छठमा किसानलाई सख्खर बनाउन भ्याइ-नभ्याइ (भिडियोसहित)
जनकपुरधाम : समयमै उखुको भुक्तानी र चलानी पुर्जी नपाउँदा महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन लागिपरेका छन् । छठ पर्वको बेला सख्खरबाट बनाइएका परिकार मात्र प्रसादको रुपमा चढाइने भएकाले माग बढेपछि उखु किसानलाई सख्खर बनाउन चटारो थपिएको हो । छठ पर्वको एक महिना अघिदेखि बजारमा मिठ्ठाको माग र भाउ बढेसँगै उखु उत्पादक किसान सख्खर बनाएर बेच्न व्यस्त छन्।
छठको आवगमनसँगै उखुबाट सख्खर बनाइ बिक्री गर्न किसानलाई भ्याइ-नभ्याइ छ । स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न समेत मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका ४ सुर्तिविकास चोकका मिठा उत्पादक उपेन्द्र साह बताउँछन् । उनले भने, ‘छठमा घर–घरमा मिठा (सख्खर) को आवश्यकता पर्छ । त्यसैले वर्षकै सबैभन्दा उच्च माग र भाउ पनि यही बेला हुन्छ, त्यसैले पछिल्लो वर्षमा किसानहरु मिठ्ठा बनाउने आकर्षित हुँदै गएका छन्।'
'उखु उत्पादन गरेर काट्ने बेलामा चिनी मिलले न उखु काट्ने पुर्जी दिन्छ, न त समयमै उखुको भुक्तानी दिन्छ, त्यही भएर वर्ष उखु पेलेर सख्खर बनाएर बेच्न थालेको छु उनले भने।’ महोत्तरीको गौशाला, बर्दिबास, भङ्गाहा, औरही, सोनमा सहितका क्षेत्रमा अहिले घर–घरै तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् । अन्य दिनमा पनि मिठाको माग हुन्छ, तर छठमा मिठ्ठाको माग झण्डै ९० प्रतिशतले बढछ, त्यसैले आफ्नो प्रायेजनको लागि र तत्काल बिक्री गरी सुलभ रुपमा नगद बिक्री हुँदा उखु पेल्न थालिएको हो ।
गौशाला नगरपालिका ४ का किसान देबनारायण साहले भने, ‘चिनी मिलको ठेगान हुँदैन, समयमा भुक्तानी दिदैन, त्यसैले अन्य भौतारिनु भन्दा त नगदी र सरल सुलभताका लागि उखु धमाधम उखु पेल्दै छौं ।’
महोत्तरीको सबैभन्दा बढी उखु उत्पादन हुने गौशालामा समेत उखु धमाधमले पेल्ने कार्य जारी छ । छठको मुखमै पर्वअघि मिठ्ठा बजार सम्म पुर्याउन सकिए अपेक्षित मूल्य पाइने किसान राजकिशोर महतो बताउँछन् । छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने चटारो भएको महतोको भनाइ छ ।
अहिले १ क्विन्टल सख्खर बनाउन झण्डै ८ देखि १० क्विन्टल उखु चाहिन्छ । यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खर कारिगर मो. जुमराती अन्सारी बताउँछन् । उनले भने, ‘९ क्विन्टल छिप्पीएको उखुमा एक क्विन्टल मिठा (सख्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झण्डै १० क्विन्टलमा १ क्विन्टल मिठा तयार हुन्छ ।'
सामान्य रुपमा झण्डै ६० रुपैयाँको हाराहारीमा खुद्रा बिक्री हुने सख्खर अहिले छठमा झण्डै १०० देखि १ सय २५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !