एक दशकमा उत्सर्जन दोब्बर
यही वर्षको उदाहरण हेर्दा पुसमाघपछि वायु प्रदूषण ह्वात्तै बढ्यो। जसले विद्यालयसमेत बन्द गर्नुपर्यो। पहिला पनि वायु प्रदूषित भयो। तर यस पटक लामो समय सुक्खा परेकाले वनजंगलमा डँढेलो लाग्यो। त्यहाँको असर काठमाडौंमा पनि पर्यो। काठमाडौंमा धुवाँ थपियो। जाडोमा बेस्सरी पानी नपर्ने, त्यसपछि मनसुन सुरु हुँदा नहुँदै एकैपटक पानी पर्यो। त्यसले मेलम्चीमा पनि ठूलो विपत्ति ल्यायो। दशकौंदेखिको मेलम्चीको योजना अनिश्चित भयो। जलवायुजन्य असरले विकास निर्माणका कार्यमा अनिश्चितता थपिदियो। काठमाडौंका फोहोर पनि बाहिर जान सकेनन्। दसैंपछि पनि पानी परेर सयौंको ज्यान गयो।
पहिला मौसमको अनुमान गर्न सक्थ्यांै। यतिबेला यति पानी पर्छ भन्ने अनुमान गर्न सकिन्थ्यो। तर आजकल त्यो गर्न सकिन्न। यसलाई जलवायु परिवर्तनको असर भन्न सक्छौं। वैज्ञानिक रूपमा प्रमाणित विस्तारै होला तर यसको असर देखिएको छ। जलवायु परिवर्तनका कारण काठमाडौंवासीले फेर्ने हावामा असर देखिएको छ। विकसित देशले गरेको गल्तीले धेरै असर हामीलाई पर्ने गरेको छ। पृथ्वीको तापक्रम झन्झन् बढ्ने निश्चित छ। हाम्रो समाज प्रकृतिमा बढी आश्रित छ। जनजीवन नै कृषि प्रणाली र प्रकृतिमा निर्भर भएकाले अलिकति खल्बलिने बित्तिकै धेरै असर गर्छ। त्यसलाई त्यो परिवर्तनको व्यवस्थापन गर्ने क्षमता कम छ। हाम्रो भूगोल त्यस्तै छ। त्यसैले बढी चिन्तित हुनुपर्छ।
फोहोर वायुका कारण खासगरी काठमाडौं उपत्यका र चितवनमा जीवनको आयु ३/४ वर्ष घटेको छ। काठमाडौंको प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० गुणाले बढेको छ। २०७६ मा वातावरण संरक्षण ऐन उच्चस्तरीय राष्ट्रिय वातावरण तथा जलवायु परिषद् छ। त्यसले नेतृत्वदायी भूमिका खेल्नु पर्यो। त्यो परिषद् गठनसमेत भएको छैन। प्रधानमन्त्रीले बैठक डाक्नुपर्ने हो। ग्लास्गोमा के कुरा गर्ने ? त्यस विषयमा बैठक हुनुपथ्र्यो। त्यहाँ गएर आएपछि झनै धेरै काम हुन्छ। हाम्रो आफ्नै स्वास्थ्यका लागि जलवायु परिवर्तनसम्बन्धी काम गर्नुपर्छ।
विद्युतीय सवारी तत्काल सुरु गर्नुपर्ने हो। हुनुपर्ने जति काम भएको छैन। अहिलेको बजेटले मोटरसाइकल एसेम्ली गर्नेलाई ५० प्रतिशत अन्तशुल्क छुट गरेको छ। तर विद्युतीय मोटरसाइकललाई छुट दिनुपर्ने थियो। अनि उत्सर्जन घटाउन सकिन्छ। अनि संसारलाई भन्न सकिन्थ्यो। सरकारले अर्थतन्त्र र जनताको स्वास्थ्यका लागि काम गर्नुपर्छ। उत्सर्जन एक दशकमा दोब्बर भएको छ। गति एकदमै बढेको छ। हाम्रै देशवासीको स्वास्थ्य र अर्थतन्त्रका लागि उत्सर्जन घटाउनुपर्छ।
(लेखक वातावरणविद् हुन् ।)