महाकवि देवकोटा : आत्मिक सुखका प्यासी
![महाकवि देवकोटा : आत्मिक सुखका प्यासी](https://annapurnapost.prixacdn.net/media/albums/laxmi-prasad-devkota_20211104055559_rp20pwjtO9.jpg)
भाषा र साहित्यभित्र एक कालजयी नाम जो कुनै युग र वादमा जन्मिएनन्। नेपाली साहित्यमा पाश्चात्य चिन्तनको स्वच्छन्दतावादलाई आफैंले जन्माए र हुर्काए पनि। युगै जन्माउने पौरखी। मानवतावादी राजनीतिलाई स्वतन्त्रताको आत्माले सजाउने उनको गरिमालाई इतिहासले सम्झन जान्नुपर्छ। मानिसलाई धेरै समय ओहोदामा रहनुले होइन कर्मको महानताले नै कालजयी बनाउँछ। आखिर ११० दिन मन्त्री बनेका न हुन्। शैक्षिक दूरदर्शितालाई त्रिभुवन विश्वविद्यालयको परिकल्पनाबाटै सोचे काफी हुन्छ। राजनीतिभन्दा शिक्षा महान् हुन्छ नि। वास्तवमा कसैलाई यसरी प्रशंसा गरिरहँदा कञ्चन हृदयले स्वीकार गरोस् जहाँ निष्कलङ्क चिन्तन होस्।
स्वार्थ र पूर्वाग्रहरहित सम्मानमा मात्रै ‘प्रशंसा’ शब्दको शाब्दिक औचित्य पुष्टि हुन्छ। त्यही भावको सिंहासन बनाएर नेपाली मनमुटुमा बसेको हुन्छ– महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) को नाम पनि।
भनिन्छ– उनले मकै, भटमास र मुला खाएरै कति रात काटे रे। विपन्नको पहाडभित्र साहित्यको सुगन्ध छरियो। जीवनको भोगाइले साहित्यको झ्याङ बाँसझैं झ्याङ्गियो। लेखक मरे पनि पाठक जीवित हुन्छ नै। हामी मथिङ्गलमा उनका विचारलाई सापटी लिइरहन्छौँ। उनी स्वच्छन्दतावादभित्र वर्डस्वर्थ र कलरिजको लिरिकल ब्यालेटको सुगन्धमा मग्मगाए। रुसोमा सजिए। चिन्तनको महासागर। प्रकृतिका अनन्य भावचिन्तक साधकी। आफैंमा जीवन र जगत्का एक खुला पुस्तक।
आख्यानमा जत्तिकै पद्य विधा उनको लेखनी धनाढ्य छ। चालीस बर्से लेखनयात्रामा देवकोटा बढ्दा कवि अनि अब्बल निबन्धकार हुन्। उनी आख्यानकार, नाटककार, गीतकार, बालसाहित्यकार र समालोचक पनि त हुन्। बहुआयामिक चिन्तनभित्र पत्रकार अनि राजनीतिक व्यक्तित्वको छवि उत्तिकै गहन छ। एक व्यक्तिको व्यक्तित्व, कृतित्व र छविलाई नेपाली साहित्यले सदा हृदयतः श्रद्धाञ्जली अर्पन्छ र अर्पिरहन्छ नै।
सङ्घर्ष र साहित्य
एक सर्जकको गरिमा बिर्सँदा नेपाली साहित्यमा एउटा ठूलो भ्वाङ पर्छ। यो अतिशयोक्ति हुँदै होइन। विपन्नताको सुनामीमा पौडँदै बाँचेका मान्छेले वैराग्यको डोरो समाते पनि हुन्थ्यो तर स्वच्छन्दतावादी सोचको फेरो पो समाते। एक रातमा कुञ्जिनी खण्डकाव्य अनि दश दिनमा सुलोचना महाकाव्य लेख्नुको चर्चामा समालोचकको मथिङ्गल किन हल्लिन्छ ! त्यो