अत्यधिक पग्लँदै हिमनदी, एसियामा पानी अभावको जोखिम

अत्यधिक पग्लँदै हिमनदी, एसियामा पानी अभावको जोखिम

विश्वव्यापी रूपमा तापक्रम वृद्धिका कारण नेपालसहित छिमेकी देशका हिमनदी अपत्यारिलो ढंगमा पग्लिइरहेको पाइएको छ। यसले एसियाको तल्लो तटीय क्षेत्रका लाखौं मानिसको पानी आपूर्तिमा असर पर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ। जसअनुसार हिमनदीहरूले पछिल्लो सय वर्षमा करिब ४० प्रतिशत हिउँ क्षेत्र गुमाएका छन्। 

हिमनदीहरू पहाडमा बस्ने करिब २५ करोड मानिसका लागि पानीको महत्वपूर्ण स्रोत हुन्। सन् २०१९ मा प्रकाशित एक प्रतिवेदनका अनुसार उपत्यकाहरूमा बस्ने थप १ अर्ब ६५ करोडका लागि पनि पानीको मुख्य स्रोत हुन्। 

हाम्रा खोजहरूले स्पष्ट रूपमा यो देखाउँछन् कि हिमालय क्षेत्रका हिमनदीहरूबाट हिउँ हराइरहेको छ। विगतका शताब्दीहरूको औसत दरभन्दा कम्तीमा यो १० गुणा बढी छ। 
-जोनाथन क्यारिभिक, अध्ययनका प्रमुख

विश्वका अन्य भागको तुलनामा हिन्दु कुश क्षेत्रका हिमनदी तीव्र गतिमा संकुचन आइरहेको तथ्य साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा सोमबार प्रकाशित छ। ‘हाम्रा खोजहरूले स्पष्ट रूपमा यो देखाउँछन् कि हिमालय क्षेत्रका हिमनदीहरूबाट हिउँ हराइरहेको छ। विगतका शताब्दीहरूको औसत दरभन्दा कम्तीमा यो १० गुणा बढी छ’, अध्ययनका प्रमुख जोनाथन क्यारिभिकले भनेका छन्, ‘तीव्र हानिको यो गति विगतका केही दशकमा मात्र देखापरेको हो।’ यो क्रमलाई जलवायु परिवर्तनले सहयोग पुर्‍याएको क्यारिभिकको भनाइ छ। उनी युनिभर्सिटी अफ लिड्सका प्राध्यापक हुन् । 

हिन्दु कुश हिमालय क्षेत्र अन्र्टाटिका र आर्कटिकपछि विश्वकै तेस्रो ठूलो बरफको क्षेत्र मानिन्छ। यस क्षेत्रलाई बरफको विशाल भण्डारका लागि विश्वको तेस्रो ध्रुव ‘थर्ड पोल’ भनेर चिनिन्छ। जहाँ सगरमाथा, केटु र अन्य प्रसिद्ध चुचुरासमेत छन्। 

हिमालहरू करोडौं वर्ष पुराना भए पनि हिमनदी परिवर्तनशील जलवायुप्रति अत्यन्तै संवेदनशील छन्। सन् १९७० को दशकयता विश्वको तापक्रम बढ्न थालेपछि यी विशाल बरफ लगातार पग्लिँदै गएका छन्। 

खुम्बु क्षेत्रस्थित हिमताल। तस्बिर : युनिभर्सिटी अफ लिड्स

ग्यास, कोइला र तेलजस्ता जिवास्मा इन्धन जलाउँदा वायुमण्डलमा कार्बनडाइअक्साइड  र मिथेनजस्ता हरितगृह ग्यास उत्सर्जन हुन्छ। यसका अतिरिक्त कार्बनडाइअक्साइडले वायुमण्डल र महासागरको तापक्रम वृद्धि गर्ने वैज्ञानिकहरूको भनाइ छ। 

‘हामीले हिमनदीहरूमा मानव गतिविधिले सिर्जित जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तुरुन्तै कदम चाल्नुपर्छ’, अध्ययनकर्ता क्यारिभिकले भनेका छन्। सहअध्ययनकर्ता साइमन कुकले यस क्षेत्रका मानिसले शताब्दीयौंदेखि देखेका परिवर्तन अझै तीव्र हुँदै गएका बताएका छन्। ‘यसले सम्पूर्ण राष्ट्र र क्षेत्रहरूमा महत्वपूर्ण प्रभाव पार्नेछ’, डुन्डी विश्वविद्यालयका कुकले भनेका छन्। 

