२ नम्बर प्रदेश भन्दा आफैंलाई नराम्रो लाग्छ : मुख्यमन्त्री राउत
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुलाई ‘२ नम्बरी प्रदेशबासी ’ भन्दा धेरै नराम्रो लाग्ने बताएका छन्। बुधबार प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य दिंदै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानीको टुंगो हालसम्म लाग्न नसक्नुको प्रमुख कारण आफ्नै ढिलासुस्ती रहेको स्वीकारे।
‘हामीले प्रदेशसभा गठन भएलगत्तै टुंग्याउनु पर्ने यी दुई विषय हालसम्म पनि निकास पाउन नसक्नु मेरै ढिलासुस्तीको कारणले हो’, मुख्यमन्त्री राउतले भने, ‘यस अधिवेशनमा म प्रतिपक्ष र सत्तापक्षका सबै साझेदारलाई आग्रह गर्छु हामीले यसपटक नाम र राजधानी टुंग्याउनै पर्छ।’
राजधानीको टुंगो नलाग्दा प्रदेश सरकारले बनाउनु पर्ने थुप्रै प्रादेशिक संरचना निर्माण गर्न नसकिएको उनले बताए। यी विषयलाई निकास दिन सबै पक्षलाई एक हुन राउतले आग्रह गरे।
प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले यस अधिवेशनमै नाम र राजधानी तय हुनपर्ने र त्यसका लागि आफूहरुले अठोट लिनै पर्ने बताए। ‘हामी कहिलेसम्म बेनामी रहने? कहिलेसम्म दुई नम्बरी रहने? अब यो ट्याग हामीले हटाउनै पर्छ,’ सोनलले थपे।
प्रतिक्रिया दिनुहोस !