'व्यवसायमा पारदर्शिता,स्वच्छता र सूचना हुनुपर्छ'
!['व्यवसायमा पारदर्शिता,स्वच्छता र सूचना हुनुपर्छ'](https://annapurnapost.prixacdn.net/media/albums/nepal-tourism-board_20211111085301_p2DB8cqHih.jpg)
स्याङ्जा : नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले व्यवसायमा पारदर्शिता, स्वच्छता र सूचना हुनुपर्ने बताए। उनले पुतलीबजार नगरपालिका ३ गुणीखोलामा निर्मित सहयात्री पार्टी प्यालेस, टिम्स रेष्ट्रो एण्ड लजको बुधवार उद्घाटन गरेका हुन्।
उनले भने,'सुरुवातमै यी कुरालाई ध्यान दिँदै आफ्नो ब्राण्ड बनाउनुस्, 'फस्र्ट इम्प्रेशन ईज लास्ट इम्प्रेशन'। व्यवसाय नाफामुखी मात्र नबनाई समग्र जिल्लाको पर्यटन प्रवद्र्धनसहित जिल्लाको पहिचान दिनेगरी सञ्चालन गरिनुपर्छ।’
आफ्नै जन्मथलोमा आएर नमूना पार्टी प्यालेससहितको रेष्टुरेन्ट, लजको उद्घाटन गर्न पाएकोमा धन्यवाद व्यक्त गर्दै समग्र जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुनेमा जोड दिए। पर्यटनसँगै व्यवसायलाई जोड्नु पर्नेमा जोड दिँदै आवश्यकता अनुरुप सहयोग गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), नेकपा एकिकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, गण्डकी प्रदेश पर्यटन समितिका सदस्य अनन्तकुमार श्रेष्ठ, वडा अध्यक्ष तिलकराम श्रेष्ठ, मनिपाल अस्पताल सञ्चालक समितिका सदस्य नारायणप्रसाद पौडेल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कमर्शका सदस्य प्रकाश गौतम, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी एवं महिला नेत्रृ सीता गोदार लगायतले सदरमुकाममा सुविधा सम्पन्न पार्टी प्यालेसले सबै तह र वर्ग लक्षित गरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिए।
सञ्चालक मनोज मल्ल, राजेन्द्र गोदार, रमेश गोदारले पार्टी सदरमुकाममा पार्टी प्यालेसको अभाव रहेको जनाउदै सञ्चालन गरेको जनाए।
यसैगरी, कार्यक्रममा लोक दोहारी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं लोकप्रिय गायक पशुपती शर्माले लोकगीत गाएका थिए।
पुतलीबजार नगरपालिकाका १७ जना युवाहरुका सक्रियतामा ५ करोड २५ लाखको लागतमा सुविधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याईएको हो। पार्टी प्यालेसमा ५ जना क्षमताको र स्वीमिङ् पुलको समेत सुविधा छ। गएको बैशाखदेखि सञ्चालनमा आएका पार्टी प्यालेस, रेन्टुरेन्ट र लजको भने बुधवार विधिवत रुपमा उद्घाटन गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)