बागमती प्रदेश र पाल्पाका जनप्रतिनिधिबिच सिकाई उपलब्धी आदानप्रदान
तानसेन : बागमती प्रदेशका स्थानीय सरकारका जनप्रतिनिधि र पाल्पा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिबिच सिकाई उपलब्धी नमुना कामहरुको आदानप्रदान भएको छ। बागमती प्रदेशका १३ जिल्लाका नगर प्रमुख, उप प्रमुख अध्यक्ष, उपाध्यक्षसहितको टोलीसँग बगनासकाली गाउँपालिकाले विगत साढे ४ वर्षको अवधीमा भएका सिकाई तथा महत्वपुर्ण कामका उपलब्धीहरु आदान प्रदान भएको हो।
बागमती प्रदेश शुसासन केन्द्रको आयोजनामा १३ वटै जिल्लाका २० जना जनप्रतिनिधि तथा केन्द्रका कर्मचारीहरुसहित लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका स्थानीय तहहरुका सिकाई उपलब्धी आदान प्रदान गरिएको हो।
बगनासकाली गाउँपालिकाले साढे ४ वर्षको अवधीमा भएका महत्वपुर्ण काम तथा उपलब्धीहरुको जानकारी गराएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तिले गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणा गरी स्थानीय वालमैत्री शासन लागु हुँदै आएको, गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका घोषणा गरी कार्यान्वयनमा आएको, पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरी शुन्य होमडेलीभरी काम हुदै आएको जानकारी गराए।
वडा-वडामा ईन्टरनेट सेवामार्फत अनलाईनबाटै राजश्व संकलन, धार्मिक पर्यटकीय गाउँपालिका निर्माणको लागी पुर्वाधारहरुको निर्माण, विदेशबाट फर्किने युवाहरुलाई स्वदेशमै कृषि, पशु उधमी बनाउने गरी विभिन्न रोजगारमुलक तालिम सञ्चालन, वाँदर रोकथाम तथा नियन्त्रण अभियान, वालश्रममुक्त गाउँपालिका घोषणा, पुर्ण सरसफाईयुक्त पालिका घोषणाको तयारी, एकल महिलाको तथ्याकं संकलन गरी रोजगारीमुलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ।
गाउँपालिकामा ९ वटा स्वास्थ्य चौकी मध्ये ३ वटामा बर्थिङ सेन्टर सञ्चालनमा भएको, २ वटामा प्रयोगशाला सेवा सञ्चालन भएको अस्थायी कोभिड अस्पताल सञ्चालन गरी कोभिड विरामीलाई निशुल्क उपचार गर्दै आएको, कक्षा ५ सम्मका वालवावालिकालाई विधालयमै दिवा खाजाको व्यवस्था गर्दै आएको, शैक्षिक सत्रलाई नियमित व्यवस्थित गर्न शिक्षक वालवालिकाको हात हातमा शैक्षिक पात्रो वितरण गरिएको, कक्षा एकदेखी तीनसम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिएको, गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए।
सिद्धार्थ राजमार्ग क्षेत्रका नगरपालिका गाउँपालिका सिकाई उपलब्धीहरु आदान प्रदानको लागी रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी जिल्लाका स्थानीय जनप्रतिनिधिसँग छलफल अन्तरक्रिया गर्ने र नमुना कामको आ आफ्नो पालिकामा लागु गर्ने गरी अन्तरपालिका भ्रमणमा आएको बागमती प्रदेश सुशासन केन्द्रका प्रमुख विमल पोखरेलले बताए।
कृषि तर्फ गाउँपालिका लाई मकैको बिउ उत्पादन केन्द्रको रुपमा विकास गरिएको, पालिकाले ४ वर्षको अवधीमा ४१५ वटा कृषि औजार वितरण गरी कृषिमा यान्त्रिकरण गर्दै आएको, अदुवा, धान, मकै बेसार, सुन्तला, अकवरे खुर्सानीको पकेट क्षेत्र निर्धारण उत्पादनमा वृद्धि गर्दै आएको, शैक्षिक प्रमाणपत्र धितो राखेर स्नातक पास गरेका १० युवा कृषकहरुलाई २ वर्षे ऋण प्रदान गरेको, एकल वालीमा बार्षिक ५ सय किलो उत्पादन विक्रि गर्ने उधमीलाई प्रतिकिलो २ रुपैयाँ अनुदान वितरण गर्दै आएको, बगनासकालीबाट वार्षिक २ करोड ५० लाखको तरकारी वाहिरी क्षेत्रमा विक्रि हुँदै आएको गाउँपालिकाका अध्यक्ष बस्यालले बताए।
यसैगरी पशुतर्फ दुध, मासु र अण्डामा गाउँपालिका आत्मनिर्भर बन्दै बाहिरी जिल्लामा विक्रि गर्दै आएको, सबै वडामा पशु प्राविधकहरुको व्यवस्था भएको, सबै वडा तथा टोल टोलमा मोटरबाटोको सुविधा पुगेको, नयाँ घर बनाउदा अनिवार्य नक्साको व्यवस्था गरिएको, ४५ किलोमिटर सडक निर्माण भएको, ३० किलोमिटर ग्रावेल, ७ किलोमिटर पिच र आरसीसी गरिएको, ४ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण भएको, ६ वटा लिफ्ट खानेपानी योजना सम्पन्न भएको, २१ वटा खानेपानी टंकी निर्माण भएको, २३ वटा विद्यालय भवन र २७ वटा महिला भवन निर्माण भएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले बताए।
सबै खानेपानी योजनाको पानी परिक्षण गरि स्वच्छ पानी वितरण भएको, लिफ्ट खानेपानी योजनाको विधुत महशुलमा ५० प्रतिशत अनुदान दिँदै आएको, पानीको मुहान क्षेत्र संरक्षणको लागी बोट विरुवा लगाउदै आएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !