पुल नबन्दा सास्ती
उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वीखण्डका खोलाखहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधरणले सास्ती व्यहोर्नु परेको छ। आयोजनाको उदयपुर खण्डमा चार महिनाअघि कालोपत्रेको काम सकिए पनि एक दर्जन खोलाखहरेमा पुल नबन्दा सर्वसाधरणलाई समस्या भएको हो। साथै, बनेका पुलका वारी र पारी भू–भाग लामो समय बितिसक्दासमेत कालोपत्रे नहुँदा सवारीसाधन आवागमनमा समस्या भएको हो।
पुल नबन्दा सामान्य वर्षामा हुँदा पनि सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोलाखहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्। बनेका पुल क्षेत्रमा पनि कालोपत्रे नगरी कच्ची सडक राखिँदा सवारीसाधन सञ्चालमा कठिनाइ हुने गरेको छ। पुल क्षेत्रमा ठूलाठूला खाल्डाले गर्दा साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल बताउँछन्। उनले भने, ‘कालोपत्रे नहुँदा खाल्डाखुल्डीले मोटरसाइकल हिँडाउनसमेत मुस्किल छ। साना गाडी सबै ठोकिने भएकाले बाध्य भएर वैकल्पिक बाटो रोज्नु परेको छ।’
यो लोकमार्गबाट काठमाडौं आवतजावत गर्दा पूर्वी क्षेत्रका यात्रुहरूलाई दुई घण्टाको फरक पर्ने भएकाले अधिकांशको रोजाइमा यो सडक परेको छ। पुल नबन्दा बेल्टार–गाईघाटको २० किमिको दूरी ३० मिनेट बढी समय लाग्ने गरेको पौड्लले बताए। उनले भने, ‘पुल र कालोपत्रेको काम सकिँदा २० मिनेटमा पार गर्न सकिने गाईघाट–बेल्टार खण्डमा असारी, झोरा, ज्योमिरे खोलामा पुल निर्माण नहुँदा समय लाग्ने गरेको छ।’