नक्कली नोट पर्ला नि !

नक्कली नोट पर्ला नि !

काठमाडौं : चाडबाडको बेला छ। किनमेल र सरसापटी गर्दा पैसाको कारोबार हुन्छ।  यस्तै बेला, नक्कली नोटको कारोबार गर्नेले सर्वसाधारणलाई झुक्याएर नक्कली नोट भिडाउने गरेका छन्। चाडबाडको बेला पैसाको कारोबार गर्दा सतर्क हुनुपर्ने सुझाव दिन्छन्, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल।

भीडभाडमा किनमेल गर्दा र हतारमा पैसाको कारोबार गर्दा नक्कली नोटका कारोबारीले सर्वसाधारणलाई झुक्याउने गरेको नेपालको भनाइ छ। ‘यस्ता गिरोहले सक्कली नोटमा नक्कली मिसाएर सर्वसाधारणलाई ठग्ने गरेका छन्,’ नेपालले अन्नपूर्णसँग भने। 

यस्ता नोटहरू बैंकिङ प्रणाली पनि पार गरेर राष्ट्र बैंकसम्म पुग्ने गरेका छन्। प्रहरीले नक्कली नोटको कारोबार गर्नेलाई बेलाबेला पक्राउ गरे पनि यस्ता घटनामा भने कमी आएको छैन। 

दसैंको मुखमा धनकुटाबाट नक्कली नोट कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो। एक लाख नक्कली नोट बरामद भएपछि प्रहरीले दसैं, तिहार, छठलगायतका चाडपर्वमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गर्‍यो। 

भदौ अन्तिम साता नक्कली नोटको कारोबार गर्ने गिरोह नै पक्राउ पर्‍यो। प्रहरीको स्पेसल टास्क फोर्सले बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको थियो। उनीहरूबाट प्रहरीले नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको थियो। 

गत वर्ष यस्तो नोट छाप्ने मेसिनसहित गिरोह नै पक्राउ परेको थियो। काठमाडौं र काभ्रेबाट नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नोट फोटोकपी गर्ने मेसिन पनि प्रहरीले बरामद गरेको थियो।  नेपाली नोट मात्र होइन, भारतीय नोट (भारु) र अमेरिकी डलरसमेत नक्कली बनाएर कारोबार गर्नेलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पछिल्ला पाँच वर्षमा नक्कली नोट बनाएर कारोबार गर्ने २ सय १६ जना स्वदेशी र विदेशीलाई पक्राउ परेका छन्। नेपाली १ सय, ५ सय र हजार दरका ९८ हजार ९ सय ३९ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०७३/०७४ मा २० जनाबाट ५ लाख ५६ हजार ४ सय रुपैयाँ र ७२ हजार ४ सय भारतीय नक्कली नोट बरामद गरिएको थियो। २०७४/०७५ मा ४७ जना अभियुक्तबाट 

२ करोड ६४ लाख ८८ हजार रुपैयाँ र २ लाख ४४ हजार ४ सय भारु नक्कली नोट बरामद गरियो। २०७५/०७६ मा ३९ जना अभियुक्तबाट ६ लाख ६६ हजार रुपैयाँ, ७२ हजार ४ सय भारु र २ हजार ६ सय अमेरिकी नक्कली डलर बरामद गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै २०७६/०७७ मा ६५ जना अभियुक्तबाट १८ लाख भारु र १५ हजार ५ सय अमेरिकी डलर नक्कली मुद्रा बरामद गरेको थियो। आव २०७७/०७८ मा ४४ जना अभियुक्तबाट ४० लाख ५९ हजार नेपाली रुपैयाँ, १ लाख १५ हजार ५ सय भारु र १० लाख अमेरिकी डलर नक्कली मुद्रा बरामद गरिएको थियो। 

५ वर्षमा १ सय २२ वटा नक्कली नोट कारोबारका मुद्दा दर्ता भएका छन्। प्रहरी प्रवक्ता वसन्तबहादूर कुँवर छिटो पैसा कमाउने लालसाले नक्कली नोटको कारोबार हुने गरेको बताउँछन्। 

बैंकहरूमा नोट जाँच गर्ने मेसिन भए पनि हप्ता दस दिनमा एक/दुई वटा नक्कली नोट राष्ट्र बैंकसम्मै पुग्ने गरेको कार्यकारी निर्देशक नेपाल बताउँछन्। दसैं, तिहारजस्ता चाडपर्वमा भीडभाड हुने गरेकाले पसल, मेला, हाटबजार, रमाइलो गर्ने ठाउँमा सक्कली नोटभित्र नक्कली नोट राखेर भिडाउने सम्भावना बढी हुन्छ। ‘अहिले नोट काउन्टिङ मेसिनले नक्कली नोट पहिचान गर्ने स्क्यानर राखेको छ,’ कार्यकारी निर्देशक नेपालले भने, ‘केन्द्रीय बैंकसम्मकमै नक्कली नोट आइपुग्छन्। नाङ्गो आँखाले छुट्ट्याउन नसकिने, छाम्दा थाहा नहुने गरी नक्कली नोट निकाल्ने रहेछन्।’ 

प्रहरी प्रवक्ता कुँवर पनि सर्वसाधारणले सक्कली र नक्कली नोटका फरकपनबारे बुझ्नु जरुरी भएको बताउँछन्। ‘नोटका फिचरहरू फरक हुन्छन्,’ उनले भने , ‘कागजको गुणस्तर पनि फरक हुन्छन्। नक्कली नोटमा सेक्युरिटी तार हुँदैन।  गहिरिएर हेर्‍यो भने नक्कली र सक्कली अनुमान गर्न सकिन्छ।’  चाडपर्वको बेला नक्कली नोट फैलाउने गिरोह सल्बलाउने भएकाले सर्वसाधारणले सचेत हुनुपर्ने उनले बताए। 

कसरी थाहा पाउने नक्कली नोट ?
पैसाको कारोबार गर्दा नोटको कागजबारे जानकारी राख्नुपर्छ। नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ भने सक्कलीको खस्रो र कडा हुन्छ। नक्कली र सक्कली नोट चिन्ने अर्को माध्यम हो, सुरक्षण धागो (सेक्युरिटी थ्रेड)। सक्कली नोटमा सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ भने नक्कलीमा धागोपछि लेपको रूपमा मात्र राखेको हुन्छ। अपरिचित व्यक्तिसँग ‘क्यास’ को कारोबार नगर्ने, भीडभाडमा सतर्क रहने र बैंकिङ च्यानलबाट मात्र कारोबार गर्दा नक्कली नोटबाट जोगिन सकिने विज्ञहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.