आशुकवित्व साधना मात्रै नभएर कृपा पनि त हुँदो हो ! आँसुको आहालमा हुर्केका कमलका फूल हुन्– देवकोटा। सादा जीवन उच्च विचारको एक दृष्टान्त पनि। खुला हृदय अर्थात् सत्यम्, शिवम् र सुन्दरम्को भावना। भोगाइभित्रका सङ्घर्ष र परिश्रमलाई बिर्सेर देवकोटाका साहित्यको गुण–दोषमा खेल्न सकिँदैन। यसर्थ उनको लेखनी र रचनाको भावसौन्दर्यभित्रै पूर्ण जीवन खोजे पनि पर्याप्त हुन्छ।
पहाराको कापबाट पिपल उम्रियो। त्यही छहारीमा अनेकन बटुवाले शितल तापे। बिज रोपे हुनन् र रोपिरहेकै छौँ पनि। छिद्रताभन्दा आद्रताको उचाइभित्रै रम्नुको मजा त बेग्लै नै हुन्छ। धर्मपत्नी मनदेवीको मन नै भत्केर कृष्णलीलामा थुरिएका प्रसङ्गभित्रका सत्यता कति हुन् कुन्नि तर ट्युसन पढाएर गुजारा गर्नु उनको बाध्यता रहेछ। विपन्नको वेदनाले कसरी झापड हान्छ त्यो भोग्नेले मात्रै बुझ्छ। सायद साहित्यको साधकलाई परिवारको पूर्ण साथ नहुनुले पोलेपछि वैराग्यभाव पनि जागेको हुँदो हो। आत्मामा पाप नभएका एक व्यक्ति। हरेक सफल व्यक्तिको पछाडि कसैको हात हुन्छ तर देवकोटामा साथ नपाएको इतिहासका पत्तालाई हामी अर्को पुस्ताले पढ्ने गर्छौँ। अनि अझैं चुरोट पिउने आदतमा फसे हुनन् र ‘धुम्रपानको क्षमा–प्रार्थना’ निबन्धभित्र अलङ्कृत भए हुनन्। कुण्ठाको कठघरा नै साहित्य अनि विचारको बाढी नै साहित्य। तर, जीवन र जगत्को चिन्तनको गहनता भोगाइ पनि हो र अनुसन्धान त हुँदै हो। उनका निबन्धमा रमरम बौद्धिकता हुन्छ। दर्शनको एउटा ब्रह्माण्ड र ब्रह्मको दीप सजिन्छ। पद्यतिर हेर्दा पाठकले ‘मुनामदन’ लाई जति रमेर र गमेर पढ्छ त्यसरी नै ‘यात्री’ कवितामा अन्तर्दृष्टि लगाउनु आवश्यक छ। ‘पागल’ सँगै ‘भिखारी’ पनि त मार्मिक छ। जति सोच्यो उति मार्मिक साहित्य तर जीवनको आरोह–अवरोहको किस्सामा देवकोटाको सङ्घर्ष कथा ज्यादै पीडादायी लाग्छ।
जीवन र जगत्को किस्सा
घटाकाश र पटाकाशको ब्रह्म चिन्तनभित्र मानिस अवाक हुन्छ। चिन्तनको चौतारीमा दर्शनभित्रको ‘दैहिक’ तर्कसँग भोगाइको ‘आत्मा’ पनि चाहिने रहेछ क्यार। देवकोटाभरि खेलिरहँदा ‘यात्री’ कवितामै मात्रै पनि आत्मज्ञानी चिन्तनको गहिराइ भेटिन्छ अनि चुर्लम्म डुब्न मन लाग्छ। उनको ‘साहित्यमा शिवत्व’ निबन्धभित्रको भावमा त अझैं लछ्याप्रै हुन मन हुन्छ : ‘सृष्टि विश्व काल्पनिक पदार्थ सम्झिन्थ्यो। एक अतिमानव आत्माको पैदायस एक दिव्य इच्छाको कविता हुन सक्ला तर ठोस प्रमाण पाइन्न। हामी त्यति सजिलोसँग सहज स्वीकार गर्न सक्दैनौँ : गरे विवेकले डस्छ।’ दाजुले पूजनीय भाउजूमाथि सौता हालेपछि उनी विरक्तिएको किस्साभित्र पनि जीवनको गहन भाव रहेछ :
घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई।
सायद यसभित्र सन्त कबिरको भाव गुञ्जायमान भएको पनि हो कि :
दुर्लभ मानुष जन्म है, देह न बारम्बार
तरुवर ज्यों पत्ता झडे, बहुरि न लागे डार।
(यो संसारमा मानिसको जीवन पाउन कठिन छ। यो मानव शरीर रुखको पात झरेर फेरि पलाए जसरी पटक–पटक पाइँदैन।)
प्रकृति, ईश्वर र मानिसको त्रि–आयामिक चिन्तनमा रम्य बन्छन् उनी। आखिर मानिस आत्मिक र दैहिक रूपबाट सन्तुष्ट नभएसम्म प्यासी रहने रहेछ। अलिकति आस्था र अलिकति मनको वेदना बिसाउने चौतारी पनि चाहिने रहेछ। जीवन थिएन, छ अनि रहनेछैन आखिर। थिएन र रहनेछैनका बिचको भाग जीवन रहेछ। उही सत्यम्, शिवम् र सुन्दरम्को मर्ममा। अलिकति खुशीको मोहमा समर्पण र आदर्शता पनि। भौतिक र आत्मिक संसारको एकमुष्ट चिन्तनमा साधन र साध्यको बराबरी हिस्सा हुने रहेछ। जीवन जान्न र भोग्न इन्द्रिय पनि चाहिन्छ नै तर यो अवश्य नाशवान् छ। सायद ‘दृश्यन्ते नश्यन्ति’ अर्थात् ‘देखिने (भौतिक) वस्तु नाशवान् छन्’ भन्ने पूर्वीय दर्शनको प्रभाव पनि भनौँ। जीवनको गहिराइमा घोत्लिनु मानवीय सामथ्र्य हो। उनी पाश्चात्यको भौतिकवाद र पूर्वको अध्यात्मवादका सङ्गम पनि त हुन्। त्यसमा पनि पूर्वमा चार्वाक दर्शनले आदर्श जीवनको भौतिकवादी स्वरलाई निर्देश गरेको बोध हुन्छ :
यावज्जीवेत् सुखं जीवेत ऋणंकृत्वा घृतं पिवेत्
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।।
(जति बाँच्छौ सुखले बाँच, ऋण गर घिउ पेऊ भस्म भएर जाने यो देह कहिल्यै फर्कर आउँदैन।)
उनका कृतिमा भौतिकवादी विकास र समुन्नतिको आवाजभित्रै आध्यात्मिक सुखसत्ताको अभिलाषा छताछुल्ल हुन्छ। आखिर दुवैको मिलन बिन्दु नै जीवन हो। यद्यपि त्यहाँ निर्गुण भाव नै सुरम्य देखिन्छ। त्यसभित्र दर्शन हुन्छ, जीवन अनि जगत्को अस्तित्वबोध हुन्छ। मृत्युशैय्यामा देवकोटा लेख्छन् नि :
संसार आफ्नो सबै नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्गविषे पलाएँ
आखीर भै खाक उसै बिलाएँ।
यसर्थ देवकोटाले बुझेको संसार अलौकिक चिन्तन नै हो तर चार्वाक दर्शनको समाप्तीचाहिँ पटक्कै होइन। अर्कोतिर उनले गरिब कवितामा पोखेको आलङ्कारिक भोगाइ त वास्तवमा न दर्शन हो न त चिन्तन तर भावको मीठो सुगन्धको किस्सा अवश्य हो :
गरीब भन्छौ ! सुखको मझैं धनी
मिल्दैन संसारभरी कतै पनि
विलासको लालस– दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम।....
विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन
विहारको मोज लुटी–लुटीकन
फर्कन्छु फेरि उही रम्य आँगन।
मानिसमा कर्मको समर्पणभित्र राष्ट्रिय चेत जागृत हुन्छ। देवकोटाको देशप्रेम त झनै गहन लाग्छ। वस्तुतः नेपाली धरामा एउटा चिन्तनको बाढी पाश्चात्यका ‘वाद’ मात्रै होइनन्। आत्मिक सुखको गहिराइ पनि हो। उनी ‘वैराग्य’ निबन्धमा लेख्छन्– ‘मलाई भयो, पुग्यो ईश्वर ! म कृतज्ञ छु’ भनेर अहङ्कारको पापले काँपेर संसार छोड्नु नै सच्चाको मरण हो। तेरो नामलाई कल्कि किन चाहियो ? निर्मलता नै धन हो।’’ अनि प्रश्न उठ्छ– जीवन के हो ? जीवनको गहिराइ के हो अनि जगत्भित्र जीवन किन छ ? सायद देवकोटाले सोचको गहिराइमा पूर्व र पश्चिमका विचारभित्र संस्कृत र अङ्ग्रेजी दुवैलाई साँधेर हेरे। अन्ततः ईश्वरको खोजमा समर्पित भए। दुवैको सारभित्र सुखसत्ताको खोजी गरे।
आत्मिक प्रताडना र सुखसत्ताको अपेक्षा
‘संसारको सबै धनसम्पत्तिबाट पनि एउटा श्वासलाई किन्न सकिँदैन। तपाईँसँग धेरै पैसा नहुन पनि सक्छ तर तपाईँसँग एउटा यस्तो चीज छ जसलाई संसारको सबै धनसम्पत्ति भएर पनि किन्न सकिँदैन। यो वास्तवमा अमूल्य छ !’ अन्तर्राष्ट्रिय शान्तिवक्ता तथा लेखक प्रेम रावतको यो भावगुम्फनमा श्वास र जीवनको सरल अनि मीठो सुगन्ध छ। यही सौन्दर्यमा महाकविको यात्री कविताले ब्रह्ममय रचनाभित्र पुगेर शरीरको संरचना खोज्न पुग्छ। चेतनाको तह अनि क्षणभङ्गुर देहको संरचना। प्रेम रावतको भनाइ पनि त्यस्तै लाग्छ – ‘हामीले भित्री शान्ति प्राप्त गर्नुपर्छ र त्यो यसै जीवनमा सम्भव छ। शान्तिलाई बाहिर होइन, हृदयमा खोज्नुपर्छ।’ सन्त कबिरदास, तुलसीदास, सन्त रहिम, मीरा बाई आखिर त्यो मग्नताभित्र ईश्वरीय साक्षात्कारको गूढ पक्षको चिन्तन खोतलिएको रहेछ। ऋषि–मुनिले वर्षौँ तपस्या गरेर पत्ता लाएको ज्ञान– आत्मज्ञानको भित्री रहस्य। अब, यात्री कविताको सारभित्र पसौँ–
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छानो छ, इन्द्रियहरूका द्वार।.....
भित्र छ ईश्वर बाहिर आँखा खोजी हिँड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा सतह बहन्छौ कति दूर
खोजी गर्छौ ? हृदय उगाऊ, बत्ती बाली तेज प्रचुर !
