूल्यको वरिपरि रहने र कृत्रिम रूपमा मूल्यमा घटबढ हुन नदिनु धितोपत्र नियमनकर्ताको प्रमुख दायित्व हो।

संस्थाले भविष्यमा दिन सक्ने लाभांशलाई प्रचलित ब्याजदरले छुट गर्दा आउने मूल्यलाई गोर्डनको सैद्धान्तिक बजार मूल्य भनिन्छ। यसलाई सेयरको दीर्घकालीन अर्थात प्राकृतिक मूल्यको रूपमा पनि हेरिन्छ। यदि बजार मूल्य प्राकृतिक अथवा आधारभूत मूल्यभन्दा अत्यधिक माथि वा तल भएमा चलखेल भएको सम्भावना बढ्छ। यस्ता सेयर ठूलो मात्रामा कारोबार गर्ने लगानीकर्ता चलखेलकर्ता हुन सक्ने भएकाले उक्त लगानीकर्तासँग भएको सेयर संख्या, सेयरको औसत लागत, खरिद आदेश र खरिदको अनुपात, बिक्री आदेश र बिक्रीको 

अनुपात, बजार बन्द हुने बेला मूल्य माथि उचाल्ने गरेनगरेको, कुन आईपी एड्रेसबाट कति कारोबार भइरहेको, बैंक स्टेटमेन्ट, सेयरवाला कम्पनीको सञ्चालकसँगको सम्बन्धलगायतका विषयको सूक्ष्म निगरानी राख्नुपर्छ।

निगरानीका लागि सम्बन्धित निकायहरूसँग सहकार्यकार्य गर्ने सम्झौता भएको हुनुपर्ने अन्तर्राष्ट्रिय मार्गदर्शनमा उल्लेख छ। बजार बाह्य देशका लगानीकर्तालाई पनि खुला भएमा अन्य देशका धितोपत्र नियमनकर्तासँग पनि सहकार्यको सम्झौता गर्नुपर्छ। विश्वमा अधिकांश सेयर नियमनकर्ताहरूले कारोबार भइरहेको अवस्थामै चलखेल पत्ता लगाउन सक्ने एलगोरिदमसहितका प्रविधिहरूको निर्माणमा प्रशस्त लगानी गरिरहेका छन्। प्रविधि विकाससँगै चलखेल गर्ने नयाँ तरिकाहरू अपनाइने हुँदा नियमनकर्तालाई पनि तत्काल चलखेल पहिचान गर्न गाह्रो पर्छ। पहिचान भएको अवस्थामा कानुनी कारबाही अगाडि बढाउनसमेत प्रमाण पर्याप्त नहुने अवस्था हुन सक्छ। प्रविधिको विकल्पमा कम्पनीको लाभांश क्षमतामा प्रभाव पार्ने सूचनामा समान हक स्थापित गर्ने कुरामा जोड दिने गरेका छन्। 

कम्पनीको वासलात, नाफा नोक्सान, व्यापार, भाव रणनीति, व्यवस्थापन, प्रतिस्पर्धाको अवस्था, समग्र बजारको अवस्था तथा कम्पनीमा भएका जोखिमलगायत सूचना सबै लगानीकर्ताले एकै पटक थाहा हुने अवस्था भएमा चलखेल स्वतः कम हुन जान्छ। सञ्चालक र कर्मचारीहरूले आन्तरिक सूचनामा पहुँच हुने हुन्छ। सोही कम्पनीको सेयर कारोबार र अन्य लगानीकर्तालाई अग्रिम सूचना दिने विषयमा आचारसंहिता लागू गर्ने प्रचलन अन्यत्र पनि रहेको छ।

नेपालको धितोपत्र ऐनमा चलखेललाई दण्डनीय अपराधको रूपमा लेखिएको छ। तर पनि चलखेलका पत्ता लगाउने प्रविधि निर्माणमा ध्यान अझै जान सकेको छैन। त्रैमासिक सकिएको ३० दिनभित्र वासलात, नाफा नोक्सान, प्रमुख वित्तीय सूचक र कम्पनीको अन्य अवस्था बारेमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। तर, विवरण प्रकाशन नगर्ने कम्पनीको ३१औं दिनबाट कारोबार रोक्का गर्ने र प्रकाशन नगरुन्जेल प्रत्येक ढिलो भएको दिनका दरले हर्जाना लगाउने व्यवस्था छैन। एकै क्षमताका र समान आय भएका जलविद्युत् कम्पनीमा कसैको ह्रास खर्च कम देखाएर नाफा देखिन सक्छ। कसैको ह्रास खर्च सामान्य देखाएर घाटा देखिएको अवस्थासमेत हुन्छ। एकै प्रकृतिका संस्थाले आय र खर्च फरक लेखा मापदण्डअनुसार प्रकाशित गर्दा कुनै कारबाही भएको देखिँदैन।

सामाजिक सञ्जालमा कुनै एक कम्पनीको सेयर किन्न प्रोत्साहित गर्ने उद्देश्यले अनेकौं प्रवचन दिने कार्य खुलेआम हुने गरेका छन्। कुनै एक कम्पनीको सेयर खरिद वा बिक्री प्रोत्साहन गर्न प्रचलित अनलाइन मिडियाले खुलेरै विश्लेषण गर्ने गरेको पाइएको छ। सूचीकृत कम्पनी विशेषको बारेमा प्रकाशन गर्ने, सामाजिक सञ्जालमा खरिद वा बिक्री गर्न प्रोत्साहन गर्ने, नेप्से गुरुका नाममा नेप्से प्रक्षेपण गर्ने लगायतका विषयमा नीति छैन। समग्रमा, कम्पनीको आधारभूत क्षमताअनुसारको मूल्यमात्र दिगो रहन्छ। कृत्रिम मूल्य कायम गर्ने प्रयासको शीघ्र्र पहिचान गरी चलखेलकर्तालाई कानुनी कारबाहीको दायरामा उभ्याउनु पर्छ। अनि मात्र समग्र लगानीकर्ताको हित गर्ने स्वस्थ सेयर बजार निर्माण हुन सक्छ।

लेखक नेपाल राष्ट्र बैंकका उपनिर्देशक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.