प्राकृतिक रहस्यमा शिवलिंगेश्वरको सुन्दरता

प्राकृतिक रहस्यमा शिवलिंगेश्वरको सुन्दरता

केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत हुने गरी ७ करोडको परियोजना सञ्चालनमा छ। भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्रे र बिजुली बत्ती पुर्‍याउने काम भइरहेको छ।


एउटा गीत छ–

जहाँ ढुंगा–ढुंगामा देवताको बास छ 
जहाँ थुम्काथुम्कामा स्वर्गको आभास छ 
त्यो देश मेरो हो, त्यो देश मेरो हो 

यो गीतको सन्देशझैं कञ्चनपुरको वेदकोट नगरपालिका–४ को चुरे फेदी पुग्ने जो कोही यस्तै आभास गर्छन्। मनमोहक थुम्काथुम्कीमा लठ्ठै पर्छन्। जुन  ‘स्तम्भजस्ता’ लाग्छन्। यस्तो अद्भूत प्राकृतिक संरचना एक किलोमिटर क्षेत्रमा फैलिएको छ। नजिकै सुसाउँदै बगिरहन्छ गोमती नदी। चिरबिराइरहन्छन् चराचुरुंगी। त्यसमा थपिन्छ घण्टीको आवाज। यो स्थल सिद्ध शिवलिंगेश्वर धामले परिचित छ।

२०३० सालयता यहाँ ४/५ परिवारले मात्रै सामान्य रूपमा पूजाआजा गर्दै आए पनि २०७० सालपछि यो ठाउँ चर्चामा आउन थालेको हो।

२०७४ सालपछि मात्रै यहाँ घुम्नलाई मान्छे आउन थालेका हुन्। २०७४ सालमा सामाजिक सञ्जालमार्फत यस ठाउँको तस्बिर बाहिर आएपछि यसको लोकप्रियता बढ्दै गएको हो।

सरकारले १०१ प्रमुख पर्यटकीय गन्तव्य तोके पनि यो क्षेत्र समेटेको छैन। तोकिएका १०१ भन्दा यो स्थान अलग्गै र विशेष पहिचान बोकेको भए पनि सरकारको आँखामा नपरेको स्थानीयवासीको गुनासो छ।

डडेलधुराका पदम बोहरा यो ठाउँ धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको बताउँछन्। ‘सधैं काम गर्दागर्दा दिक्क भएका बेला यहाँ आए स्वच्छ र ताजा महसुस हुन्छ। कामप्रतिको जोश, जाँगर पनि बढ्छ’, बोहरा भन्छन्, ‘यहाँका पहाडहरू हेर्दा आनन्द आउँछ। अर्कै दुनियाँमा पुगेजस्तो लाग्छ। अझ गर्मीको मौसममा यहाँ आउने मानिस त फर्किने मनै गर्दैनन्।’ यहाँको प्राकृतिक सुन्दरताले आगन्तुकलाई लोभ्याउने मात्र होइन, लठ्ठ पार्ने गरेको उनी बताउँछन्।

सपरिवार घुम्न आएका कञ्चनपुर कृष्णपुरका घनश्याम खड्का यहाँको दृश्य मनै लोभ्याउने किसिमको रहेको बताउँछन्। ‘पहाडको फेदमा रहेका यहाँका शिवलिंगहरू अति आकर्षक छन्’, उनी भन्छन्, ‘घुम्नका लागि यो ठाउँ निकै सुन्दर, शान्त र पवित्र छ। विदेशको कुनै स्थान पुगेको महसुस हुन्छ।’ 

पदम र घनश्यामजस्तै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ यो ‘देवभूमि’। मुख्य आकर्षण भनेका स्तम्भजस्ता प्राकृतिक संरचना हुन्। जसलाई भक्तजनले शिवलिंग मानेर श्रद्धा गर्छन्। शिवशक्तिको क्रिडास्थलका रूपमा पनि यो ठाउँको महत्त्व रहेको पुजारी विरादत्त भट्ट बताउँछन्।

‘धार्मिक हिसाबले यो ठाउँ महत्त्वपूर्ण छ। जुन शिवशक्तिको क्रिडास्थल पनि हो’, ८२ वर्षीय भट्ट भन्छन्, ‘यहाँ आएर शिवलिंगहरूको दर्शन र पूजाआजा गर्नाले आँटेका काम पूरा हुने विश्वास छ। पुगेको पनि छ।’ 

उनका अनुसार भारी वर्षा हुँदा वरिपरिका ठाउँमा पहिरो जान्छ। यी ‘शिवलिंग’लाई भने अहिलेसम्म कुनै असर गरेको छैन। २०२७ सालमा जस्तो देखेका थिए, अहिले जस्ताको तस्तै रहेको उनी बताउँछन्। ‘२०२७ सालमा म यहाँ आउने बेला पनि यस्तै देखेको हुँ’, उनी भन्छन्, ‘२०१४ सालमा यस्तै शिवलिंग देख्नेहरू पनि सम्पर्कमा आएका थिए।’

