कांग्रेसमा पुस्तान्तरण कति सम्भव ?

कांग्रेसमा पुस्तान्तरण कति सम्भव ?

काठमाडौं : कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवाहरूको बाहुल्य देखिन्छ। १८–१९ वर्षकै युवा पनि प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भइरहेका छन्। तर, महाधिवेशनमा मात्र होइन, केन्द्रीय कार्यसमितिमै पुस्तान्तरण हुनुपर्ने आवाज उठ्ने गरेको छ। 

ताप्लेजुङबाट आएकी महाधिवेशन प्रतिनिधि शिला इजम नेतृत्व लिन युवाहरू आफैं अग्रसर नभएको बताउँछिन्। ‘पुस्तान्तरणका लागि युवाहरू आफैं सक्षम हुनुपर्छ। नेतृत्व सम्हाल्न पनि तयार हुनुपर्छ’, इजम भन्छिन्, ‘युवा जमात पनि पदाधिकारीमै बस्न खोज्छन्। नेतृत्व लिन कोही पनि अघि सर्दैनन्।’

फरक–फरक पुस्ताको आगमन, उनीहरूको अवधारणा, सोच्ने र अनुभूति गर्ने तरिकाको भिन्नता नै पुस्तान्तरण हो। पुस्तान्तरण एक अनिवार्य तर जटिल प्रक्रिया हो। उमेरसँगै वैचारिक पुस्तान्तरण महत्त्वपूर्ण मानिन्छ। 

कांग्रेसकै युवा नेता प्रदीप पौडेल पुस्तान्तरण र नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि पुस्तान्तरणसँगै वैचारिक रूपान्तरण पनि आवश्यक रहेको बताउँछन्। ‘पुस्तान्तरण र नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया हो। पुस्तान्तरणको विषय विधिबाटै स्थापित हुन्छ। पुस्तान्तरणसँगै कांग्रेसमा वैचारिक रूपान्तरण पनि आवश्यक छ’, १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी पौडेल भन्छन्, ‘हामीले समयसापेक्ष रूपमा आफ्ना विचारहरूलाई अध्यावधिक गर्न सकिरहेका छैनौं। युवाहरूले अहिलेको समाजको परिवेश र आवश्यकतासँग हाम्रा मुद्दाहरूलाई जोड्न सक्नुपर्छ। त्यसैले पुस्तान्तरणसँगै वैचारिक रूपान्तरण हुनुपर्छ। वैचारिक रूपान्तरणका लागि युवा पुस्ता अघि सर्नुपर्छ।’

केन्द्रीय सदस्यका प्रत्याशी उदयशमशेर राणा कांग्रेसमा पुस्तान्तरण भइरहे पनि त्यसको रफ्तार बढ्न नसकेको बताउँछन्। ‘कांग्रेसमा पुस्तान्तरण भइरहेकै छ। तर, जुन गतिमा हुनुपर्ने हो त्यो भने हुन सकेको छैन’, तरुण दलका पूर्वअध्यक्ष राणा भन्छन्, ‘१३औं महाधिवेशनमा पनि धेरै युवाले मौका पाएका थिए। त्यतिबेला युवाहरू केन्द्रीय सदस्यमा मात्रै थन्किए। केन्द्रीय सदस्यमा रहेकाहरूले पनि जुन काम गर्नु पर्ने थियो, त्यो काम गर्न सकेनन्।’ युवाहरूले पनि युवाका नाममा मत मात्रै लिने काम गरेको उनको ठम्याइँ छ। भन्छन्, ‘परिवर्तनका लागि काम गर्न सकेनौं।’

पुस्तान्तरलाई छुट्ट्याउने मुख्य आधार उमेर कि विचार भन्ने प्रश्न पनि ज्वलन्त रूपमा उठेको छ। पुस्तान्तरको गति समयसापेक्ष हुन नसके युवा पुस्ता किनारा लाग्ने मात्रै होइन, पुस्तान्तरणको खाडल पनि गहिरिन पुग्छ। अमेरिकाको टेलिभिजन क्षेत्रमा लामो समय बिताएका डोनाल्ड म्याकग्याननले ‘लिडरसिप इज एन एक्सन, नट ए पोजिसन’ भनेका थिए। तर, हामीकहाँ नेतृत्व भनेको पद मात्र हो भन्ने मानसिकता छ। जसकारण बाँचुन्जेल कुर्सीमै टाँसिने प्रवृत्ति छ। 