विश्वमा ४००-७०० वर्षअघि ठूलो मात्रामा हिमनदीको विस्तार भएको अध्ययनले देखाएको छ। पछिल्लो अध्ययनमा हिमालय क्षेत्रका १४ हजार ७ सय ९८ हिमनदीको अवस्था छोटो बरफ युग अर्थात लिटिल आइस एज (एलआईए)सँग तुलना गरिएको थियो। 

बेलायतको युनिभर्सिटी अफ लिड्सको अगुवाइमा भएको अध्ययनमा हिमनदीहरूले झन्डै ४० प्रतिशत क्षेत्र गुमाएको पाइएको हो। यस्तै हिमनदीको गहिराइ कम हुने क्रम पनि तीव्र देखिएको छ। यो अवधिमा हिमनदीको क्षेत्रफल २८ हजार वर्ग किलोमिटरबाट घटेर झन्डै १९ हजार ६ सय वर्ग किलोमिटरमा झरेको देखिएको छ। यस्तै हिमनदीले ३ सय ९० देखि ५ सय ८६ घनकिलोमिटरसम्म हिउँ गुमाएको देखिन्छ। हिमनदी पग्लिएर बगेको पानीका कारण समुद्रको सतह ०.९२ देखि १.३८ मिलिमिटरसम्म बढेको प्रतिवेदनमा जनाइएको छ।

ठूलो क्षतिको दरहरू मनसुनको प्रभावमा पनि निर्भर हुन्छ। सबैभन्दा छिटो क्षति पूर्वी नेपाल र भुटानमा भएको देखिन्छ। हिमनदी पग्लिएर बनेका पानी एसियाका प्रमुख नदीहरूको स्रोत हुन्। यसले खाद्य र ऊर्जा उत्पादनलाई सहयोग गर्छ। पारिस्थितिक प्रणालीलाई पनि कायम राख्न मदत गर्छ। हिमनदीहरू पातलिँदा विश्वव्यापी रूपमा पानी आपूर्तिको दिगोपनामा चिन्ता थपेको अध्ययनले जनाएको छ। 

यस अध्ययनमा करिब एक शताब्दीको समयमा हिमालय क्षेत्रका हिमदनीहरूको परिवर्तनको मापन गरिएको छ। अध्ययनमा क्षेत्रीय स्तरको विश्लेषणले यस क्षेत्र २ हजार ३ सय किलोमिटरमा फैलिएको छ। पश्चिममा भारतको स्पिती लाहौलदेखि पूर्वमा भुटानसम्म २० डिग्री देशान्तरमा फैलिएको छ। 

‘छोटो बरफ युग’देखि हिउँ घट्ने क्रम स्पिती लाहौल (भारत), पश्चिम नेपाल, पूर्वी नेपाल र भुटानको प्रमुख क्षेत्रहरूबीच समानुपातिक रूपमा रहेको अध्ययनले देखाएको छ। हिउँको सतह घट्ने दरहरू ०.०३ मिटर प्रतिवर्षदेखि ०.१८ मिटर प्रतिवर्षसम्म रहेको पाइन्छ। सबैभन्दा ठूलो परिवर्तनका दर पूर्वी हिमालमा पाइएको छ।

०००
साँघुरिँदै हिमनदी, बढ्दै हिमताल
जलवायु परिवर्तनको उच्च जोखिमयुक्त १० मुलुकमा नेपाल पनि पर्छ। यहाँ हिमपहिरो खस्ने एवं हिमताल विस्फोट हुने जोखिम झन् बढेको विज्ञ बताउँछन्। नेपाल, भारत र चीनका गरी ४७ हिमताल उच्च जोखिममा रहेको जनाइएको छ। 

जलवायु परिवर्तनका कारण हिमनदीको स्वरूपमा परिवर्तन आउँदा जोखिम बढेको हो। काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर एवं हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थका अनुसार नेपालका २१ हिमताल जोखिमका सूचीमा छन्। चीनका २५ र भारतका एक गरी ४७ वटामा जोखिम बढेको छ। 

‘हिमनदीले बनाएका हिमताल विस्फोटको जोखिममा छन्’, डा. कायस्थ भन्छन्, ‘हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी सानो हुँदै गइरहेका छन्। हिमनदीहरू छोटिँंदै र पातलो हुँदै जाने, हिमताल ठूलो हुँदै जाने क्रम भइरहेको छ।’ 