भूगोल विषयका प्राध्यापक भास्करदत्त जोशी यहाँ शिवलिंग उत्पन्न नभई चुरे क्षेत्रको ठाडो संरचनामा बाहिरपट्टिको नरम भाग खिइएर बाँकी रहेको कडा भागले भूस्तम्भ बनेको बताउँछन्। यसलाई ‘अर्थ पिलर’ वा ‘हुड’ भन्ने गरिएको जोशीको भनाइ छ। यो बढीजस्तो मरुस्थलमा हुने उनी बताउँछन्। 

‘यो क्षेत्रमा देवताको थान पनि हुन सक्छ। तर, यो रिसाइडियल रक्स हो’, सुदूरपश्चिम विश्वविद्यालयमा अध्यापन गर्ने जोशी भन्छन्, ‘हेर्दाखेरि शिवलिंगजस्तो देखिने हुनाले शिवलिंगेश्वर धाम भनेर धार्मिक दृष्टिकोणबाट अथ्र्याइएको हो।’ 

डडेलधुराको जोगबुढास्थित पुन्दुरा नदीछेउ पनि यस्तै आकृतिका स्तम्भहरू बनेको उनी सुनाउँछन्। ‘नेपालकै अन्य ठाउँमा पनि यस्ता संरचना हुन सक्छन्’, उनी भन्छन्।

त्यसपछि निरन्तर पूजा
भट्ट बैतडीबाट २०२७ सालमा कञ्चनपुर बसाइँ आएका थिए। यहाँ आएर ऐलानी जग्गामा घर बनाएर बसे। सिँचाइका लागि सिद्ध शिवलिंगेश्वर धाम भएर बग्ने नदीबाट कुलो निकाले। २०३० जेठ १६ गते कुलोमा पानी आएन। गाउँमा हाहाकार मच्चियो। उक्त कुलोबाट पानी ल्याउन प्रयास गरे पनि तत्काल सकेनन्। ६ दिनसम्म खोलाको पानी गाग्रीबाट भरेर प्रयोग गरे। भट्टसँगै चार परिवार पनि त्यहीँ बस्थे। सातांै दिन भट्टका ७२ वर्षीय बुवा व्रत बसे। ‘शिवलिंग’ भएको ठाउँमा पूजाआजा गरे। त्यसको भोलिपल्टै कुलोमा पानी आएको उनी सम्झन्छन्। 

‘बुबाले त्यो ठाउँ देवस्थल हो, हामीले पूजाआजा गर्नुपर्छ भन्नुभयो’, उनी भन्छन्, ‘हामीले पूजा गरेकै साँझ आकाशबाट पानी पर्‍यो।’ अहिले पनि पानीको हाहाकार हुँदा पूजाआजा गरे आकाशबाट वर्षा हुने उनी बताउँछन्। भन्छन्, ‘त्यसपछि हामीले यो ठाउँमा मन्दिर बनायौं।’ उनले २०३० सालदेखि निरन्तर पूजा गर्दै आएका छन्।

यहाँ विशेषगरी पूर्णिमाका दिन पूजा गर्ने गरिन्छ। अधिकांश भक्तजन व्रतबन्ध र पूजापाठका लागि आउने गरेका छन्। गोमती नदीमा स्नान गरे सबै पापबाट मुक्ति पाइने विश्वास पनि रहेको भट्टको भनाइ छ।

चिनायो सामाजिक सञ्जालले 
भट्टका अनुसार २०७० सालपछि यो ठाउँ चर्चामा आउन थालेको हो। उनले त्यही वर्ष मन्दिर बनाए। त्यसको केही समयअघि मात्रै चलचित्र निर्माण टोली आएको उनी स्मरण गर्छन्। 

‘सुरुमा यहाँ आइपुग्न निकै कठिन थियो। जंगलको बाटो हिँड्नुपथ्र्यो’, उनी भन्छन्, ‘ऊबेला यहाँ त्यति धेरै मान्छे आउँदैनथे। २०७४ सालपछि मात्रै यो ठाउँ घुम्न मान्छेहरू आउन थालेका हुन्।’ २०७४ सालमा सामाजिक सञ्जालमा यहाँको तस्बिर आएपछि लोकप्रियता बढ्दै गएको उनको भनाइ छ।

त्यसलगत्तै स्थानीय तहको निर्वाचन भयो। स्थानीय सरकार गठन भएपछि यस ठाउँको विकास गर्न बाटो बनाइयो। यसको संरक्षण गर्न पहल भयो। स्थानीयको श्रमदान र वेदकोट नगरपालिकाको सहयोगमा मन्दिर र विभिन्न संरचना बनाइएका छन्। 

स्थानीयका अनुसार यो ठाउँको अवलोकन गर्न भारतको उत्तर प्रदेश र उत्तराखण्डबाट धेरै पर्यटक आउने गरेका छन्। त्यसैगरी नेपालकै झापासम्मका मानिस पनि घुम्न आउने गरेको भट्ट बताउँछन्। उनका अनुसार तेस्रो मुलुकका नागरिकसमेत आउने गरेका छन्। 

