राष्ट्रियताको मर्मभित्रको कर्म

राष्ट्रियताको मर्मभित्रको कर्म

नेतृत्वले सोच अनि नागरिकले कर्म बदलेर मात्र राष्ट्रियताको मर्म प्रवर्द्धन हुन्छ।


राष्ट्रियताको व्यापक बहसले बेलाबखत हाम्रो पूरै समाजलाई तरंगित बनाइदिन्छ। राजनीतिदेखि नागरिकबाट समेत अपारस्परिक अवधारणाहरू आउँछन्। गनिएका समाजशास्त्रीहरूले राष्ट्रियतालाई अंग्रेजी शब्द ‘नेसनालिटी’को अनुवादका रूपमा बुझाउँदा समस्या झन् गहिरिँदैछ। ‘बाबुआमाको सेवा गर्नु सन्तानको धर्म हो’ को अनुवाद ‘सर्भिङ द प्यारेन्ट्स इज चिल्ड्रेन्स् रिलिजन’ हुन सक्दैन। पूर्वीय दर्शनमा धर्मलाई कोरा परम्परा (रिचुअल)सँग नभै दायित्व (डियुटी)सँग जोडिन्छ। यहाँ सन्तति र अभिभावकबीच औपचारिक नभै अद्वितीय आत्मीय सम्बन्ध रहन्छ। हामीले गहना ठान्ने सन्तानलाई पश्चिमाहरू बोझ मान्छन्।

आजकल अघिकांश उनीहरू परिवारप्रति नकारात्मक छन्। विवाह गर्दैनन्, गर्नेहरू पनि बच्चा जन्माउँदैनन्, भ्रूणहत्या गर्छन्, थुप्रैले सरोगेसी गर्छन्। जन्माउनेले पनि आफूले होइन, भाडाका मानिसबाट स्याहार गराउँछन्। बच्चाले बाबुआमाको स्नेह र आलिंगन पाएको हँुदैन, बच्चाले पनि बाबुआमालाई सेवा गर्नुपर्ने कर्तव्य ठान्दैन। बाबुआमाको सेवा उनीहरूलाई औपचारिकता मात्र हो, हामीलाई दायित्व, तसर्थ हामीमा धर्मको भाव फरक छ। बुद्घको ‘धम्म’ र प्राचीन दार्शनिक मनुको ‘राजधर्म’का सिद्घान्तहरूले यसलाई प्रस्ट्याउँछ। ‘ट्रान्सलेसन अर मिसट्रान्सलेसन’ नामक लेखमा निराद सी चौधरी भन्छन्, ‘अनुवादले भावनासँगै व्यावहारिक समानता नबोकेमा त्यो घातक र बेअर्थको हुन्छ’। ‘नेसनालिटी’को भाषिक अनुवादलाई राष्ट्रियता सम्झनु समस्याको पहिलो जड हो।

अपूर्ण बुझाइ
ज्ञानको हिंसा (इपिस्थेमिक भाइलेन्स) हिंसाका अनेकन रूपमध्ये प्रमुख हो। आजकल मानव–अधिकार, प्रजातन्त्रलगायत राष्ट्रियतामाथि पनि अन्धभक्त रूपमा पश्चिमी अवधारणालाई स्वीकारिँदैछ। राष्ट्रियता आफ्नो ठाउँ र संस्कृतिको निरन्तर माया, संवर्द्धन र समृद्घिकोे सत्कर्म हो। केवल परिचयपत्रमा जन्मेको ठाउँ उल्लेख गर्नु मात्र होइन। जन्मिएका कारणले होइन, दायित्व निवारणका आधारले राष्ट्रियता प्रस्टिन्छ। कविता वा स्टाटसमा लेखेर राष्ट्रियताको जगेर्ना हुँदैन। गुलाब नाम दिँदैमा गोबरबाट सुवासना प्रसारित हँुदैन। त्यस्तै अकाट्य तर्कका प्रवचनले मात्र राष्ट्रियता निर्माण हुँदैन। राष्ट्रियताका तर्कलाई दमदार देखाउन राजनीतिकर्मी अरूको उछितो काढ्ने अनि विद्वान्हरू विश्वविद्यालयमा उष्ण बहस पैरवी गर्नेमा तम्सन्छन्। तर राष्ट्रियता नेतृत्वले दिने र नागरिकले माग्ने विषय होइन। राष्ट्रियता भाषणबाजी कम र कर्म बढीको सरोकार हो।

