यस्तै हो भने म जसपामा रहन्नँ : मेयर सरावगी

यस्तै हो भने म जसपामा रहन्नँ : मेयर सरावगी

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले आफ्नो दल जनता समाजवादी पार्टी (जसपा) मा अराजकता र छाडापन बढेको बताएका छन्। जसपाबाटै वीरगन्ज महानगरको नगरप्रमुख निर्वाचित सरावगीले पार्टीभित्र बढेको अराजकता र छाडापन नरोकिए आगामी निर्वाचनमा पार्टीले  त्यसको ठूलो क्षति व्यवहोर्ने निश्चित रहेको बताए। 

वीरगन्जमा बिहीबार आयोजित जसपाको जिल्ला स्तरीय विस्तारित बैठकमा बोल्दै सरावगीले कुनै लाभको पद नपाएको आक्रोशमा पार्टी नेतृत्वकै पुत्ला जलाउने , पार्टीको झण्डा जलाउने जस्ता हर्कत गर्ने विरुद्ध पार्टीले कुनै कार्वाही नगर्नु दुखद भएको गुनासो गरे। 

वर्तमान सरकारमा जसपाले पर्सा निर्वाचन क्षेत्र १ बाट निर्वाचित जसपाका सांसद प्रदीप यादवलाई पार्टीले मन्त्री बनाएको भन्दै  यादवका समर्थक र कार्यकर्ताले वीरगन्जमा पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला र पार्टी कार्यालयको साइनबोर्ड जलाएर प्रदर्शन गरेका थिए। 

त्यसैलाई लक्षित गर्दै नगरप्रमुख सरावगीले बिहीबारको बैठकमा भने, ‘यस्तै अराजकता र छाडापन रहने हो अब जसपामा कोही पनि असल र इमान्दार कार्यकर्ता टिक्नेवाला छैन। भोलिका दिनमा म पनि यो पार्टीमा बस्न नसक्ने बाध्यात्मक अवस्था आउन सक्छ।' 

आफूलाई पार्टीबाट जिम्मेवारी विहीन बनाउँदा र पार्टीकै नेता कार्यकर्ताबाट पटक-पटक दुर्व्यवहार गरिंदा समेत आफूले त्यसको आक्रोश कहिले पनि सार्वजनिक रुपमा नपोखेको सरावगीले बताए। आफूलाई पार्टीको कुनै पनि बैठकमा नबोलाउने गरिएको भन्दै उनले भने, ‘जब आर्थिक सहयोग जुटाउने उद्देश्यले बैठक हुन्छ त्यो बैठकमा भने अवश्य मलाई बोलाइन्छ।' 

आफू पार्टीमा प्रवेश गर्ने बेलामा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिए पनि प्रदेश कमिटी कोषाध्यक्ष मात्रै बनाइएको र अहिले त्यो जिम्मेवारी पनि खोसिएको गुनासो गरे। 

 जसपाका जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा बसेको बिहीबारको बैठकमा पार्टीका केन्द्रीय सदस्य हरिनारायणी रौनियार, वीरेन्द्र यादव, जनार्दन यादव, फिरोज मन्सुर, आत्मराम साह, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी लगायतको सहभागिता थियो। 

तर बैठकमा केन्द्रीय सदस्य समेत रहेका सांसद प्रदीप यादव र उनी पक्षका नेता कार्यकर्ता भने सहभागी थिएनन्। जसपाका जिल्ला सचिव तबरेज अहमदले भने बैठकमा सबै नेतालाई आमन्त्रण गरिएको र समय अनुकुल नभएका कारण केही नेता आउन नसकेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.