केन्द्रीय सदस्यका प्रत्याशी जितजंग बस्नेत प्रजातन्त्र र लोकतन्त्रमा मागेर कसैले पनि केही नपाउने, त्यसका लागि जित्नै पर्ने तर्क गर्छन्। ‘प्रजातन्त्र र लोकतन्त्रमा केही पाउन जित्नै पर्ने हुन्छ। मलाई ठाउँ देऊ भनेर कसैले पनि दिनेवाला छैनन्’, एवं नेपाल तरुण दलका अध्यक्ष बस्नेत भन्छन्, ‘युवाहरू आफैंले आफ्नो स्थान सुरक्षित गर्नुपर्छ। युवाको जोस, जाँगर र ऊर्जाको सदपुयोगसँगै पुरानो पुस्ताको योगदानलाई कदर पनि गर्नुपर्छ।’ 

महाधिवेशन प्रतिनिधि इजम अग्रजको सम्मानकै लागि युवाले नेतृत्व तहमा हस्तक्षेप गर्न नसकेको बताउँछिन्। ‘हामीले अग्रजको सम्मान गर्नुपर्छ। उनीहरूको सम्मान र अनुभव लिएर नै युवा पुस्ता अगाडि बढ्नुपर्छ’, उनी भन्छिन्।’ 

युवा नेता पौडेल उमेरका हिसाबले मात्रै सुविधा प्राप्त गर्ने कुरा स्वाभाविक हुन नसक्ने बताउँछन्। ‘फरक कार्यशैली, फरक रूपमा आफ्नो विचार प्रष्ट्याउने क्षमता र समाजको मागनुरूप विषयहरूलाई परिभाषित गर्न सक्ने क्षमता, प्रखरता र सबैलाई विश्वास दिलाउन सक्ने नेतृत्व हामीलाई आवश्यक परेको छ’, उनी भन्छन्, ‘यी गुणहरूले सम्पन्न नेतृत्व जुनसुकै पुस्ताको भए पनि हुन्छ, त्यो हामीलाई आवश्यक परेको छ।’  

नेता राणा १४औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीको संख्या धेरै भएकाले युवाले पनि उचित स्थान र अवसर पाउने बताउँछन्। ‘पहिला तीन पदाधिकारी मात्रै निर्वाचित हुन्थे। अरू मनोनीत हुन्थे’, उनी भन्छन्, ‘अहिले १४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्थाले युवाहरूलाई पनि पदाधिकारीमा पुग्न सहज भएको छ। १३औं महाधिवेशनमा युवाहरू जुन रफ्तारमा बढेका थिए। १४औं महाधिवेशनमा पनि युवापंक्तिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास छ।’ 

नेता बस्नेत युवाको ऊर्जालाई पार्टीले सक्दो सहयोग गर्नुपर्ने बताउँछन्। ‘युवाहरूको ऊर्जालाई सदुपयोग गर्न सके मात्र स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सफलता हासिल गर्न सकिन्छ’, उनी भन्छन्।  हरेक राजनीतिक दलमा पुस्तान्तरणको बहस तीव्र रूपमा उठ्ने गरेको छ।  यसको चर्चा अधिवेशन र महाधिवेशनजस्ता नेतृत्व चयनका बेला जोडतोडले उठ्ने गरे पनि अरू बेला भने कहीँ कतै प्रवेश पाउँदैन। एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पुस्तान्तरले केही हदसम्म भए पनि चर्चा पाएको थियो। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा त यो विषय बहसकै विषय बन्यो। 

राष्ट्रिय युवा नीतिअनुसार १६ देखि ४० वर्ष उमेरसमूहका व्यक्तिलाई युवा मानिन्छ। कुल जनसंख्यामा यो उमेरसमूहको हिस्सा करिब ४१ प्रतिशत छ। तर, नेतृत्व तहमा यस उमेरसमूहबाट प्रतिनिधित्व हुनेको संख्या नगन्य मात्रै छ।  त्यही कारण पनि पुस्तान्तरणको प्रश्न उत्तिकै पेचिलो बनिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.