कर्मको सरोकार
हरेक नागरिकबाट माटोप्रतिको मायासँगै जिम्मेवारीको सफल सम्पादन राष्ट्रियताको मुख्य आधारशीला हो। यसमा नेतृत्व राष्ट्रवादी र नागरिक देशभक्त हुनुपर्छ। इतिहास अनि माटो बिर्सनेसँग राष्ट्रियता हँुदैन। भाषणबाजीमा होइन, राष्ट्रियता व्यवहारमा देखिनुपर्छ। आत्मसम्मान र सार्मथ्य कमजोर भएमा राष्ट्रियता कमजोर हुन्छ। जसरी व्यापार अनि मुनाफा घटेमा कम्पनीको सेयर मूल्य घट्छ। त्यसरी नै राष्ट्र कमजोर भएपछि राष्ट्रियता त्यसरी नै स्खलित हुन्छ। सेयर बजारको दैनिक सूचांक हेर्दैमा मूल्य बढ्दैन, सबै मिलेर कम्पनीलाई राम्रो बनाउनुपर्छ। राष्ट्रियताको प्रवर्द्धनका लागि सबैले मिलेर देशलाई सबल र सक्षम बनाउनुपर्छ। देश सानो वा ठूलो हुँदैमा राष्ट्रियतामा फरक पर्दैन, पहिले आन्तरिक प्रगतिलाई चुस्त पार्नुपर्छ। डिल्लीरमण रेग्मीको ‘अनुभव र अनुभूति’ अनि सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ पुस्तकमा विगतमा हामो राष्ट्रियता कति अब्बल थियो भन्ने लोभलाग्दो सप्रमाण वर्णन छ।

राष्ट्रियता सबै देशभक्त नागरिक मिलेर बढावा गर्ने सामरिक समृद्घि अनि मनोवैज्ञानिक सन्तुष्टि र सम्पत्ति हो। देशलाई आर्थिक हिसाबले सबल र आत्मनिर्भर बनाऔं। अधिक कलकारखाना खोलौं र व्यापक रोजगारी बढाऔं। सम्भावित सबै खनिज तथा स्रोत÷साधनको अधिकतम सदुपयोग गरौं। स्वदेशी उत्पादन प्रयोग गरौं। कर्मचारीले जागिरे प्रवृत्ति नदेखाऔं। चाणक्य ‘अर्थशास्त्र’मा लेख्छन्, ‘माछाले पानी र कर्मचारीले घुस कत्तिखेर खान्छ भन्ने देखिँदैन’। अहिले पनि सरकारी कर्मचारीमाथि आम–धारणा सकारात्मक छैन, यसलाई परिवर्तन गराऔं। हाम्रो विराट संस्कृति र सभ्यतालाई जोगाऔं। नागरिकका प्रतिनिधिले वास्तवमा नै जनताको सेवा गरौं। स्थानीय र प्रदेशका सरकारहरू आफ्नो क्षेत्रलाई अब्बल बनाउन तल्लिन बनुन्। अबको समयमा राजनीतिक शक्ति अनि युद्घपोतसट्टा व्यापार तथा वाणिज्यबाट अरू देशमाथि आधिपत्य जमाउन सहज हुन्छ। आक्रामक विश्व व्यापारका लागि चीनबाट बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) तथा भारत एवं जापानबाट एसिया–अफ्रिका ग्रोथ कोरिडोर (एएजीसी) नामक महत्त्वाकांक्षी अवधारणाहरू आए। दुवै देशले अथाह उत्पादन र अकल्पनीय व्यापार गर्नेछन्। हाम्रो केन्द्रीय नेतृत्वले यस्तै गरी देशलाई आर्थिक हिसाबले सबल बनाउँदै अन्तर्राष्ट्रिय पहिचान स्थापित गराउने नयाँ र मौलिक योजनाहरू तयार गरोस्।