देवकोटा न पूजापाठमा लागे न त भजन कीर्तनतिर नै। तथापि, उनको चिन्तनले दैहिक र आत्मिक धारभित्र मानवीय अस्तित्वभित्र वास्तविक सुखसत्ताको खोजी गरे। चूडामणि बन्धु (२०६७ ः ३७३) द्वारा ‘देवकोटा’ नामक पुस्तकमा लेखेको आधारमा हेर्दा शान्तभवन अस्पतालमा रामहरि शर्माले देवकोटासँग ‘ईश्वर र परलोकका बारेमा तपाईँ कस्तो अनुभव गर्नुहुन्छ ?’ भनेर सोधेका रहेछन्। जवाफमा देवकोटाले भनेछन्– ‘खै अन्धकार मात्र देख्छु। उज्यालो छ कि भनेर हेर्छु, तारा कहीँ देख्तिनँ।’ त्यसो त उनका पछिल्ला धेरै कृतिका किस्साभरि ईश्वरसँग पश्चाताप गरिएका हुन्छन्। यो पृथ्वीलाई स्वर्ग र मानिसलाई जनार्दन बनाउने मानवतावादी मीठो सौन्दर्य कसिला हुन्छन्। अन्ततः लेखिएको कृतिभित्र कतै न कतै वेदना भाव देखिन्छ नै –
रहेछ संसार निशासमान
आएन ज्यूँदै रहँदै रहँदा नि ज्ञान
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक।
उनमा भित्री शान्तिको तिर्खा रहेछ। जीवनप्रति वितृष्णा र पश्चाताप पनि। प्रेम रावतको भनाइ र उनको सोचाइमा ठ्याम्म मेल खायो– ‘मानिसलाई शान्तिको तिर्खा लागेको हुन्छ र उसले जीवित छँदै आपूmभित्रको त्यो प्यासलाई मेट्न सक्छ।’ त्यसो त देवकोटा निर्विकल्प समाधिमा हराउन चाहन्थे। उनले जिज्ञासा राखे तर त्यो आत्मज्ञान पाउन सकेनन् कि ! तथापि, चूडामणि बन्धुका अनुसार उनले साहित्य लेखेर र ट्युसन पढाएर आत्मालाई सुधार्न नसकेको कुरालाई केदारनाथ न्यौपानेसँग व्यक्त गरेका रहेछन्। यस कुरामा भने कबिरदासको दोहासँग घोत्लिनु सान्दर्भिक हुन्छ :
तनको जोगी सब करेँ, मनको बिरला कोई
सब सिद्धि सहजे पाइये, जे मन जोगी होइ।
(शरीरमा पिताम्बर लगाएर जोगी बने पनि मनको जोगी बन्ने कोही–कोही मात्रै हुन्छन्। अर्थात्, तिनले कपडा होइन मनलाई रङ्गाएका हुन्छन्। यदि मन योगी भयो भने सबै सिद्धि प्राप्त हुन सक्छ।)
पूर्वीय आत्मिक चिन्तनले शरीरलाई साधन मान्छ। आत्मा (साध्य) को अस्तित्वमा मात्रै शरीरको मूल्य स्थापित हुन्छ। पूर्वीय चिन्तनले त ‘शरीरस्य न चैतन्यं मृतेषु व्यभिचारतः’ (मृत शरीरमा चेतना नहुने भएकाले शरीरलाई चेतनाको अधिष्ठाता मान्न सकिँदैन।) भनिदिन्छ। चूडामणि बन्धुले आफ्नो पुस्तकभित्र देवकोटाले अन्तिम अवस्थामा गरेका कुराकानीलाई समेटेका सन्दर्भ हेरौँ, ‘मेरा कविता धेरैै भौतिक थिए।........ती ज्यादै सांसारिक थिए। तर, म तिनलाई त्याग्दिनँ। म पशुपतिको देवलमा छु। म मरिरहेछु। तर कहीँ मैले आफ्नो एक इन्च छोडेको छु। ....आफ्नो एक अणु छोडेको छु। जसले मलाई जान दिँदैन। म प्रार्थना गर्दछु कि म जान पाऊँ। .....यदि भगवान् पशुपति यहाँ आउँदा हुन् म आफ्नो खोपडी फुटाउन माग्ने थिएँ।’ यसर्थ आत्मिक असन्तुष्टिले प्रताडित रहेछन् देवकोटा। उनको अन्तिम अवस्थाका काव्य चिन्तनभित्र आत्मिक सुखसत्ताको अपेक्षा द्रवित भएको देखिन्छ। सायद उनले आत्मज्ञानको अपेक्षा राखेका रहेछन् अनि त्यो अधुरो भएछ। सायद भित्री सुखको भाव ‘यात्री’ कविताभित्रै सीमित हुन पुगेछ क्यार।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)