कसरी पुग्ने यो धाम
यो ठाउँ पूर्व–पश्चिम राजमार्गको दैजीबाट करिब सात किलोमिटर उत्तरतर्फ पर्छ। महेन्द्रनगरबाट आठ किलोमिटर दूरीमा छ दैजी। दैजी चौराहाबाट सार्वजनिक यातायात चढेर पनि यो धाम आउन सकिन्छ। सडक कालोपत्रे नभए पनि यो क्षेत्रको अवलोकन गर्न दैनिक २–३ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। पर्यटकको आकर्षणका लागि शिव र पार्वतीको मूर्तिसमेत राखिएको छ।

७ करोडका पूर्वाधार
यस ठाउँको विकासका लागि केन्द्र र वेदकोट नगरपालिकाले संयुक्त रूपमा ७ करोडका संरचना निर्माण गरिरहेका छन्। वेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द स्थानीय सरकार गठन भएदेखि नै यस ठाउँको विकासमा लागेको बताउँछन्। पहिलो वर्ष २५ लाख बजेटमा सेल्फी प्वाइन्ट निर्माण गरिएको चन्दको भनाइ छ। भूक्षय भइरहेको ठाउँमा पनि नगरपालिकाले तटबन्ध निर्माण गरिरहेको छ। 

‘हामी निर्वाचित भएदेखि नै यहाँको विकासका लागि काम गरिरहेका छौं’, उनी भन्छन्, ‘केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत हुने गरी ७ करोडको परियोजना सञ्चालन भइरहेको छ।’ 

भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्रे र बिजुली बत्ती पुर्‍याउने काम भइरहेको उनको भनाइ छ। केन्द्र सरकार र नगरपालिकाको बजेटमा पार्किङ स्थल, मन्दिर, कफी हाउस र विवाह मण्डप निर्माण अघि बढाइएको उनी बताउँछन्। धामबारे कसैले अध्ययनअनुसन्धान गरेको नभेटिएको उनको भनाइ छ।

‘शिवलिंग’को ठिक अगाडि पर्यटकका लागि फोटो खिच्न सहज होस् भनेर नगरपालिकाले सेल्फी प्वाइन्ट बनाएको हो। यो प्वाइन्टबाट फोटो खिच्दा करिब एक किलोमिटर क्षेत्रफलमा फैलिएका लगभग सबै शिवलिंग तस्बिरमा अटाउँछन्। प्रकृतिको अनुपम ‘उपहार’लाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेको लर्को लाग्ने गरेको छ। अवलोकन, भ्रमण र अध्ययनका अतिरिक्त यहाँ म्युजिक भिडिओ, टिकटक बनाउन र फोटो खिच्न पर्यटक आउने गरेका छन्। चुरे पहाडको फेदमा रहेको यो ठाउँ सुन्दर र शान्त छ। 
०००

परेन १०१ पर्यटकीय गन्तव्यमा
पर्यटकको आकर्षण केन्द्र बनेको शिवलिंगेश्वर धामबाट स्थानीय सरकारले लाभ लिन सकेको छैन। पर्यटकको संख्या बढे पनि यहाँको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन। सरकारी पक्षबाट यहाँको विकासका लागि योजना अघि बढाउन सकेको देखिँदैन। सरकारले १०१ प्रमुख पर्यटकीय गन्तव्य तोके पनि यो क्षेत्र समेटेको छैन। तोकिएका १०१ भन्दा यो स्थान विशेष रहे पनि सरकारको आँखामा नपरेको स्थानीयवासीको गुनासो छ। नगरपालिकाले वेदकोट भ्रमण वर्ष कार्यक्रम कोरोना महामारीका कारण प्रभावित बनेको छ। यस क्षेत्रमा खानेपानी, बिजुली बत्ती र कालोपत्रे सडक भए पर्यटक बढ्ने भट्ट बताउँछन्।

‘स्थानीयले एक–दुईवटा छाप्रामा रुद्राक्षको माला र खानेकुरा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्’, उनी भन्छन्, ‘आगन्तुकलाई सुविधासम्पन्न होटेलको व्यवस्था भए अझ राम्रो हुन्थ्यो।’ यसलाई पर्यटन व्यवसायसँग जोडेर बजार विस्तार गर्न सके पर्यटन व्यवसाय फस्टाउने उनको बुझाइ छ। दुई–तीनवटा किराना र खाजा पसल छन्। पर्यटकहरू सुविधासम्पन्न होटेल खोज्दै महेन्द्रनगर पुग्ने गरेको उनी बताउँछन्। ‘भारतले पूर्णागिरिको प्रसाद भनेर रुद्राक्षको माला र मिठाई बेचेरै अर्बौं कमाएको छ’, उनी भन्छन्, ‘यहाँ पनि धार्मिक पर्यटनका लागि त्यहीअनुरूप गर्न सके धेरैले रोजगारी पनि पाउँछन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.