राजविराज कारागार तनावग्रस्त, कैदीबन्दीको नाराबाजी र प्रदर्शन

राजविराज कारागार तनावग्रस्त, कैदीबन्दीको नाराबाजी र प्रदर्शन

राजविराज : कैदीबन्दीहरुले शुक्रबार नाराबाजी र प्रदर्शन गरेपछि सप्तरीको राजविराजस्थित कारागार दिनभर तनावग्रस्त बनेको छ। कैदीबन्दीहरुले कारागारको पिकेटमा आएर जेलर, चौकिदार र मुल नाइकेहरुविरुद्ध नाराबाजी गर्दै फलामको ग्रिल ठोकेर प्रदर्शन गरेपछि अवस्था तनबावग्रस्त बनेको हो।

कैदीबन्दीहरुले परिवारका सदस्यहरुलाई भेटघाट गर्न रोकटोक गरेको, औषधोपचारमा बेवास्ता गरेको, जाडोको कपडा, सिरकलगायत राज्यबाट प्राप्त सुविधा नदिएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्। कारागार तनावग्रस्त बनेपछि कारागारभित्र इन्स्पेक्टर रामनारायण सिंहसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

कारागारको आन्तरिक प्रशासन र कैदीबन्दी व्यवस्थापनको खटनपटनको जिम्मा दिइएका चौकीदार श्याम यादव साउन १ गतेदेखि नयाँ नियुक्त भएका हुन्। रासनमा घोटाला गरेको, बाहिरबाट ल्याइने दैनिक उपभोग्य सामाग्री महङ्गोमा बेच्ने गरेको, सरकारले दिने सुविधामा मनोमानी गरेकोले कारागार तनावग्रस्त बनेको बन्दी हरी मण्डलले फोन गरी अन्नपूर्ण पोस्टलाई जानकारी दिएका छन्। 

कैदीबन्दीहरुले चौकीदार र जेलरविरुद्ध सप्तरीका सिडिओ जनार्दन गौतमसमक्ष गुनासो गर्दै समस्या समाधान गर्न माग गरेका छन्। व्यक्तिगत रिसइबीका कारण केही कैदीबन्दीहरुले जेललाई तनावग्रस्त बनाएको जेलर सुमन कोइराला र चौकिदार श्याम यादवले आरोप लगाए। 

राज्यले दिने रासन, कपडासहितका सबै सुविधा समयमै उपलब्ध गराइएको, बिरामीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने गरिएको र कैदीबन्दीहरुको आफन्तलाई दिउँसो ११ देखि २ बजेसम्म भेटघाट गर्न दिइएको जेलर कोइरालाले बताए। प्रकृयागत ढिलाइले सिरक बन्न ढिलाइ भएको स्विकार्दै जेलर कोइरालाले शुक्रबार रातिसम्म २ सय २५ ओटा सिरक आइपुग्ने प्रतिबद्धता जनाए। जेल तनावग्रस्त भएपछि सिडिओ गौतम जेल पुगेर कैदीबन्दीहरुसँग भेटघाट गर्दै समस्या समाधानको आश्वासन दिएका छन्। 

इन्सेकको टोलीसमेत कारागार पुगेर जेलर र चौकिदारसँग भेटघाट गरी वस्तुस्थितिका बारेमा जानकारी लिएका छन्। कारागार तनावग्रस्त भएकाले कैदीबन्दीहरुसँग भेट्न भने कारागार प्रशासनले नदिएको इन्सेक सहजकर्ता दिपक यादवले बताए। कारागार तनावग्रस्त भएपछि मुल नाइके र नाइकेहरु परिवर्तन गरी ‘बी’ ब्लकमा सारिएको चौकीदार यादवले जानकारी दिए।

कारागारमा हाल १ आश्रित बालक, १२ जना महिला र ३ सय ५० पुरुष गरी ३ सय ६३ जना कैदीबन्दी रहेका छन्। ‘घ’श्रेणीको १ सय २५ जनाको क्षमता भएको कारागारमा कैद तोकिएका १ सय ५५ कैदी, कैद नतोकिएका २ सय ७ र १ आश्रित बालक थुनामा छन्। कारागारभित्र नाराबाजी र प्रदर्शन भएपछि संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा तैनाथीलाई बढाएको सप्तरी प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.