ढिलो गतिमा अग्लो भू-भागबाट होचोतिर सर्ने हिउँको पिण्ड नै हिमनदी हो। हिमनदीको अगाडिको भाग पग्लिँदै पछि हट्दा खाली भएको ठाउँमा पानी भरिएर ढुंगा, माटो र बरफसमेत मिसिएको गेग्रेनको बाँधले थुनिएपछि हिमतालको उत्पत्ति हुन्छ। प्राकृतिक रूपमा बनेको कच्चा र अस्थिर बाँध जलाशयबाट निस्किएको पानीले फुटाई तल्लो तटीय क्षेत्रमा बाढी ल्याउने खतरा विज्ञहरू औंल्याउँछन्। 

नेपालमा आधा हेक्टरभन्दा ठूलो क्षेत्रफल भएका हिमताल १५ सयभन्दा बढी छन्। तीमध्ये २१ वटा उच्च जोखिममा रहेको डा. कायस्थ बताउँछन्। ‘तल्लो तटीय क्षेत्रमा ठूलै बाढी आउन सक्छ’, वातावरणविद् डा. भूषण तुलाधर भन्छन्, ‘चीन र भारतमा पनि विगतमा एकै चोटी बाढी आउँदा ठूलो जनधनको क्षतिसमेत भएको थियो।’ 

भारतको उत्तराखण्डको चमोली जिल्लामा गत वर्ष हिमताल फुटेर धौलीगंगालगायत नदीमा आएको बाढीका कारण रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालमा गरिएका छुट्टाछुट्टै अध्ययनले तल्लोभन्दा माथिल्लो उचाइको क्षेत्रमा वार्षिक तापक्रम वृद्धिदर अझ बढी भएको तथ्य फेला परेको जनाएका छन्। एकातिर हिन्दुकुश-हिमालय क्षेत्रमा गरिएका जलवायुसम्बन्धी अनुसन्धानले तापक्रम क्रमशः वृद्धि भइरहेको देखाएका छन् । त्यस्तै हिमक्षेत्रले ढाकेका क्षेत्रफलमा क्रमशः ह्रास आइरहेको तथ्यांक पनि सार्वजनिक भइरहेको डा. कायस्थको भनाइ छ। हिमताल विस्फोट हुँदा विशेषगरी जनजीवनका साथै जलस्रोतमा असर पर्ने विज्ञहरू बताउँछन्। हिमक्षेत्रमा हुन सक्ने सानो परिवर्तनले तल्लो तटीय क्षेत्रको जनजीवनमा ठूलै प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ। 

वातावरणविद् डा. तुलाधरका अनुसार हिमनदी पग्लिँदा त्यसले जलस्रोतमा प्रत्यक्ष असर गर्छ। ‘जलविद्युत्, सिँचाइ र पिउने पानीका रूपमा प्रयोग गरिरहेको अवस्थामा पानीको बहाव फरक हुन सक्छ’, उनी भन्छन्। खानेपानी, सिँचाइ, जलविद्युत्, उद्योगधन्दा आदि सबैको मुख्य स्रोत पानी हो। वर्षाको समयमा नदीमा पानी बढ्दा किनाराका क्षेत्रमा बाढीले क्षतिसमेत पुर्‍याउने, सुक्खा याममा भने आवश्यक मात्रामा पानीको आपूर्ति नहुने अवस्था देखिने विज्ञहरूको भनाइ छ। 

एक देशमा हिमताल विस्फोटन भएर अर्को देशमा नोक्सान पुर्‍याएको छ। सन् १९६४ र १९८१ मा तिब्बतमा रहेको हिमताल विस्फोटन भई आएको बाढीले नेपालको सीमानाभित्र क्षति पुर्‍याएको थियो। त्यस्तै सन् १९८५ मा नेपालको खुम्बू क्षेत्रको डिग चो हिमतालको विस्फोटनले पनि असर पुर्‍याएको थियो। 

नेपालका अरुण, भोटेकोसी, तामाकोसी, कर्णालीलगायत धेरै नदीको स्रोत तिब्बतमा रहेका हिमनदी र हिमताल हुन्। झन्डै दुई महिनाअघि कात्तिकको अन्तिम साता मुस्ताङमा हिमपहिरो गएको थियो। त्यस बेला भागदौड मच्चिँदा थुप्रै स्थानीयवासी घाइते भएका थिए। १ सय ५० भन्दा बढी याक र नाक बेपत्ता भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.