न्यायालयलाई नागरिकको भरोसा र सम्मानयोग्य बनाऔं। शिक्षा समृद्घ होस्। यो देशमा काम छैन, लक्ष्य नै विदेश जाने भनेर नसिकाऔं। यही भविष्य देखाऔं, आफू पनि यही दुःख गर्न सिकौं। भारतले प्याज निर्यात रोकेपछि चीनबाट आयात खोज्नै होइन, आफैं उत्पादन गर्ने राष्ट्रियता रोजौं। अमेरिकासँग केवल चार सय वर्षको इतिहास छ। हाम्रो समाजमा सामान्य भेदभाव हुँदा त्यहाँ क्रूर शोषण र दास प्रथा थियो। तीन सय वर्षपहिले अस्ट्रेलियाको कुनै नाम÷निशान थिएन। हामीसँग पाँच हजार वर्ष लामो वैज्ञानिक सभ्यता छ। बुद्घबाट प्रसारित ‘सत्कर्म, पञ्चशील, अष्ठशील, दशशील’, मनुको ‘राजधर्म’, कौटिल्यको ‘सप्तांग’, कन्फुसियसको ‘सचेत नागरिक समाज’का अवधारणाले पूर्वीय समाजभित्रको हामो देश समृद्घ थियोे। त्यसैले, सबैले आफ्नो सामथ्र्य चिनौं, कुनै न कुनै सत्कर्म गरौं। समाज र देशलाई अधिक फाइदा पुग्नेगरी आफ्नो कार्य सम्पादन गरौं। पत्रकारले खाली निराशा मात्र नभरौं। सबै पेसाकर्मीले दैनिक कर्मलाई जागिर नभई राष्ट्रप्रतिको जिम्मेवारीको रूपमा निर्वाह गरौं। वैभवशाली र सार्थक देशको सपना देखौं, सबैले देश र समाजको हितमा मात्र काम गरौं।

राष्ट्रियताको प्रवर्द्धनका लागि सबैले मिलेर देशलाई सबल र सक्षम बनाउनुपर्छ। देश सानो वा ठूलो हुँदैमा राष्ट्रियतामा फरक पर्दैन, पहिले आन्तरिक प्रगतिलाई चुस्त पार्नुपर्छ।

अति उपभोक्तावादी संस्कृतिले हामी आफ्ना सामानहरू सस्तोमा बेचेर विदेशी बहुराष्ट्रिय कम्पनीका उत्पादन खरिद गर्दै आफैंलाई गरिब बनाइरहेछौं। व्यापार घाटा १० खर्ब नाध्न थालिसक्यो। आँप बेचेर जुस किन्ने अनि दही÷मही त्यागेर विदेशी कोल्ड ड्रिन्स र ह्विस्कीका पछि लाग्न छोडौं। जंक फुडले जैविक र आर्थिक दुवै स्वास्थ्य बिगार्दैछ। जन्मदिनमा बत्ती निभाउने नमिल्दो कुराको नक्कल नगरौं। अरूको अन्धभक्त नक्कलले हाम्रो परिचय सकिँदैछ। लिच्छविकालमा तिब्बतसँग नेपालको राम्रो व्यापार थियो, हाम्रो सम्मान थियो। जंगबहादुर बेलायत भ्रमणमा जाँदा त्यहाँकी महारानी बराबरको सलामी माग्ने हैसियत थियोे। नेपालले तिब्बत, बेलायत, इरान, अफगानिस्तानलगायत केही देशलाई व्यापारसँगै प्रशस्तै आर्थिक सहयोगसमेत दिन्थ्यो। नेपालको आफ्नै भेषभूषा, भाषा, खानपिन, संस्कृति, छुट्टै परिचय अनि सम्मानित पहिचान थियो।

