वीरगन्ज भन्सारद्वारा लगातार लक्ष्यभन्दा बढी राजश्व संकलन
वीरगन्ज : लगातार ६ वर्षदेखि राजश्व संकलनमा सरकारी लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ।
मुलुकको प्रमुख भंसार नाका वीरगन्ज भन्सार कार्यालय यसअघि मधेस आन्दोलन, नाकाबन्दी, कारोना महामारी र लकडाउनका कारण प्रभावित हुँदा निरन्तर ६ वर्ष राजश्वको लक्ष्य पूरा गर्न असफल भएको थियो।
तर चालु आर्थिक वर्ष २०७८/०७९ सुरु भए यताको तीन महिना ( साउन, भदौ र असोज) मा वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी नै राजश्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको गत असोज महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी अर्थात ३ अर्ब ७६ करोड ५९ लाख ६० हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ।
गत असोज महिनाका लागि भन्सार विभागले १६ अर्ब ७५ करोड १ लाख ९७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले असोजमा २० अर्ब ५१ करोड ६१ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो।
यस्तै गत भदौ महिनामा पनि लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात लक्ष्यभन्दा १ अर्ब ९९ करोड ६३ लाख १२ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ। भदौ महिनाका लागि १५ अर्ब ७० करोड ९४ लाख ३४ हजारको लक्ष्य पाएकोमा १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो।
भारतबाट नेपाल भित्रिंदै गरेका मालवाहक गाडीहरु वीरगन्ज भन्सार नाकाको गेटमा ।
यस्तै चालु आर्थिक वर्षको सुरुकै महिना साउनमा पनि लक्ष्यभन्दा २५ प्रतिशत बढी अर्थात लक्ष्यभन्दा ३ अर्ब १ करोड ८३ लाख २३ हजार रुपैयाँ बढी राजश्व उठाउन सफल भएको छ।
गत साउनमा भन्सार विभागले ११ अर्ब ८२ करोड ७५ लाख ५ हजारको लक्ष्य दिएकोमा १४ अर्ब ८४ करोड ५८ लाख २८ लाख रुपैयाँ राजश्व संकलन गरेको हो।
यसअघि आर्थिक वर्ष २०७२/०७३ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म लगातार ६ वर्षसम्म राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल हुँदै आएको थियो।
तर चालु आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै लक्ष्यभन्दा बढी नै राजश्व संकलन गर्दै आएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।
बढी राजश्व उठ्ने मालवस्तु ( नयाँ सवारीसाधन, इन्धन इत्यादि) को आयात परिमाण बढेका कारण चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म हरेक महिनामा भन्सारले लक्ष्यभन्दा बढी नै राजश्ज संकलन भएको पौडेलले बताए।
पौडेलका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना ( साउनदेखि असोजसम्म) को अवधिमा वीरगन्ज नाका हुँदै नयाँ सवारीसाधनको आयात , गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३१ प्रतिशतले बढेको छ।
यस्तै इन्धन (पेट्रोल, डिजेल, हवाइ इन्धन, एलपी ग्याँस ) को आयात पनि गत आर्थिक वर्षको पहिलो ३ महिना ( साउनदेखि असोजसम्म ) को अवधिभन्दा चालु आर्थिक वर्षको पहिलो ३ महिना ( साउनदेखि असोजसम्म) को अवधिमा ३१.५३ प्रतिशतले बढेको छ।
यसका साथै लामो समयसम्म चलेको कोरोना माहमारी र लकडाउनपछि अहिले बजार चलायमान भएका कारणले औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य मालवस्तु इत्यादिको आयात पनि बढेकाले त्यसको प्रत्यक्ष सकरात्मक प्रभाव भन्सार राजश्वमा परेको पौडेलले बताए।
पौडेलले भने, ‘राजश्व संकलन बढ्नुको मुख्य कारण २ वटा छन्, एउटा बढी राजश्व दिने नयाँ गाडी र इन्धनको आयात निक्कै बढेको छ। अर्को लकडाउन खुलेपछि बजार चलायमान भएको छ। लकडाउनले विदेशमा लामो समय सम्म रोकिएका मालवस्तु अहिले धमामधम आइरहेको छ।'