कारागारमै लगाए बन्दीले भाइटीका
नुवाकोट : नुवाकोट जिल्ला कारागार ढुंगेका कैदी बन्दीले तिहार पर्व मनाएका छन्। विदुर नगरपालिका-१ ढुंगेमा रहेको जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका गरिरहेका उनीहरुले एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिक रुपमा देउँसी भैलो खेलेर तिहार मनाएका हुन्।
विभिन्न मुद्दामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन बिताइरहेकाले कारागारभित्रै आपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ। कारागारमा बन्दी जीवन बिताइहेकाले नै दाजुभाई र दिदीबहिनी मानेर एकआपसमा भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ।
कारागारमा रहेका कैदीबन्दीहरुलाई कारागारमै पुगेर शनिबार बिहान सांढे सात बजेदेखि नै आफ्ना दिदीबहिनी तथा दाजुभाइले भाइटीका लगाइदिएको कारागारका जेलर दुर्गाप्रसाद वाग्लेले जानकारी दिए। कतिपय बन्दीहरुले कारागारमै दाजुभाई तथा दिदीबहिनी मानेर सप्तरंगी टिका लगाए भने बन्दीहरुका दिदीबहिनी पनि कारागारमै आएर भाइटीका लगाइदिएको वाग्लेले बताए।
कारागारमा रहेका १४ महिलासहित एकसय ५१ जना पुरुष कैदीबन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै दिदीबहिनीसँग भाइटीका लगाएर तिहार पर्व मनाएको जेलर वाग्लेको भनाई छ । बन्दीहरुले दिनैभर टिकाटालो गर्दै खुशीयालीका साथ मिठा मिठा परिकारहरु कारागार भित्रै पकाएर तिहार मनाएको जिल्ला कारागार कार्यालय नुवाकोटले जनाएको छ ।
चाडपर्वका बेला बन्दी जीवन बिताइरहे पनि कारागार भित्रै तिहार मनाउन पाउँदा कैदी बन्दी खुशी भएका छन्। कारागार परिसरमा सुरक्षाकर्मीको घेराभित्र कैदी बन्दीहरुलाई आफन्तजनसँग टिका लगाउने व्यवस्था मिलाइएका कारण कतिपय कैदीबन्दिका दिदीबहिनाी तथा दाजुभाइले कारागार परिसरमै आएर कैदी बन्दीहरुलाई भाइटीका लगाई दिएका हुन्।