अहिले हामी अरूको सिनेमा हेर्छौं, खाना पनि अरूकै खान्छौं। पोसाक अरूको नक्कल गर्छौं, देशलाई अरूसँग भिख मागेर चलाउँछौं अनि कसरी बाँच्छ राष्ट्रियता ? बुद्घ, पारुहाङ अनि फेदाम्बा बिर्सिएर यशु क्राइष्ट पुज्छौं। दालभात, ढिँडो, अचारभन्दा बासी पाउरोटीको लालचामा रम्छौं। सीभीभन्दा डीभीमा समय दिन्छौं। अरूको देशलाई सबल र नागरिकलाई विशिष्ट अनि आफूलाई कमजोर र देशलाई खत्तम सम्झन्छौं। नक्कली र आडम्बरी हुँदैछौं। हाम्रो मौलिक परिचय अरूसँग विलीन हुँदैछ। निराशाले होइन, आशा, भरोसा अनि प्रयासले मात्र देशको राष्ट्रियता सबल हुन्छ। युरोपमा पेट्रोलको अनावश्यक प्रयोगलाई अपराध जस्तै मानिन्छ। मानिस हिँड्न रुचाउँछन्। हामी वर्षको झन्डै दुई खर्ब रुपैयाँको तेल किन्छौं। हाम्रैमा उत्पादन नभएका कुराको फजुल खपत नगरौं। सबैले कमाएर खाऔं, आफ्नो आम्दानी बढाऔं, राज्यलाई कर तिरौं। राज्यको आम्दानी बढेपछि नागरिकमाथि खर्च गर्न सक्छ। मुद्रा पलायनलाई सकेसम्म रोकौं। उपचार गर्न बिदेसिँदा गएको पैसाले यहीँ थुपै्र राम्रा अस्पताल बनाऔं। युवा पढ्न जाँदा वार्षिक झन्डै ६० अर्ब बिदेसिएको तथ्यांक छ। त्यसले यही दर्जनौं आधुनिक विश्वविद्यालय बनाऔं। सबैले कर्म बदलौं।

त्यसैले, राष्ट्रियताको निर्माण खाली छलफल र बहसका शृंखलाले मात्र हुँदैन, व्यवहारले दिशाबोध हुनुपर्छ। परिचयपत्रमा जन्मेको ठाउँ लेख्ने कोरा प्रवृत्तिलाई राष्ट्रियता मान्न सकिँदैन। राष्ट्रियतामा उक्त ठाउँको माया हुनुपर्छ। जसरी बाबुआमाप्रति पे्रम भएका सन्ततीले उनीहरूलाई सेवा, सद्भाव, स्याहार, आदर अनि सामीप्यताको प्रत्याभूति गर्नुपर्छ, त्यसरी नै राष्ट्रियताको माया गर्नेले निबन्ध मात्र लेख्ने नभई राष्ट्रको सेवा, आदर, संरक्षण अनि संवर्द्धनमा योगदान गर्नुपर्छ। राष्ट्रियताको खोजीमा भाषणबाजी भन्दा सत्कर्मको जगेर्नालाई जोड दिनुपर्छ। नेतृत्वको राष्ट्रवादी सोचसँगै नागरिकको सकारात्मक देशभक्ति र देशप्रेमका चरित्रबाट मात्र राष्ट्रियता जोगिन सक्छ। देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायतका हरेक पक्षबाट सबल बनाउन सबैले सघन योगदान गनुपर्छ। भेषभूषा, भाषा, सभ्यता, संस्कृति, रहनसहन, तथा समाजका हरेक विधामा आफ्नो विशिष्ट र छुट्टै पहिचान निर्माण हुनुपर्छ। त्यसलाई सकेको प्रवर्द्धनसमेत गर्नुपर्छ। नेतृत्वले सोच अनि नागरिकले कर्म बदलेर मात्र राष्ट्रियताको मर्म प्रवर्द्धन हुन्छ। राष्ट्रियता जोगाउने विषयलाई बहस र प्रतिबहसको मानक नभई उत्कृष्ट अनि देशप्रेमी व्यवहारको अनुपम संगमका रूपमा हेनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.