सम्भव छ गुन्जी, कुटी र नाभीको जनगणना
काठमाडौं : कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा कसरी जनगणना गर्ने भन्ने अन्योलता थियो।
भण्डारीका अनुसार ब्यास क्षेत्रका ब्यासीसौका सपरिवार कात्तिकपछि जाडो छल्न कुटी, नाभी, गुन्जी, तिंकर, छाङ्रुबाट दार्चुलाको खलंगा, बांगाबगर, जोलजीवी, लेकम, दुम्लिन–राप्ला, सितौला, देथला, धुलीगडा, असिगडा झर्ने गर्छन्। उनीहरू बेंसी झरेको स्थानमा टोली पठाएर जनगणना गर्न सकिने भण्डारी बताउँछन्।
बसाइँ सर्नुलाई उनीहरू ‘कुन्चा’ जानु भन्दछन्। गर्मी सुरु भएपछि अर्थात् चैतको सुरुमै उनीहरू ब्यास (घर) फर्कछन्। यसरी ब्यास फर्कनुलाई ‘सौकेडा’ फर्कनु भन्छन्। भण्डारीका अनुसार सदरमुकाम दार्चुला, बाँगाबगर, जोलजीवी, लेकमलगायतका ठाउँबाट ब्यास समुदायको लगत लिनुपर्ने हुन्छ। ‘दार्चुलाको ब्यासमा मात्र होइन, मनाङ, मुस्ताङका थकाली समुदाय पनि हिउँदमा पोखरा र म्याग्दीतिर बसाइँ सर्छन्।
केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भारतद्वारा अतिक्रमित क्षेत्रको जनगणनाका लागि परराष्ट्र मन्त्रालयमा पत्रमार्फत अनुरोध गरिएको बताए। तर, केही जवाफ नआएको उनको भनाइ छ। उनले भने, ‘भौतिक उपस्थितिमा भने असम्भव छ तर पनि कुनै उपाय लगाएर जनगणना गर्नेबारे विभागले सोच बनाएको छ।’
राष्ट्रिय जनगणनाका लागि ३९ हजार गणक खटिने भएका छन्। ती गणकको तालिम शनिबारबाट सुरु भएको छ। ७७ वटै जिल्लामा ३४९ वटा जनगणना कार्यालयले कात्तिक १३–१६ गतेसम्म तालिम सञ्चालन गर्ने लामिछानेले बताए। काठमाडौंमा १७ गतेसम्म तालिम सञ्चालन हुने छ। यहाँ ट्यावलेट प्रयोग गरी जनगणना गरिने भएकोले तालिम एक दिन थप हुन लागेको उनले बताए।
लामिछानेका अनुसार तालिममा जनगणना क्षेत्र कसरी पहिचान गर्ने ? सही तथ्यांक ल्याउन गणकले अपनाउनुपर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयतालगायतका विषयको जानकारी गराइने छ।
‘गणकको साना गल्तीले सारा तथ्यांकको विश्वशनीयतामा प्रश्न आउने भएकोले आफ्नो जिम्मेवारी पूरा गर्न गम्भिर हुनुपर्छ,’ उनले भने, तालिम दिन क्याम्पस शिक्षक, माध्यमिक तहका शिक्षक, सरकारी निकायका अधिकृतस्तरका कर्मचारी, स्नातकोत्तर उत्तीर्ण सुपरीवेक्षकसमेत गरी १५ सय प्रशिक्षक खटिएको विभागका निर्देशक लामिछानेले बताए। विभाग तथा अन्य मन्त्रालयका अधिकृत, यूएनएफपीए र केन्द्रीय विभाग जनसंख्या शास्त्रका जनसंख्याविद् गरी करिब १ सय जना देशैभर सञ्चालन हुने गणक तालिमको अनुगमन तथा अवलोकनका लागि खटिएका छन्।
जनगणनामा ५५ वटा प्रश्न सोधिने छन्। यी सबै प्रश्न गणकले हरेक घरपरिवारमा गएर सोध्नुपर्ने छ। एउटा घरका लागि एक गणकले सबै प्रश्न सोध्न परिवारको आधार हेरी २०–३० मिनेट समय लगाउने अनुमान विभागको छ। व्यक्ति तथा पारिवारिक विवरण संकलन जनगणनाको मूल काम हो। त्यसका लागि हरेक घरपरिवारमा गणक पुगेर घरमूलीसँग परिवारका सदस्यको पारिवारिक तथा व्यक्तिगत विवरण लिने छन्। व्यक्तिको नाम, उमेर, घरमूलीसँगको नाता, शिक्षा, पेसा, रोजगारीका क्षेत्र,जाति, धर्म, भाषा, बसाइबराई अपांगतालगायतका प्रश्न सोधिने छन्।